काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुकको रुपमा परापूर्वकालदेखि रही आएको छ । सांस्कृतिक अनेकतामा एकता नै यहाँको विशिष्ट संस्कृतिको रुपमा रही आएको पाइन्छ । आधुनिकीकरण लगायत अन्य विभिन्न कारणले मुलुकको अमुर्त संस्कृति रुपान्तरण हुँदै आएकाले परम्परागत लोक संस्कृतिको संरक्षण एवं सवद्र्धन गर्ने उद्देश्यले काँक्रेविहार संग्रहालयको वि.सं. २०५७ साल साउन २ सोमवारको दिन विधिवत् रुपमा उद्घाटन गरी सर्वसाधारणका लागि प्रदर्शनी खुल्ला गरिएको थियो ।
यसलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत २०७५ असोज ५ गतेदेखि प्रदेश संग्रहालयमा रुपान्तरण भएको छ । यस संग्रहालयले मुलतः शिक्षा प्रदान गर्ने, अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको छ ।
यो संग्रहालय सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थित टुडिखेलको पूर्वपट्टी अवस्थित रहेको पाइन्छ । यस संग्रहालयले नेपालको कर्णाली प्रदेश क्षेत्रमा विद्यमान इतिहास संस्कृति र पुरातत्वसँग सम्बन्धित वस्तुतहरुको विभिन्न जातजातिहरुको मौलिक पहिचान झल्कने सांस्कृतिक महत्वका सामग्रीहरु ढुंगाबाट कुँदिएका देखिन्छ । त्यस्तै विभिन्न ऐतिहासिक र पुरातात्विक वस्तुहरुको संकलन, भण्डारण, संरक्षण र प्रदर्शन गरेर प्रदेश स्तरको बहुउद्देश्यीय संग्रहालयको रुपमा विकास गरेर सञ्चालन गरिएको छ ।
सुर्खेत जिल्लाको इतिहास तथा संस्कृतिसँग सम्बन्धित वस्तुहरुको संग्रहालयले विषयवस्तु अनुसार वर्गिकरण गरी प्रदर्शनीमा राखेको छ । विभिन्न जातजाति (मगर, थारु, राउटे, कुमाल) को संस्कृति झलक दर्शाउने मोडल अर्थात् डायोरामा, महत्वपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, महत्वपूर्ण ऐतिहासिक हातहतियार परम्परागत नापतौलका एकाइगत सामग्रीहरु, अत्यन्तै महत्वपूर्ण विभिन्न मूल्य एव तिथिक्रमका मुद्राहरु, परम्परागत लोक बाजाहरु तथा राउने, मगर, थारु जातीका विभिन्न सांस्कृतिक, सामाजिक पक्षलाई झल्काउने खालका फोटोहरु, काठको लहरु, नाउ, डुङ्गा पनि प्रदर्शनीमा राखिएको देखिन्छ ।
यस कक्षमा विशेषगरी कांक्रेबिहारबाट प्राप्त पुरातात्विक वस्तुहरु, कलात्मक प्रस्तुत मूर्तिहरु, फलामका प्राचीन हुक, प्राचीन माटाका भाँडाका टुक्राहरु, जुम्लाबाट प्राप्त माटोका चःचहरु त्यसैगरी हिमाली भेगको लामाहरुको संस्कृति झल्काउने भेषभुषा, भाँडावर्तन परम्परागत तोरी पेल्ने काठको कोल, काठको मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, थाङ्का माझी जातीसँग सम्बन्धित सामाग्री माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्रीहरु प्रदर्शनीमा राखिएकाले उक्त संग्रालय क्षेत्रमा पर्यटकहरुको आगमन स्थल मानिँदै आएको छ ।
योसँगै उता सबैभन्दा पर्यटकीय स्थललाई रमणीय स्थल भनेर चिनिने सूर्खेतको बुलबुले ताललाई लिइन्छ । त्यस क्षेत्रको बुलबुले तालको बाहिर जति चर्चा र चासो गरिन्छ त्यति संरक्षण र विकास गरेको पाइएन । यस क्षेत्रलाई विकास गरेर पर्यटकको आगमन केन्द्रको रुपमा विकसित गर्नुपर्नेमा त्यसलाई कुनै पनि राजनीतिक दल र सामाजिक संघ संस्थाले पनि त्यति ध्यान दिएको पाइँदैन ।
त्यस्तै अर्को उदाहरण धर्मको नाममा चिनिने आफ्नो मनोकामना पुरा हुने भनेर विश्वास मान्दै आएको देउती बजै माता भनेर चिनिने अर्को महत्वपूर्ण तीर्थस्थल मानिन्छ । तर, त्यस मन्दिरलाई बाहिरबाट जति चर्चा गरिए तापनि वास्तविक रुपमा त्यो मन्दिरको संरक्षण र सवद्र्धन गरेको देखिँदैन ।
तर, त्यस मन्दिरमा अधिकांश भक्तजनहरु सामाजिक बालबालिकादेखि किशोर, किशोरी र बुढापाकासम्मको गतिलै भिड लाग्ने गरेको देखिन्छ । त्यसरी भीड लाग्नुमा आफूरुले मनमा चिताएका कुरा पुरा हुने विश्वास गरिँदै आएकाले हो । यी र यस्ता महत्वपूर्ण तीर्थस्थल रमणीय डाँडाहरुसमेत देख्न र हेर्न सकिन्छ । कर्णाली प्रदेशको सूर्खेत जिल्लालाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्नको लागि प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।(तामााकाशी सन्देशमा समाचार छ)