अहिले नेपालको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्स र आयात सिर्जित करको प्रमुख भूमिका छ । नेपालको आन्तरिक आम्दानी शून्यप्रायः छ । उत्पादन नभएको मुलुकमा आन्तरिक आम्दानीको आशा गर्नु मुर्खता पनि हो । मुलुकको राजनीतिले मुलुकको आर्थिक अवस्थालाई खराब दिशातर्फ लगेका कारण नै आज नेपाली श्रमशक्ति विदेसिन बाध्य भइरहेका छन् । मुलुकमा रोजगारीको अवस्था न्यून छ । आन्तरिक कृषि तथा औद्योगिक उत्पादन समयसँगै झन् घट्दै गइरहेको छ । अधिकाशं उद्योग, कलकारखाना, लघुउद्यमहरु बन्द हुने अवस्थामा छन् । कृषियोग्य जमिनहरु बाँझो बन्दै गइरहेको छ । नीतिगत कमजोरीका कारण हरेक परिवारबाट कम्तिमा एकजना त विदेश गएकै अवस्था छ । मुलुकमा काम गरेर आर्थिक उपार्जन गर्न नसकेको अवस्थामा विदेसिनु स्वभाविक पनि हो । सत्तालिप्सा र भ्रष्टाचारले गर्दा खराब प्रवृृत्तिले प्रश्रय पाउँदै गएको पाइन्छ । नीतिगत कमजोरीका कारण कृषियोग्य जमिनहरु बाँझो छन् । उद्योगधन्दाहरु चल्न सकेका छैनन् । आयातले सहज प्रवेश पाएका छन् । भएकै नेपाली उत्पादनहरु पनि विदेशी उत्पादनहरुले ओझेलमा पारेका छन् ।
हालै विश्व बैंकले माइग्रेसन एण्ड ब्रिफ–२०२२ प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वभरका मुलुकहरुमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को अनुपातमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल ११औं स्थानमा रहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको २२ प्रतिशत योगदान रहेको देखिन्छ । अर्थात, नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको प्रत्यक्ष योगदान २२ प्रतिशत हुनुले नै नेपालको अर्थतन्त्रको खराब अवस्थालाई चित्रण गर्दछ । अझ भन्नुपर्दा दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक पर्दछ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्स्को भूमिका यति ठूलो रहँदा पनि मुलुकको कमजोर अर्थनीतिका कारण यसरी भित्रिएको रकम पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकेको छैन । नेपालमा अर्थतन्त्रका कुचक्र यसरी जेलिएको छ कि नेपाली श्रमबाटै सिर्जित उत्पादन नेपालीले रेमिट्यान्सबाट पठाएको रकमले खरिद गर्नुपर्ने हुन्छ । यसको तात्पर्य के हो भने विदेशमा नेपालीको तथा अन्य श्रमबाट उत्पादित वस्तुहरु नेपाल भित्रिने र विदेशमा गरेको आम्दानीले उत्पादित वस्तुहरु खरिद गरेर उपयोग गर्नुपर्ने दुरावस्था पछिल्लो केही दशकमा ह्वात्तै बढेको देख्न सकिन्छ ।
नेपाल आप्रवासी पठाउने दक्षिण एसियाली मुलुकमध्ये तेस्रोमा पर्दछ । सतही रुपमा विप्रेषणबाट पठाइएको विदेशी मुद्राले नेपालको विदेशी मुद्राको सिञ्चितिलाई केही राहत देखिएपनि परिवत्र्य मुद्रामा पुनः आयातमार्फत नेपाली रकम बाहिरिने हुँदा यसले सूक्ष्म रुपमा नेपालको अर्थतन्त्रलाई अझै खराब पार्दै लगेको छ । हामीले सतही रुपमा विदेशी मुद्रालाई मूल्यांकन गरेपनि यसरी गएको श्रमशक्तिले पठाएको रेमिट्यान्स् पुनः बाहिरिने अवस्था कसरी सिर्जना भयो भन्नेतिर विश्लेषण गरेका पनि छैनौं । यदि यही श्रमशक्ति नेपालमै लगानी हुने हो भने नेपालको पुँजी बाहिरिने अवस्था हुने थिएन । नेपालको श्रम नेपालमै लगानी हुँदा नेपाली उत्पादन नै नेपाली जनताले उपभोग गर्न पाउने थिए । यसले सहजता सिर्जना गर्नुको साथसाथै पुँजी परिचालन, आन्तरिक उत्पादनको उपभोग, महंगी नियन्त्रण र नेपाली पुँजी बाहिरिनबाट रोकिने थियो ।
विश्वव्यापीकरणको समयमा आयात निर्यात सन्तुलन नै वैदेशिक व्यापारको सफलता हो । मुलुकको अर्थतन्त्र व्यवस्थापनको दृष्टिकोणबाट आयातभन्दा निर्यातको अवस्था केही मात्रामा भएपनि बढी हुनुपर्दछ । हरेक वस्तु आन्तरिक उत्पादन गर्न पनि सहज हुँदैन । अर्काेतर्फ, सबै वस्तु आयात गर्दा पनि अर्थव्यवस्थालाई नै असर गर्दछ । त्यसैले आयात निर्यात सन्तुलनलाई व्यवहारिक बनाउँदै यसको अनुपातलाई कायम राख्न आवश्यक नीति सरकारले अवलम्बन गर्न अनिवार्य छ । मुलुकको वित्तीय अवस्था निकै कमजोर बनिसकेको छ । निर्वाचनलगत्तै वित्तीय तरलता हुने आंकलन गरिएपनि बजारमा तरलता अभाव देखिएको छ । वित्तीय संस्थाहरुसँग पुँजी संकलन हुन सकेको छैन । वास्तविकतालाई केलाउने हो भने नेपाली मुद्रा परिवत्र्य मुद्राका रुपमा आयातमार्फत विदेसिने क्रम अझ् बढ्दै गएको छ । पछिल्लो समय विलासिताका वस्तुमा रोक लगाइएको छ । केही हदसम्म विदेशी सिञ्चिति मुद्रा बाहिरिन कम भएपनि नेपालले हरेक वस्तु आयातित उपभोग गर्ने भएका कारण मुद्रा बाहिरिन रोकिएको छैन । अर्काेतर्फ निर्यातमार्फत नेपालमा विदेशी मुद्रा भित्रिएको तथ्यांक आकाशको फल आँखातरी मर भनेझैं छ । अहिलेको आयात पूर्ति गर्नका लागि रेमिट्यान्सले धानेको अवस्था छ । भोलिको अवस्था यही हुनेछ भनेर ठोकुवा गर्न पनि सकिँदैन । त्यसैकारण यदि रेमिट्यान्स भित्रिन पनि कम भएको अवस्थामा वा विदेसिने नेपालीले रेमिट्यान्स पठाउन छाडेको अवस्थामा अर्थतन्त्रको स्थिति के होला ? यसबारे पनि सोच्न जरुरी छ । अब सकेसम्म श्रमशक्तिलाई रोजगारी सिर्जना गर्नेगरी लघुउद्यम, उद्योग कलकारखाना, कृषि उत्पादनलगायतका सम्भावित उत्पादन नेपालमै गर्न सुरु गर्नुपर्दछ । राजनीतिक खेलोफड्कोलाई छेउमा राखेर सर्वप्रथम दैनिक आर्थिक सञ्चालन कसरी गर्नेभन्नेतिर मुलुकको नेतृत्वको ध्यान जान जरुरी छ ।
अबको बाटो भनेको रेमिट्यान्सलाई मुलुकको आयस्रोत बनाउने नभई आन्तरिक उत्पादनबाट सिर्जित आम्दानीलाई मुलुकको आय बनाउनेतर्फ सत्ता र नेतृत्वको ध्यान जानुपर्दछ । रेमिट्यान्स भनेको अस्थायी आम्दानीको स्रोत हो । रेमिट्यान्सको दुष्चक्रकै कारण पनि मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको छ । श्रमशक्ति विदेसिने, विदेसमा उत्पादित वस्तु नेपालीहरुले आयातमार्फत उपभोग गर्नुपर्ने र त्यही रेमिट्यान्स पुनः आयातको भुक्तानीमार्फत विदेसिने यस्तो खराब दुष्चक्रका कारण अर्थतन्त्र कमजोर बनेको हो । अब यो दुष्चक्रलाई तोड्दै नेपालले आन्तरिक कृषि तथा औद्योगिक उत्पादनलाई प्राथमिकतामा राखी आर्थिक क्रान्ति नै गर्नुपर्ने आवश्यकता देखिएको छ । अब पनि पुरानै राजनीतिक प्रवृत्ति र नीतिलाई अवलम्बन गरियो भने भोलिका दिनमा मुलुकमा श्रमशक्ति शून्य हुने र नेपाल र नेपालको अर्थतन्त्र धरासायी बन्दै शक्तिशाली मुलुकको शरण लिनुबाहेक अन्य कुनै विकल्प हुनेछैन । यसपटक निर्वाचित भएका जनप्रतिनिधिले विगतको गल्तीलाई विश्लेषण गरेर आगामी भविष्यका लागि नीति निर्माण गर्दै मुलुकको अर्थतन्त्रलाई जोगाउन र नेपाली जनतालाई ढाडस दिन सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।