नेपालमा टायल उत्पादन सुरु

समाचार

काठमाडौं । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ ।

यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारका अनुसार हाल टायललाई आवश्यक पर्ने ५० प्रतिशत माटो नेपालकै प्रयोग गरिएको छ । केही महिनापछि नै पूर्णरुपमा नेपाली माटोबाटै टायल उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ । दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ ।

सुरुको तीन महिना पूरै माटो भारतको राजस्थानबाट ल्याइएको भए पनि क्रमशः नेपाली माटोको खोजी गरिएको बताए । उनले भने, “एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । नेपाली माटो टायलका लागि उत्तम देखियो ।”

भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उहाँले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकाले यहाँको माटो गुणस्तरीय देखिएको रौनियारले बताए । भारतबाट ल्याएको माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलो रु आठ पर्छ भने नेपाली माटो रु तीनमा उद्योग आइपुग्ने उनको भनाइ छ ।

उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष रु ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको बताउँदै आफूहरुले त्यसको १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको रौनियारले बताए । अहिले उद्योगले मासिक रु २० करोड हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पु¥याउन सहज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *