कमजोर हवाई सुरक्षामा सरकार किन मौन

राजनीति सम्पादकीय

सम्पादकीय
गत २०७९ माघ १ गते नेपालीहरुको शुभ दिनमा अशुभ घटना भयो । हवाई क्षेत्रको सुरक्षालाई चुनौती दिँदै नेपालमा ५०औं हवाई दुर्घटना घट्यो । नेपालको इतिहासमा आन्तरिक उडानतर्फ यो सबैभन्दा ठूलो दुर्घटना र क्षति पनि हो । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार नेपालमा घटेको यो ५०औं हवाई दुर्घटनाले हवाई सुरक्षामा नयाँ चुनौती थपिदिएको छ ।

नेपालको भौगोलिक अवस्थालाई अधिकाशं हवाई दुर्घटनाको कारक मान्ने गर्दै आइएको र नेपालमा उडान गर्ने जहाजको प्राविधिक कमजोरीलाई ढाकछोप गर्दै आइएको थियो र छ पनि । गत २०७९ जेठ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए । यसरी दुर्घटना भएको ८ महिना नबित्दै विमान कर्मचारीसहित ७२ जनासहितको विमान दुर्घटनामा प¥यो । विमान दुर्घटनमा निधन भएका ७० जनाको शव फेला परिसकेको छ भने अन्य दुईको खोजीमा प्रहरी लागिरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) को सुरक्षा अडिट पास गरेको नेपालले प्रारम्भिक रिपोर्टमा कुल परिपालना दरको ७०.१ प्रतिशत नम्बर पाएको थियो । आइकाओले नेपालको उडड्यन क्षेत्र सुधार र सुरक्षित हुँदै गएको प्रतिवेदन दिइरहँदा नेपालमा भने केवल ८ महिनाकै अन्तरालमा दुईवटा दुर्घटना भयो । गत आइतबार भएको विमान दुर्घटना त नेपालको आन्तरिकतर्फ सबैभन्दा ठूलो दुर्घटना पनि हो ।

गत २०७५ फागुनान ताप्लेजुङमा भएको श्री एयरलाइन्सको एमआई १७ दुर्घटनामा मन्त्री को निधन भएको थियो । त्यसैगरी, फिस्टेल एयरको हेलिकोप्टर बारम्बार दुर्घटनामा पर्ने गरेका छन् । हालसम्म आन्तरिक उडानतर्फ नेपाल एयरवेज चार, एभरेस्ट एयर एक, स्काई दुई, गोरखा दुई, कस्मिक एक, निकोन एयर दुई, यति एयर पाँच, सांग्रिला एक, बुद्ध दुई, अग्नि दुई, तारा तीन, सीता तीन र समिट एक दुर्घटना भएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

नेपाल सरकारले विमानको यान्त्रिक परीक्षण कडाई गर्ने र हवाई सुरक्षाको पालना कडाईका साथ गर्न निर्देशन दिएतापनि नेपालकै नियामक निकाय नेपाल उडड्यन प्राधिकरणको लापरवाही देखिन्छ ।सीमित लाभका लागि उडान स्वीकृति दिने, विमान अनुगमन नगर्ने, यान्त्रिक अनुगमन र परीक्षण फितलो पार्ने, वर्षाैं चलेर थोत्रा भएका विमानको सहज प्रवेश दिने, नाफामुखी विमान कम्पनीहरुलाई कानूनी दायरामा ल्याउन नसक्नु सरकारको नियामक निकायको प्रमुख कमजोरी हो ।

यस्तै कमजोरी र जोखिमका कारण युरोपेली उडड्यनले नेपालको उडड्यन क्षेत्रलाई कालोसूचीमा राखेको छ । अब नियामक निकाय सुध्रिन र नाफामुखी उडान कम्पनीहरुलाई कानूनी दायरामा ल्याएर निर्दाेष ज्यानहरु जोगाउनुपर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *