टीकापुरमा पानी वितरणमा समस्या

समाचार

काठमाडौं । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ ।

नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन् । बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ । पानी २४ सैँ घण्टा आउँछ भनेर कतिपय उपभोक्ताले ट्याङ्कीको व्यवस्था गरेका छैनन् । धेरै उपभोक्ताले नल्काको पानी प्रयोग गर्न छाडेका छन् ।

यसरी नल्काको प्रयोग गर्न छाड्नु र ट्याङ्कीको व्यवस्था नगरेका उपभोक्ता पानी अनियमित भएपछि खानेपानी संस्थाप्रति आक्रोशित हुने गरेका छन् । “खानेपानी अनियमित हुँदा उपभोक्तालाई मर्का पर्छ भन्ने बारेमा खानेपानी संस्थाले ध्यान दिनुपर्छ”, स्थानीय माहन्त साउँदले भने, “पाइप काटिँदा अनियमित र फोहर पानी आउने गरेको छ ।” उहाँले स्वच्छ खानेपानी नियमित वितरण गर्नेबारेमा संस्था जिम्मेवार हुनुपर्छ भने ।

पानी नियमित भएको र पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको खानेपानी संस्थाले जनाएको छ । “दिनहुँजसो पाइप काटिन्छ, पाइप काटिएपछि काटिएको क्षेत्रमा दुई छाक पानी अवरुद्ध हुन्छ”, खानेपानी संस्थाका प्रमुख चन्द्रप्रकाश सोडारीले भने, “पाइप काटिँदा उपभोक्तालाई समस्या त पर्छ नै संस्थालाई आर्थिक नोक्सान पनि हुने गरेको छ ।”

पाइप नकाटियोस् भन्नेबारेमा आफूहरु सचेत भएको भन्दै सोडारीले पाइप जथाभावी गाडेकै कारण निर्माणका काम गर्दा पाइप काटिने गरेको बताए । कार्यालय प्रमुख सोडारीका अनुसार अघिल्ला आर्थिक वर्षमा एक सय ४४ ठाउँमा पाइप काटिएको थियो । “पाइप काटिएको रकमबापत रु १४ लाख क्षतिपूर्ति असुल्न बाँकी रहेको छ”, सोडारीले भन्नुभयो, “९० सेन्टिमिटर गाड्नुपर्ने पाइप ४८ मिटर त कही त्योभन्दा कम गाडिएको पाइयो ।”

संस्थालाई कसरी दिगोपनमा लैजान सकिन्छ भन्ने योजना बनाएर अघि बढिरहेको सोडारीले बताए। “संस्थाको अधिकतम हितका लागि कतिपय अवस्थामा अप्रिय निर्णय पनि लिन जरुरी छ”, सोडारीले भने, “खानेपानीको महसुलमा अनावश्यक टीकाटिप्पणी गरेको पाउँछु राम्रो लाग्दैन ।”

नब्बे सेन्टिमिटरमा पाइप गाड्नुपर्ने मापदण्ड भए पनि निर्माण कम्पनीले अधिकांश ठाउँमा मापदण्डअनुसार काम नगरेकै कारण पाइप काटिन थालेको हो । “निर्माण कम्पनीले पाइप गाड्दा मापदण्डअनुसार काम नगर्नु भनेको भ्रष्टाचार हो”, खानेपानी संस्थाका सदस्य खड्गबहादुर धामीले भने, “खाल्डो खन्ने रकम निर्माण कम्पनीले बचाएको प्रष्ट हुन्छ । अर्कोतर्फ पाइप जथाभावी गाडेको रहेछ ।” निर्माण कम्पनीले काम गर्दा धेरै अनियमितता गरेको देखिन्छ भन्दै धामीले बिग्रेको काम सुधार्नमै हामी लागेका छाँै भने ।

अहिलेसम्म दुई सय ५९ किलोमिटर पाइप बिछ्याइएको छ । लागत अनुमानमा एक सय ९६ किलोमिटर पाइप जोड्ने योजना भए पनि ६२ किलोमिटर थप पाइप विस्तार गरिएको छ । आठ हजार चार सय १३ धारा जडान गर्ने लक्ष्यअनुसार संस्थाले सात हजार छ सय धारा जडान गरेको छ । सन् २०३८ सम्ममा यो योजनाबाट २० हजार घरधुरीलाई पानी वितरण गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *