मत विभाजनको कारण के ?

समाचार

सम्पादकीय

गत मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भएको छ । प्रारम्भिक नतिजालाई हेर्ने हो भने राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुबिच मत विभाजन भएको देख्न सकिन्छ । कुनै पनि पार्टीका उम्मेद्वारले स्पष्ट रुपमा मत प्राप्त गरेर जित हासिल गरेको देख्न सकिँदैन । अधिकाशं राजनीतिक दलहरुको विकृति र विसंगतिले गर्दा मत विभाजन भएको देख्न सकिनछ । खासगरी सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धनबिच चुनावी प्रतिस्पर्धा भइरहँदा र राजनीतिक दलप्रति रुष्ट जनताले स्वतन्त्रलाई रुचाएको प्रारम्भिक मत परिणामले देखाएको छ । राजनीतिक दलहरुप्रतिको वितृष्णाको कारण जनताले स्वतन्त्र उम्मेद्वारलाई भोट दिएका छन् ।
कुनै पनि राजनीतिक दलप्रति आस्था नराखका जनताले राजनीतिक दललाई भोट नदिएर स्वतन्त्र व्यक्तिलाई मत दिएको अवस्था छ । विशेषगरी प्रविधि र समकालीन अवस्थाबाट गुज्रेका युवा समुदाय, मुलुकको बेरोजगारी भोगेका युवा र अहिलेका राजनीति बुझेका युवा तथा विद्यार्थी वर्गहरुले राजनीतिक दलका उम्मेद्वारलाई भन्दापनि स्वतन्त्र उम्मेद्वारलाई छनौट गरेको देख्न सकिन्छ । पछिल्लो समय प्रविधिको विकास, प्रचार प्रसारसँगै युवापुस्ताको राजनीतिमा चासो देख्न सकिन्छ । अर्काेतर्फ, मुलुकको अवस्था यस्तो दयनीय बनेको छ कि युवा वर्गदेखि वृद्धसम्मले राजनीतिलाई विडम्बनाको रुपमा लिन थालेका छन् । अहिलेको शिक्षित युवा वर्गले भोगेको मुलुकको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्द परिवर्तन चाहेको पनि देख्न सकिन्छ । पहिलाको अवस्थामा प्रचारप्रसारको माध्यमको अभाव, राजनीतिमा युवा वर्गको चासो नरहेको र राजनीतिले सिर्जना गरेको मुलुकको अवस्था त्यति खराब नभएका कारण पनि युवावर्गमा त्यति चासो देखिने गरेको थिएन । तर अहिलेको अवस्था बिलकुलै भिन्न रहेको छ ।
यस्ता विविध कारणले गर्दा पनि युवा वर्गको रोजाई स्वतन्त्र उम्मेद्वार रहेको पाइन्छ । अझ भन्नुपर्दा स्वतन्त्र उम्मेद्वार बनेका अधिकाशं व्यक्तिहरु युवा, शिक्षित र मुलुकका लागि केही गर्नुपर्छ भन्ने सोच राखेका युवा वर्गहरु छन् ।
राजनीतिक दलप्रति वितृष्णा जागेका कारण अब राजनीतिक दलहरुले आगामी दिनमा बफादार भएर काम गरी युवा तथा अन्य वर्गको मन जित्नुपर्न हुन्छ । अब पनि राजनीतिक दलहरुको व्यवहार सुध्रिन नसकेमा भोलिका दिनमा राजनीतिक दलभित्र एकप्रकारको तिक्तता र दरार आउनसक्छ । बहुदलीय व्यवस्थाको राजनीतिक व्यवस्थामै स्वतन्त्र उम्मेद्वारले धावा बोल्नसक्ने अवस्था सिर्जना हुनसक्छ । संघ र प्रदेश निर्वाचनमा अधिकाशं राजनीतिक दलहरुले सोचेभन्दा कम मत पाएका छन् । अधिकाशं जनताहरु राजनीतिक दलका उम्मेद्वार र दलहरुप्रति रुष्ट बनेका कारण निर्वाचनमै सहभागी नभएको देख्न सकिन्छ । राजनीतिक दलले सिर्जना गरेको राजनीतिप्रति जनताको वितृष्णालाई अब आकर्षणको रुपमा परिवर्तन गर्ने जिम्मा पनि राजनीतिक दलको नै हो । त्यसैले अब राजनीतिक दलहरु सुध्रिन अनिवार्य बनिसकेको छ । अब पनि यी पुराना र बुढयौली राजनीतिक दलहरु सुध्रिएनन् भने पत्तासाफ हुने संकेत र सम्भावना अहिलेको निर्वाचनले देखाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *