वन क्षेत्रमा गरिएको एक नमुना काम ‘वातावरण शिक्षा’

शिक्षा/स्वास्थ समाचार

शिर्षक देख्दा यो पनि नयाँ काम होर ? भन्ने लाग्न सक्छ । वन क्षेत्रमा वातावरणीय शिक्षा त सधैं हुन्छ नी । के नौलो ? भन्ने जिज्ञासा तपाईको मनमा लाग्न सक्छ । हो, वन क्षेत्रमा वातावरणीय शिक्षा नयाँ होइन । अनी शैक्षिक क्षेत्रमा पनि वातावरणीय शिक्षा नयाँ होइन । विद्यालय स्तरमा पनि सरकारी पाठ्यक्रम भित्र वातावरणका विषय पक्कै होलान् । अनी विश्वविद्यालय स्तरमा त वातावरण विज्ञान भन्ने विभाग नैं छ ।

तर नौलो चाँही के हो त ? जिज्ञासा जायज छ । एउटा जिल्लाको वन वातावरणका विषय समेटर विद्यालय स्तरको लागि पुस्तक निकाल्ने काम गर्नु त्यो पनि वन कार्यालयवाट । यो चाँही नौलो हो । देश विदेशका प्रजाती जान्ने तर आफ्नै वारीकान्लाको थाहा नपाउने अवस्था छ । यो अवस्था अहिलेको शिक्षाको प्रणालीमा देखिएको अभाव हो । त्यो अभाव पूरा गर्न डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवापुरले यो नयाँ काम गरेको छ । विद्यालयका नानीवावुमा समर्पित भनी ‘वातावरण शिक्षा’ नाम राखि पुस्तक प्रकाशन गरेको छ ।

वन तथा वातावरण क्षेत्रका अभ्यासकर्ता, विषयगत विज्ञहरुले निर्दिष्ट विषयमा लेखिएको लेखहरुको संगालो भन्दा फरक पर्दैन यो पुस्तक । तर यसको म्ूलभुत विशेषता भनेको गुगल सर्च गरेर नभेटिने विषय यहाँ समेटिएको छ । मकवानपुरमा पाइने वारिकान्लाको विवरण गुगलमा खोजेर भेट्न मुस्कील पर्दछ । मकवानपुरमा गर्न सकिने हाइकिङ रुटका वारेमा चर्चा गरिएको छ । स्थानीय स्तरमा पाइने वनस्पती, चराचुरुङ्गी, जिवजन्तुका वारेमा सचित्र वर्णन गरिएको छ । मकवानपुरमा रहेर धार्मिक तथा सांस्कृतिक स्थानको वारेमा लेखिएको छ ।

मकवानपुर जिल्ला भित्र पर्ने प्रमुख पर्यापर्यटकीय गन्तव्यको सूची सहितको संक्षिप्त विवरण उल्लेख गरिएको छ ।
कुल ३२ वटा लेख, कविता एवं रचना रहेका छन् पुस्तक भित्र । १५२ भित्री पृष्ठ रहेको यस पुस्तकलाई रंगिन रुपमा छापिएको छ । यो पुस्तक वन वातावरण क्षेत्रका लागि ऐना हो भन्दा फरक पर्दैन । यहि पुस्तकको प्रेरणाबाट एक विद्यालयले वरीपरिको वातावरण शिक्षाको लागि एक भ्रमण कार्यक्रम आयोजना गरेछ । यो दृश्य सामाग्री सामाजिक सञ्जालमा देखिएको थियो ।

विद्यार्थिहरु खुसी भएको र धेरै कुरा जानेको अभिव्यक्ति दिइरहेका थिए । विभिन्न तरिकाले दुनियाँ चिन्न सकिएला तर आफ्नो घरआँगन र वारीकान्ला चिन्ने मौका मिलेको छ । वन तथा वातावरण क्षेत्रमा नाम चलेका विषयगत विज्ञहरुले तयार गरेको सामाग्री त समावेश छ नैं । त्यो भन्दा पनि फरक शिक्षा क्षेत्रका व्यक्तिहरुले लेखेको सामाग्री समावेश छ ।

फरकधारको राजनीतिज्ञ रुपचन्द्र विष्टका वारेमा लेखिएको लेख राखिएको छ । ‘थाहा’ अवधारणाको प्रणेता विष्टले मकवानपुरमा शैक्षिक विकासमा खेलेको भूमिकाको बारेमा चर्चा गरिएको छ । विभिन्न स्थानमा यात्रा गर्दाको अनुभुती यस पुस्तकमा समावेश छ । हाईकिङ भन्ने शव्दावली सुनेका तर यसको वारेमा खासै मेसो नभएकालाई यस पुस्तकमा समावेश भएको एक लेखले चित्ताकर्षक नैं गर्दछ । हाईकिङ गर्दा हुने फाइदा र यसका वारेमा टिप्सहरु पठ्दा मज्जा आउने गर्दछ ।

‘बाघले जब सेल्फी पोज दियो’ भन्ने संस्मरण पढ्दा डरले आङनैं सिरिङ्ग हुने गर्दछ । वन वातवारण क्षेत्रसँग सम्वन्धीत विभिन्न दिवसका वारेमा चर्चा तथा यसको महत्व वारेमा पठनीय तरिकाले लेखिएको छ । वन तथा वातावरण सम्वन्धी नाराहरु उल्लेख गरिएको छ ।
यस पुस्तकमा एक सानो टिप्पणी लेखिएको छ, जुन कुनै महान् व्यक्तिले भनेका थिए भनेर उल्लेख छ ‘मैले मैना पालें, उडेर गयो । सुगा पालें, त्यो पनि उडेर गयो । अनी मैले रुख रोपें, मैना पनि आयो, सुगा पनि आयो । ’

आहा कस्तो चित्त वुझ्दो । यस पुस्तकमा चेपाङ, चिउरी र चमेरोको सम्वन्धका वारेमा रोचक रुपले प्रस्तुत गरिएको छ । विद्यालय स्तरमा चराका वारेमा अध्ययन गर्न सजिलो वनाउने अध्ययन समाग्री समावेश छ । जुन लेख चरा विशेषज्ञले लेख्नु भएको हो । नेपालका वन व्यवस्थापन प्रणाली अनी नेपालमा रहेका संरक्षित क्षेत्र र तिनीहरुको संक्षिप्त जानकारी समेटिको सामाग्री समावेश गरिएको छ । नेपालमा शहरी वनको अभ्यासमा वारेमा समेत पाठ्य समाग्री छापिएको छ ।

यो पुस्तक तथ्यतथ्यांकका लागि खानी रहेको छ । ‘सन् २०१० लाई आधार वर्ष मानी प्रकाशित राष्ट्रिय वन स्रोत सर्वेक्षणको नतिजाअनुसार भने नेपालमा वनले करिब ५९ लाख ६२ हजार हेक्टर भू–भाग ओगटेको छ जुन नेपालको कुल क्षेत्रफलको ४०.३६ प्रतिशत हुन आउँछ । बुट्यान क्षेत्र ६ लाख ४८ हजार हेक्टर (४.३८ प्रतिशत) रहेको छ । यसरी नेपालको कुल क्षेत्रफलमध्ये वन तथा बुट्यान क्षेत्रले गरी जम्मा ४४.७४ प्रतिशत भू–भाग ओगटेको छ । कुल वन क्षेत्रको ३७.८० प्रतिशत मध्य पहाडी भौगोलिक क्षेत्रमा, ३२.२५ प्रतिशत उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा, २३.०४ प्रतिशत चुरे क्षेत्रमा र ६.९० प्रतिशत तराई क्षेत्रमा अवस्थित छ ।

कुल वन क्षेत्रमध्ये संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२ प्रतिशत) र संरक्षित क्षेत्रभन्दा बाहिर ४९ लाख २९ हजार हेक्टर (८२.६८ प्रतिशत) वन रहेको छ ।’ यी सूचनाहरु वन क्षेत्रमा चासो लिने सवैलाई उपयोगी हुन्छन् । कुनै पनि एक विषय केन्द्रीत भैं पुस्तकको आकार दिनु जटिल काम हो । त्यसैले यो काम कहिल्यै पूरा वा पूर्ण हुन सक्दैन । यो पुस्तक वन सम्वन्धी तथ्यतथ्यांकको संग्रह मान्दा पनि फरक पर्दैन । त्यसैले वन वातावरण सम्वन्धी अध्ययन गर्ने अध्येतालाई र चासो राख्ने समेतलाई सहयोग पुग्दछ ।

तथापी वन क्षेत्रमा देखापरेको सवाल सम्वोधनका लागि गरिएका प्रयासहरुको विषयहरुलाई खासै स्थान दिएको पाइन्न । नेपालको पहिचान भएको सामुदायिक वन अभियानले पनि यस पुस्तकमा प्रयाप्त स्थान पाएको देखिन्न । सामुदायिक वन अभियानका धेरै कमजोरी होलान् तथापी सामुदायिक वन हाम्रो पहिचान भैसक्यो । सामुदायिक वन भन्नासाथ समाज जोडिन्छ । समाज भनेको साध्य पनि हो । मुलुक र मुलकवासी साध्य हुन् अरु सवै साधान हुन् । सवै वन व्यवस्थापन प्रणालीहरु साध्य केन्द्रीत हुनु पर्दछ भन्ने विचारमा कसैको पनि फरक वीचार हुन सक्दैन । त्यसैले सामुदायिक वनको समग्र विषय र मकवानपुर जिल्लामा सामुदायिक वनले खेलेको भूमिकाका वारेमा संक्षिप्त रुपमा भनेपनि उल्लेख गरेको भए अझ उत्तम हुने थियो ।

यस पुस्तकमा उल्लेख भएका लेख तथा विचारहरुलाई नियाल्दा संरक्षणमुखी नैं धेरै देखिन्छ । त्यो अनौठो होइन तर संरक्षणमात्र पनि सवै कुरा होइन । दिगो उपयोगका पक्ष पनि विर्सनु हुँदैन । नयाँ पुस्तालाई यो विषयमा जानकारी दिनु अपरिहार्य भैसकेको छ । प्राकृतिक स्रोत गाढ धन हैन । यस्को वुद्धिमतापूर्वक उपयोग वा दिगो व्यवस्थापन गर्नु पर्दछ भन्ने जानकारी पनि विधार्थिहरुलाई दिनु पर्दछ । तव नयाँ पुस्ताले वातावरण क्षेत्रमा आधारित उद्यम तर्फ ध्यान सक्छ अनी यूवा पुस्ताले यो क्षेत्रमा आफ्नो भविष्य खोज्न सक्नेछन् ।

अवको आवश्यता भनेको वन वढ्यो भनेर पुग्दैन, वन वढेर विपन्न तथा कमजोर वर्गलाई के फाइदा भयो ? रोजगारी कति सिर्जना भयो ? त्यो पनि खोज्नु पर्ने वेला भैसक्यो । तव अहिलेका विद्यार्थी भोलीका यूवाले नेपालमा आफ्नो भविष्य खोज्न सक्नेछन् ।
अन्त्यमा वातावरण शिक्षा नामक पुस्तक प्रकाशन गर्ने सत्प्रयास गर्ने डिभिजन वन कार्यालय राप्ती मनोहरी मकवानपुर धन्यवादको पात्र छ । वन कार्यालय भन्नासाथ वन प्रशासक भन्ने वुझाइ रहेको वेलमा यो खाल्को प्रयास नविनतम् हो ।

यस नविनतम् कार्यको अगुवाई गर्ने पुस्तकका प्रधान सम्पादक तथा डिभिजनल वन अधिकृत बिष्णु प्रसाद आचार्य धन्यवादको पात्र हुनुहुन्छ । यस खाल्को असल अभ्यासले निरन्तरता र विस्तार हुने अपेक्षा गर्न सक्ने अवस्था देखिएको छ ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *