काठमाडौं । नेपालको पत्रकारिता क्षेत्र यतिबेला सबै क्षेत्रबाट ओझेलमा पर्दै गएको छ । कतिपय ठूला मिडिया सरकारी, गैरसरकारी सञ्चारमाध्यम विदेशीको इसारामा चल्ने गरेका छन् । उता राजनीतिक दल नजिक भएर मिसन पत्रकारिता गर्नेहरु अहिले ओझेलमा पर्ने गरेका हुन् । कतिपय पत्रकारहरुले राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डतालाई ख्याल नगरी व्यक्तिगत फाइदामा लाग्ने गरेका छन् । त्यसले मिसन पत्रकारिता गर्ने नाममा विकृति, विसंगति फैलाउने गरेको छ । स्वतन्त्र ढंगले निष्पक्ष समाचार सम्प्रेषण गरेर पत्रारिता गर्नेहरु अहिले ओझेलमा पर्दै गएका छन् । किन भने त्यस्तो पत्रकारिता गर्नेलाई न त उद्योगी, व्यवसायहरुले विज्ञापनलगायत अन्य सुविधा नै दिन्छन् । न त राज्यबाट नै उनीहरुको समस्या समाधानको लागि कुनै पहल हुने गरेको छ । तर, व्यवसायिक रुपमा सञ्चालन गरिएका कपितय ठूला मिडियाहरुले भने राज्यको पहुँचवालादेखि उद्योगी, व्यापारी र राजनीतिक सबै क्षेत्रबाट सहयोग पाउने गरेका हुन्छन् । यस्ता मिडियालाई व्यवसायिक, उत्पादनमूल र लोककल्याणकारी गरी सबै क्षेत्रको विज्ञान उपलब्ध हुने गर्दछ । तर, स्वरोजगारमूलक ढंगले स्वतन्त्र रुपमा सञ्चालित पत्रपत्रिकाहरुले भने कुनै क्षेत्रको विज्ञान र अन्य सहयोग पाउन छाडेका छन् । हिलो व्यवस्था परिवर्तनको लागि घुँडाटेकेर दल र राजनीतिक नेताको वकालत गर्ने साप्ताहिक, अर्धसाप्ताहिक र मासिक पत्रपत्रिकाहरु लगभग यतिबेला बन्द हुने वस्थामा पुगिसकेका छन् । व्यवस्था परिवर्तनको लागि आन्दोलनका बेला न्वारनदेखिको बल निकालेर लाग्न त्यस्ता पत्रपत्रिका र पत्रकारहरु अहिले विलय जस्तै भएका छन् । राजनीतिक दलका नेताहरुले भने हिजो आफ्नो आन्दोलनमा पत्रकारिताको क्षेत्रबाट सहयोग गर्ने पत्रकार र पत्रिकाको अवस्था के छ भनेर आफू सत्तामा पुगेपछि एकपटक पनि खोजी गरेको पाइँदैन । ती नेताहरु सांसद, मन्त्री बनिसकेपछि तिनै पत्रपत्रिका र पत्रकारले समाचार लेखेबापत उल्टै सजायको भागीदार हुनुपर्ने, पत्रकारलाई कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिनेसम्मको काम भइरहेको छ । कतिपय पत्रकारहरुले स्वतन्त्र रुपमा आफ्नो कलम चलाइराखेका छन् भने कतिपय पत्रकारहरु विभिन्न एनजीओ, आइएनजिओदेखि विदेशीको भत्ता खाएर देश, जनता र राष्ट्रविरुद्ध समाचार सम्प्रेषण गर्ने, विदेश घुम्ने, देशको पोल खोल्ने, विदेशीको चाकरी गरेर नेपाल र नेपाली नेताको खैरो खन्ने जस्ता काम गर्दै आइरहेका छन् । कतिपयले राजनीतिक दल निकट भएर नेताहरुको छुट्टाछुट्टै व्यक्तिगत चाकरी, चाप्लुसी गर्ने, विहान, बेलुका नेताहरुलाई कुरा लगाउने र नेताको ओरीपरी घुम्ने काम गरेर जीवीको पार्जन गरिरहेका छन् । कतिपय पत्रकारहरु कालाबजारी गर्ने र विचौलियाको हुलाकी बनेर सहयोग गर्ने र आफ्नो रोजीरोटी चलाउने गर्दछन् । उनीहरुले समाचार फेला पारेपछि त्यो समाचारलाई सञ्चारमाध्यममा प्रकाशित, प्रशारित गर्नुको साटो उल्टै बार्गेनिङ गरी पैसा बुझेर समाचार फाल्ने काम गर्दछन् । कथमकदाचित केही साप्ताहिक तथा दैनिक पत्रिकामा समाचार आयो भने त्यसलाई तपार्इंको यस्तो समाचार लेखे छ नि फलानो साप्ताहिक तथा दैनिक पत्रिकाले भन्दै त्यो पत्रिका बोकेर चाकडी गर्न जाने र यो समाचारको म खण्डन गर्न लगाउँछु । त्यसै मान्दैन, उनीहरुलाई पनि पत्रिका चलाउन गाह्रो छ । त्यसकारण यति पैसा दिनुहोस् म त्यो समाचार खण्डन गर्न लगाएर तपार्इंसँग सम्बन्ध राम्रो बनाइदिन्छु भनेर खाने पत्रकारहरु बजारमा छ्याप्पछ्याप्ती छन् ।