काठमाडांै । नेपालमा बन्दै गरेको नयाँ सरकारबाट नेपाली जनताले धेरै आशा र भरोसा गरेका छन् । किन भने अहिलेको सरकार विभिन्न विचारधारा राख्ने पार्टी र स्वतन्त्रबाट आएका व्यक्तिहरुको समिकरणबाट बनेको छ । यी पार्टी र स्वतन्त्र व्यक्तिहरुले चुनावका बेला आमजनतामाझ आ–आफ्ना चुनावी घोषणापत्रमार्पmत छुट्टाछुट्टै तरिकाले पुरा गर्न सक्ने नसक्ने धेरै महत्वकांछी आश्वासन दिएका छन् ।
ती दल र स्वतन्त्र व्यक्तिहरुले त्यसरी देशले धान्नै नसक्ने र पुरा गर्न सम्भवै नहुने आश्वासन दिनुमा उनीहरुलाई आफूले चुनाव जितेर सरकारमा पुग्छु भन्ने विश्वास गरेका थिएनन् । तर, एकाएक नेपाली जनताले पुराना दल र नेताहरुबाट दिक्क भएकाले नयाँ दल र स्वतन्त्र व्यक्तिलाई अनपेक्षित रुपमा भोट दिएर विजयी बनाए ।
त्यसरी विभिन्न विचार र एजेन्डा बोकेका व्यक्तिहरु मन्त्री भइरहँदा जनतामा आशा र भरोसा जागेको हो । यो समिकरणमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता देख्नै नचाहने, यो संविधान नै नमान्ने, विधिवत रुपमा विदा भइसकेको राजतन्त्र फर्काउने, हिन्दू राज्य स्थापित गर्ने, राष्ट्रपतिको ठाउँमा राजा राख्नेदेखि धर्मनिरपेक्षता हटाएर हिन्दू राज्य घोषणा गर्नुपर्नेसम्मको माग राखेर घोषणपत्र बनाउनेहरुसम्म रहेका छन् । त्यसकारण पनि नेपाली जनताले यो समिकरणबाट बनेको सरकारबाट धेरै आशा र भरोसा गरेका हुन् ।
यसरी धेरै पार्टी, व्यक्ति र तिनका छुट्टाछुट्टै एजेन्डा समेटिएका घोषणापत्रमा उठान गरिएको मुद्दा अनुसार कसरी एकजुट भएर देश र जनताको हितमा काम गर्छन् त्यो भने हेर्न बाँकी नै छ । नयाँ सरकारबाट आशा र भरोसा गरे तापनि यतिखेर सर्वसाधारण नेपाली जनता महंगी, अत्याचार, भ्रष्टाचार, व्यथिति र अनियमितताको चपेटामा पिल्सिएका छन् । अहिले बनेको नयाँ सरकारले जनताले थेग्नै नसक्ने गरी आकासिएको महंगी नियन्त्रण गर्न बजार अनुगमन गरी कालाबजारियालाई कारबाही गरी सुशासन कायम गर्न सक्छ कि सक्दैन ।
चुनावका बेला जनतासामु भाषण गर्दा भ्रष्टाचार निर्मुल पार्छु भन्नेहरु मन्त्री बनिसकेका छन् । अब उनीहरुले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्छ कि सक्दैनन् । कर्मचारीहरुबाट सेवाग्राहीलाई दुःख दिने र काममा ढिलासुस्ती हुने प्रवृत्ति बढेर गएको छ । त्यसलाई नियन्त्रण गरी सेवाग्राहीको काम चुस्तदुरुस्त ढंगले छिटोछरितो गर्न कत्तिको लागिपर्छन् त्यो भने हेर्न बाँकी छ ।