मिलिजुली सरकार, अस्थिर राजनीति

समाचार

सम्पादकीय
यही २०७९ मंसिर ४ गते संघ तथा प्रदेशको निर्वाचन सम्पनन भएको छ । निर्वाचन सम्पन्न भई नतिजा आइसक्दा कुनै पनि राजनीतिक दलले बहुमत हासिल गर्न सकेको अवस्था छैन । आगामी सरकार कुन दलले बनाउँछ भन्नेतिर अन्योल छाएको छ । जुनसुकै दलले सरकार बनाएपनि नेतृत्व सञ्चालन गर्न सहज भने देखिएको छैन । सरकार बनाउन बहुमतको आवश्यकता पर्दछ । यही बहुमत पु¥याउन ठुला राजनीतिक दललाई कठिन भएपछि दलहरुभित्रै बार्गेनिङ सुरु भइसकेको छ । यसरी राजनीतिमा बार्गेनिङ सुरु हुनु भनेको राजनीतिमा अस्थिरता छाउनु हो ।
मुलुक र जनताको लागि नभई शक्ति र शासनको उपभोग गर्नका निम्ति गरिएको राजनीतिमा सत्ताको लागि बार्गेनिङ स्वभाविक हो । यसले राजनीति र मुलुकलाई स्थिरता होइन, अस्थिरतातर्फ धकेल्छ । सरकारा निर्माण गर्न संसदमा बहुमतको आवश्यकता पर्दछ । स्पष्ट बहुमत कुनै पनि दलको नआएको अवस्थामा चुनावमा जनता झुक्याएर अराजनीतिक अभ्यास गर्दै गठबन्धन नै बनाएर गएजस्तै सरकार पनि गठबन्धन नै गरेर बनाउनुपर्ने अवस्था छ । यसले गर्दा राजनीतिक एजेण्डा, पार्टीगत विचार बाझिन जान्छ । नेपालको राजनीतिमा जनताको पीडाभन्दा पनि पार्टीको राजनीतिक विचारधारा र एजेण्डा हावी हुने गर्दछ । यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्ने गरेका छन् ।
गठबन्धन गरी सरकार बनेतापनि त्यो सरकार पाँच वर्षसम्म स्थिर रहला भन्ने ग्यारेन्टी गर्न सकिँदैन । पाँचवर्षसम्म सत्ता र कुर्सीकै खेल हुनेहुँदा जनताले अहिलेको सरकारबाट पनि नयाँ परिवर्तन पाउने र जनताका निमित्त काम गर्लान भन्ने आशा राख्नु भ्रम मात्र हुनेछ । नेपालमा विकासको खाका तयार पार्ने, सामाजिक–आर्थिक अवस्था सुधारमा लाग्ने, मुलुकमा रोजगारी सिर्जना गर्ने, वित्तीय परिचालन, आर्थिक गतिविधि बढाउनेजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पुग्ने देखिँदैन । सांसद र सरकारको यो कार्यकाल पनि आरोप–प्रत्यारोप, कटाक्ष र भागवण्डामै बित्ने देखिन्छ । जनताले विकल्प नदेखेर कुनै राजनीतिक दलाई बहुमत दिएका छैनन् । यसको अर्थ राजनीतिक दलप्रतिको वितृष्णा हो । तर यो अल्पमत पनि जनताका लागि बरदान सावित हुने देखिँदैन । जनताले यो अस्थिर राजनीतिबाट उन्मुक्ति कहिले पाउँछन् त्यो भगवान भरोसा मात्रै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *