तिहार र छठलाई लक्षित गर्दै ललितपुरमा फूल मेला हुने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ ।

आगामी बिहीबारदेखि आइतबारसम्म जावलाखेलको खेल मैदानमा मेला आयोजना गर्ने भएको आयोजकले जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।

तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गर्न लागेको बताइएको छ । प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामुलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेलाका संयोजक सीताराम पन्तले बताए।

हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजार रुपैयाँसम्मको मालाहरु खपत हुने गरेको एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले जानकारी दिए।

कोभिड १९ महामारीका कारण फूलको उत्पादन घटेपनि हाल नेपाल फूलमा करिब ९१ प्रतिशत आत्मानिर्भर भइसकेको बताइएको छ।

यस वर्ष प्रदर्शनीमा ३७ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै ८० लाख सम्मको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ।

हाल नेपालको ४८ जिल्लाका लगभग १७८ हेक्टर क्षेत्रफलमा किसानले पुष्प व्यवसाय गरिरहेका छन् । सातसय ३२ भन्दा बढी पुष्प व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा ६.५ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको कार्यक्रममा जानकारी दिइयो ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार आश्रित रहेकोमा कोभिड १९ महामारीका कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई सकेका बताइएको छ। हाल ३९ हजार १०० जनशक्ति यस क्षेत्रमा सक्रिय रहेको एसोसिएसनले जानकारी दिएको छ।

एसोसिएसनका अनुसार नेपालमा तिहार तथा छठका साथै भ्यालेन्टाइन डेका अवसरमा फूलको माग बढी हुने गरेको छ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजाति अन्तर्गत प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *