कालोसूचीबाट कम्पनी जोगउने कि जनताको काम गर्ने ?

समाचार

काठमाडौं । गत मंसिर ४ को संघ र प्रदेश सदस्य निर्वाचनमा कतिपय निर्माण व्यवसायीहरुले उम्मेदवारी दिएका थिए । ती निर्माण व्यवसायीहरुले अधिकांश ठाउँमा निर्वाचन पनि जितेको अवस्था छ । यस्तै चितवनबाट विक्रम पाण्डेले विगतका चुनावहरुलाई बिर्सेर पनि यसपालिको संघको निर्वाचनमा जित हासिल गरेका छन् । तर, ठेकेदार तथा राप्रपा नेता विक्रम पाण्डेले निर्वाचन जितेपछि चितवनवासीहरुले बधाइ पनि दिएका छन् । तर, पाण्डेले निर्वाचन जितेपछि आफ्नो पेशालाई थाती राख्छन् कि राजनीतिमा लागेर जनता र देशको सेवा गर्छन् त्यो भने चितवनवासीले हेर्न बाँकी छ । यसैगरी विक्रम पाण्डेले लिएको अधिकांश ठेक्कापट्टाहरु कालो सुचीमा पर्ने सम्भावना रहेको छ । सिक्टा सिंचाइ आयोजनामा गरेको भ्रष्टाचारले अख्तियारले कारबाही गरे तापनि पाण्डेलाई चितवनवासी जनताले सांसद् बनाएर पुरस्कार दिएका छन् । उता रसुवाबाट ठेकेदार तथा कांग्रेस नेता मोहन आचार्यले पनि अन्य पार्टीका उम्मेदवारलाई पराजय गर्दै निर्वाचन जितेका छन् । आचार्यले पनि आफ्नो ठेक्कापट्टालाई निरन्तरता दिन्छन् कि राजनीतितिर लागेर देश र जनताको सेवा गर्छन् यो भने हेर्न बाँकी छ । आचार्यको निर्माण सेवा कम्पनी रसुवा कन्सल्टेन्सी भनेर चिनिने गरिन्छ । तर, सो कम्पनीले लिएको ठेक्काको काम कति पुरा गरे कति पुरा गर्न बाँकी छ । र, उनको कम्पनी पनि कालो सुचीमा नपर्ला भन्न सकिँदैन । यसैगरी अर्का नामुदा ठेकेदार पूर्णबहादुर तामाङ (कान्छराम) २०७४ सालको संघीय निर्वाचनमा टिकट पाउनको लागि आफ्नो घरसमेत कांग्रेसका नेतालाई उपहार दिएर टिकट हात पारेका थिए । रामेछापका जनतालाई एम्बुलेन्स बाँडेर चुनाव जित्न सकेका थिएनन् भने कान्छारामले रामेछापभरि डोजर राखेर ठेक्कापट्टा आफ्नो कब्जामा पार्दै आएका थिए । कान्छारामले २०७४ सालको निर्वाचनमा सिंह दरबारभित्र रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयभित्र रहेको बजेट शाखामा बसेर एक कर्मचारीसँग गुनासो गर्दै थिए । जाबो २५ करोड खर्च भयो तर, चुनाव भने जित्न सकिएन । रुकुमको एउटा ठेक्का हात पार्न पाए त्यो खर्च उठिहालिन्थ्यो भन्दै सो मन्त्रालयमा कुराकानी गरेका थिए । यसपालि रामेछापको संघीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर तामाङ उर्फ कान्छाराम र एमालेको तर्पmबाट कैलाश ढुंगेललाई चुनावी प्रतिस्पर्धा गरेका थिए । तर, कान्छारामले बाजी मारेका छन् । किन कि उनीे रामेछापमा एउटा हेलिकप्टर लिएर एकजना सुत्केरी महिलालाई उपचार गरेबापत जिल्लामा चर्चा कमाएका थिए । अहिले त्यहीं चर्चा चुनाव जित्ने कडीमा परिणत भयो । र, उनी निर्वाचन जित्न सफल भएका छन् । उनले निर्वाचन जिते पनि आफ्नो नाममा भएको कम्पनी छोराको नाममा सारेर जनताको सेवामा लाग्छु भन्दै गर्दा सो कम्पनी नै कालो सुचीमा परेको बताइन्छ । यसरी आफ्नो कम्पनी कालो सुचीमा परिरहँदा उनी भने जनताको सेवा गर्ने भनेर राजनीतिमा आएका छन् । अब उनले आफ्नो कम्पनी कालोसुचीबाट जोगाउनतिर लाग्छन् कि जनता र देशको सेवातिर त्यो भने रामेछापवासीले हेर्न बाँकी नै छ ।
यसैगरी भक्तपुर निर्वाचन क्षेत्र २ मा प्रदेश तर्फ उम्मेदवार बनेका किरण थापाले पनि प्रदेश सांसद् जितेका छन् । उनी तत्कालीन राप्रपाबाट नेकपा एमालेमा प्रवेश गरेर आएका व्यक्ति हुन् । गत स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ मा वडा अध्यक्ष जितेर जनप्रतिनिधि बनेका थिए । अहिले उनी एमालेबाट प्रदेश सभा सदस्य जित्न सफल भएका छन् । उनको राजनीति भन्दा पनि मूल पेशा भनेको ठेक्कापट्टा, जग्गा किनबेच, प्लटिङ, ढुंगा, बालुवा ओसारपसार, टिप्पर व्यवसाय सञ्चालन लगायत नै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *