मेयर शाहका उडन्ते गफ

समाचार

काठमाडौं । गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उठेका बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि काठमाडौंलाई हराभरा बनाउने भन्दै अघि बढेका थिए । तर, अधिकांश व्यापारीहरु बालेन शाहदेखि बिरत्तिएर आ–आफ्नो गन्तव्यतिर फर्किने कि काठमाडौंमै रहेर व्यापार व्यवसाय सञ्चालन गर्ने भनेर रनथनीन थालेका छन् । त्यसरी रनथनीनेमा अधिकांश अव्यवस्थित रुपले सार्वजनिक स्थलदेखि सडक, पेटीसम्म व्यापार व्यवसाय गर्नेहरु छन् । उनीहरु अहिले काठमाडौं महानगरपालिकामा दिनहुँजसोउ नारा, जुलुस गर्दै आफूहरुले पसल सञ्चालन गर्दै आएको ठाउँमा फेरि पसल सञ्चालन गर्न पाउनुपर्ने या अन्यत्र व्यवस्था हुनुपर्ने भन्दै आन्दोलित भएका छन् । तर, मेयर शाहले भने ती आन्दोलित व्यापारीहरुको कुरालाई टसकोमस समेत गरेका छैनन् । मेयर शाहले भने अहिले काठमाडौंमा उपद्रो मच्चाइराखेका छन् । अधिकांश ठाउँमा पार्किङ्गमा राखेका सवारी साधनदेखि ठेलागाडामा व्यापार गर्नेका सामानसमेत महानगरले उठाएर लाने गरिराखेको छ । यसै सेरोफेरोमा मेयर शाहले काठमाडौं महानगरलाई स्वच्छ वातावरण र हराभरा बनाउने भने तापनि कतिपय ठाउँमा मेयर शाहले भत्काएका संरचनाहरु बनाउन सकेका भने छैनन् । कतिपय काठमाठौं महानगरपालिकाले आफ्नो धर्म, संस्कृतिलाई जगेर्ना गर्दै आए तापनि मेयर शाहले भौतिक संरचना भत्काएर लथालिङ्ग छाडेका छन् । यस्ता संरचनाहरुलाई पुनःनिर्माण गर्नेतिर उनको ध्यान गएको छैन । अहिले अधिकांश काठमाडौं महानगरभित्र खोलिएका पसलदेखि ठूला–ठूला मल, होटेल, रेष्टुरेन्ट, औषधि पसल, फर्निचरलगायतका पसल अगाडि राखिएका होडिङ बोर्ड, डिजिटल बोर्ड र अफिस, पसलका साइन बोर्डहरु दिनहुँजसो महानगरपालिकाले फाल्दै आएको छ । यो कार्यले कतिपय स्थानमा राम्रो पनि देखिएको छ । तर, अधिकांश व्यापार, व्यवसाय गर्नेहरुले आफ्नो पसलको साइन बोर्ड राख्नको लागि महानगरसँग स्वीकृति लिनुपर्ने र साइन बोर्ड राखेबापत कर तिर्नुपर्ने जस्ता समस्याहरुले व्यापार, व्यवसाय गर्नेहरु आजित भएका छन् । महानगरले गर्नुपर्ने कामहरु भन्दा अन्यत्रतिर बढी ध्यान दिएको पाइन्छ । कतिपय महानगरभित्र रहेका सार्वजनिक स्थलमा खोलिएका विभिन्न व्यापार व्यवसाय गर्नेहरुदेखि सार्वजनिक ठाउँ ओगटेर घर, टहरा बनाइ बसेका व्यक्तिहरुको खोजी गर्न थालेको छ । हालै सम्पन्न भएको संघ र प्रदेश निर्वाचनलगत्तै मेयर साह सुकुमवासीलाई निसाना बनाएर सडकमा उत्रिन थालेका छन् । जसरी पहिला त्यस्ता सर्वाजनिक जग्गा अधिकरण गरेर बनाइएका घर, टहरा भत्काउने भनेर भाषण ठोकेपनि त्यो कामको रफ्तार चुनावलाई लक्षित गरी केही समय थाती राखेका थिए । चुनाव सकिनासाथ महानगरपालिकाले आफ्नो अभियान फेरि अगाडि बढाएको छ । त्यसै मेसोमा अस्ति सोमबार थापाथली एरियामा रहेका सुकुम्बासीवस्तीलाई तितरवितर पार्ने काम भएको छ । तर, साहले भत्काउने कामलाई मात्रै प्राथमिकता दिएका छन् भने त्यसरी भत्काइएका संरचनाहरुलाई कसरी व्यवस्थापन गर्ने हुन् या नगर्ने हुन् भन्ने कौतुहलता आमसर्वसाधारण जनतामा पर्न थालेको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहराहरु भत्काइएको ठाउँका सामानसमेत महागरले नउठाएर जताततै लथालिङ्ग पारेर छोडेको अवस्था छ । यसको उदाहरण जयनेपाल हलको टुकुचाको खोला भनेर खोलिएको थियो । त्यो टुकुचासमेत अहिले अलपत्र अवस्थामा रहेको छ । यो एउटा उदाहरण मात्रै हो । यस्ता उदाहरण त काठमाडौं महानगरभित्र कति छन् कति । यस्तै हो भने महानगरभित्रका जनताले बालेनलाई विश्वास गरेर जिताएर मेयरमा पठाएपनि ती काठमाडौंवासीहरुको आशा र भरोसा निरासामा परिणत हुने देखिन्छ । बाहिर देखाउनका लागि जतिसुकै काम गरे तापनि भित्री रुपमा मेयर शाहले खासै गर्नुपर्ने काम गर्न सकेका छैनन् । मेयर शाहलाई महानगरभित्रकै इन्जिनियर, सबइन्जिनियरदेखि विभिन्न विभागमा कार्यरत कर्मचारीहरुले असहयोग गर्दै आएको विशेष सुत्रले बताएको छ । अहिले महानगरलाई सहयोग गर्नेमा ट्राफिक प्रहरी प्रमुख र नगर प्रहरीले मात्रै साथ दिएको पाइन्छ । भोलिका दिनमा ट्राफिक प्रमुखलाई यसको असर पर्ने देखिन्छ भने नगर प्रहरीमा जागिर खाने प्रहरीहरुलाई पनि यसको असर नपर्ला भन्न सकिँदैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *