राजेश उप्रेती, कार्यकारी निर्देशक, नाथम
नेपालको पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनको मुख्य केन्द्रको रूपमा सरकारी स्वामित्वको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत तथा देशको आर्थिक गतिविधिमा टेवा पु-याउने क्षेत्र हो । सोही पर्यटन क्षेत्रलाई चलायमान बनाउने र दक्ष जनशक्ति उत्पादनको कार्यकारी निर्देशको जिम्मेवारी राजेश उप्रेतीले सम्हालिरहेका छन् । उनै उप्रेतीसँग तामाकेशी सन्देश साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको अंशः
० नेपालको टुरिजम क्षेत्रमा नेपाल एकेडेमि अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) ले पुर्याएको योगदानहरु के के हुन् ?
नेपालको पर्यटन क्षेत्रको धेरै चर्चा परिचर्चा हुने गरेको छ । र, यो क्षेत्रमा केहि सुधारको कामहरु पनि भइराखेको छ । खासगरी टुरिष्टहरु नेपालमा आउँदा र फर्किंदा सजिलो होस् भन्ने कुरालाई हामीले प्राथमिकता दिनुपर्छ, जसका लागि सजिलो तरिकाले विमानस्थलमा आवतजावतको वातावरण बनाउनु पर्छ । त्यसपछि यहाँ आइसकेका टुरिष्टहरुलाई कसरी दक्ष जनशक्तिबाट सेवा दिने, कसरी हाम्रा पर्यटन उद्योगहरुलाई व्यवस्थित गर्ने अर्थात् कसरी पर्यटन उद्योगहरुले पर्यटकहरुको मन आकर्षित गर्न सक्षम हुन्छ आदि कुराहरुमा हामीले अझ बढि ध्यान दिनुपर्ने अवस्था नेपालमा छ । पर्यटन–पर्यटन भनेर मात्र पर्यटनको विकास हुँदैन । पर्यटनको विकास हुनको लागि निश्चित योजनाहरु चाहिन्छ । नेपाल एकेडेमि अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) दक्ष जनशक्ति उत्पादनको दुष्टिकोणले नेपालको पायोनियर इन्स्टिच्युट हो ।
गुणस्तरीय, कोर्ष कम्प्लिट र प्रशिक्षणको हिसाबले अरु इन्स्टिच्युट भन्दा नाथम धेरै राम्रो छ । अरु संस्थाहरुले दिएको तालिमहरुभन्दा यस संस्था अग्र पंक्तिमा रहेको छ । सेवाग्राहीको सन्तुष्टि नै नाथमको सन्तुष्टि हो । गाउँदेखि शहरसम्म दिने तालिमहरुमा स्तरीय व्यवस्थापन गर्नुपर्छ, जुन नाथमले गरेको छ । अहिले विभिन्न तालिम दिने संस्थाहरु त छन् तर तिनीहरुले निश्चित मेन्टेन नगरेको अवस्था छ । कुनै व्यक्तिले चाहे नाथमबाट वा अन्य ठाउँबाट लिएको तालिम होस तालिममा एकरुपता हुनुपर्छ । त्यसैले तालिमको नेतृत्व मन्त्रालयले गर्नुपर्ने देखिन्छ । ट्रेकिङ्ग गाइडको यति योग्यता हुनुपर्छ भनेपछि अहिले मन्त्रालयले सबैमा एकरुपता गर्यो । त्यस्तै कोर्स, ट्रेनिङ्ग आवरमा पनि एकरुपता हुनुपर्यो र ट्रेनिङ्ग रिसोर्स पर्सन पनि क्वालिटीका हुनुपर्यो ।
यि सबै कुराहरुको म्यानेजमेन्ट भयो भने मात्रै तालिम प्रभावकारी हुन्छ । त्यसमा हामी सबैले ध्यान दिनुपर्छ । खासमा देश बनाउने भनेको हामी सबै मिलेर हो, एउटा मन्त्री, पद, संस्था, सचिव, व्यक्तिले गरेर हुँदैन । टुरिजम व्यवसाय भनेको एउटाले गरेको गल्तिले अन्त पनि असर गर्छ है भन्ने हो । त्यसैले एक व्यक्ति वा संस्था कमजोर भयो भने त्यसले समग्र टुरिजम क्षेत्रमा असर गर्छ । भौतिक संरचना अन्य मन्त्रालयका विषयहरुले पनि टुरिजम व्यवसायलाई असर गर्छ । अर्को सुरक्षाको व्यवस्था राम्रो भयो भने मात्रै टुरिष्टहरु आएर बस्ने, घुमफिर गरेर जाने हो । त्यसैले सरकारलगायत सबैले देशलाई कसरी राम्रो बनाउने, टुरिजमलाई कसरी विकास गर्ने भन्ने सोच्नुपर्छ । धुवाँरहित उद्योगको रुपमा विश्वमा परिचित पर्यटन उद्योगको विकल्प छैन् ।
यो उद्योगबाट धेरै नेपालीहरु लाभान्वित भएका छन्, अझै पनि बढी नेपालीहरु यसबाट लाभान्वित हुने अवसर राज्यले सिर्जना गर्दै जानुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता पनि हो । नाथमले यि कुराहरुमा तालिम र शैक्षिक कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालमा भित्रिएका पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सधैं प्रतिबद्ध रहेको छ, रहन्छ र भविष्यमा पनि नाथमले अझ बढी आफ्ना क्रियाकलापहरुलाई सुधारेर लैजान सक्नुपर्छ । नेपालमा पर्यटन उद्योगको लागि दक्ष जनशक्ति उत्पादन गर्ने पायोनियर संगठन बनाउने क्रममा नाथम अगाडि बढ्छ । हाम्रो त्यहि अनुसारको नीति, कार्यक्रम, योजनाहरु भएका छन्, यो भयो भने अरु संस्थाहरुले पनि नाथमकै स्तरमा अथवा नाथमभन्दा अझ राम्रो स्तरमा गर्नुभयो भने त्यसमा मेरो शुभकामना छ । तर तालिममा एकरुपता हुनुपर्छ, शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत कार्यक्रम पाठ्यक्रम भएको हुनाले सबैले त्यसलाई नै पढाउने हो । त्यसलाई धेरैभन्दा धेरै व्यवहारिकतामा लैजानु पर्छ ।
० प्रतिष्ठानले कुन–कुन क्षेत्रमा कार्य गर्दै आएको छ ?
नेपाल पर्यटन तथा होटल व्यवस्थापन स्थापना २०२९ सालमा भएको थियो । तत्कालीन नेपाल सरकारले नेपालको पर्यटन क्षेत्रका लागि पर्ने दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम केन्द्रका रूपमा यो संस्थाको स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा होटल म्यानेजमेन्ट तथा टुरिजम ट्रेनिङ सेन्टरको नाममा यो संस्था स्थापना भएको हो । स्थापनाकालदेखि नै यो संस्थाले होटल, ट्राभल, ट्रेकिङ क्षेत्रका विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आयो । नेपालको पर्यटन बजारले विस्तारै गति दिन थालेपछि छोटो समयको तालिमले मात्र नेपालको बढ्दो क्रममा रहेको पर्यटन बजारलाई दक्ष जनशक्ति विकास गर्न नसक्ने ठहर गरी पाठ्यक्रमअनुसार नै त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सन् १९९९ देखि ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम), २००३ देखि बीटीएम र सन् २०११ मास्टर्स इन हस्पिटालिटी म्यानेजमेन्ट सुरु भयो ।
स्थापनाकालदेखि हालसम्म करिब ५५ हजार जनशक्ति उत्पादन भएका छन् । केही वर्षअगाडि प्रतिष्ठानले गरेको अनुसन्धानको नतिजा अनुसार यहाँबाट उत्पादित ९५ प्रतिशत जनशक्तिले प्रतिष्ठित रोजगारी पाएको जनाएको छ । नेपाललगायतका विश्वका विभिन्न देशमा सहायकस्तरको व्यवस्थापनमा रहेर काम गरिरहेका छन् । टीयूसँगको सहकार्यमा शैक्षिक सत्र चलाएको करिब–करिब २३ वर्ष पूरा हुने क्रममा छ ।सन् १९९९ मा ब्याचलर सुरु भएपछि नै तत्कालीन अवस्थामा नै एचएमटीटीबाट नाथमको नाममा परिवर्तन भयो । नेपालको हस्पिटालिटी क्षेत्रमा नाथमको छुट्टै पहिचान बनाउन सफल भएको छ । पूर्णरूपमा सरकारी स्वामित्वको यो संस्था २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । संस्थाले अध्ययन अनुसन्धान तथा खोज गर्दै आएको छ । संस्थाले सीपमूलक तालिम, शैक्षिक कार्यक्रम चलाउने, पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने खोज अनुसन्धान र परामर्शका काम गर्दै आएको छ ।
० नेपालमा टुरिजम क्षेत्रमा गर्नुपर्ने पहलहरू के के हुन् ?
टुरिजम व्यवसायको एउटा मूलभूत नारा भनेको आफ्नै लागि असल बन्ने भन्ने हो । यो महामन्त्रलाई नेपालले लागू गर्नुपर्छ । सबै नेपालीले सोचेर आ–आफ्नो क्षेत्रमा लागू गर्ने हो भने नेपालको टुरिजमको भविष्य एकदम उज्ज्वल छ । टुरिजम क्षेत्रको विकासले नै देशले समृद्धिको फड्को मार्न सक्छ । अझै पनि गाउँठाउँमा पर्यटकहरु पुर्याउन सकिएको छैन, त्यसको लागि टुरिजम डेस्टिनेशनको लागि पनि विस्तृतिकरण, विविधिकरण गर्नुपर्यो, त्यसका साथसाथै नेपाल आएका टुरिष्टले नेपालमै उत्पादन भएका खाना खुवाउने भन्ने सोच नाथमले पनि लिन्छ, अरुले पनि लिनुपर्यो । नेपाल आएको टुरिष्टलाई अमेरिकाबाट खानेकुरा यहाँ ल्याएर खुवाउने होइन ।
हाम्रो यहाँको खानालाई मोडिफिकेशन गरेर मिठो बनाएर मार्केटमा लाने नाथमले सोच राखेको छ, त्यसैगरी अरु निजि क्षेत्रका संस्थाहरुले पनि यसमा सोच राख्नुभएको छ । उहाँहरुसँग सहकार्य गरेर कसरी नेपाली खानालाई मोडिफिकेशन गर्ने, त्यसलाई मिठो बनाउने, स्वस्थकर बनाउने र टुरिष्टहरुलाई सप्लाई गर्ने भन्ने सोच हामीले गरेका छौं, जसलाई टुरिजम क्षेत्रमा लागेका प्रत्येकले लागू गर्नुपर्छ । युनिक तरिकाको विदेशीलाई मनपर्ने लोकल खाना नेपालमा छ भन्ने सन्देश हामीले दिनुपर्ने हुन्छ ।
नेपालमा घुम्ने फिर्ने मात्रै होइन कि खाना पनि त्यस्तै किसिमको बनाउनु पर्यो । आन्तरिक टुरिष्टहरु पनि हाइजेनिक खानालाई नै रुचाइएको अवस्था छ । अबका दिनमा हामीले नेपाली खानालाई विकास गर्ने प्रयास पनि गर्छौ । नेपाली खानालाई कसरी विकसित गर्ने भन्ने तिर नाथमले सोच बनाएको छ । जस्तोः सोल्टीलगायतका होटलमा नेपाली खाना भनेपछि दिनसक्ने हैसियत हुनुपर्यो । त्यसैले टुरिजममा एउटा कुराको मात्रै नभएर समग्रको विकास हुनुपर्यो । त्यस्तै, एकपटक एयरपोर्टमा ट्याक्सी ड्राइभरले राम्रोसँग पिकअप नगरेका कारणले नेपालमा आएका टुरिष्टहरु अबदेखि नेपालमा नआउने भनेर फर्किए भन्ने खालका कुराहरु सुनियो ।
तिनलाई पनि हस्पिटालिटी सम्बन्धी तालिम दिनुपर्ने देखिन्छ । एयरपोर्टमा सिधैं टुरिष्टसँग सम्बन्धित ट्याक्सी ड्राइभरहरुलाई तालिम दिने, टुरिष्ट बस ड्राइभरहरुलाई तालिम दिने सोच हामीले राखेका छौं । यसमा खासगरी ट्याक्सी संघलगायतले पनि चासो दिनुपर्छ । विभिन्न संघ संस्थालगायतले अफू दक्ष बन्न वा आफ्नो हितको लागि नाथमसँग सहकार्य गरेर तालिमहरु लिनुपर्छ । अर्कोतिर टुरिजमको विकास गर्ने हो भने सबै मन्त्रालयले सहकार्य गरेर निजि क्षेत्रका संस्थाहरुले पनि सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन् ।
० यहाँबाट उपाधि प्राप्त गरेका विद्यार्थीको कार्य क्षेत्र कहाँ, कसरी तय हुँदै आएको छ ?
यहाँबाट उपाधि पाएको विद्यार्थीले प्रतिष्ठित संघसंस्थामा रोजगारी प्राप्त गरेका छन् । सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानबाट अभ्यस्त भएर यहाँका विद्यार्थीले उपाधि प्राप्त गर्ने हुँदा यहाँका विद्यार्थी पर्यटन क्षेत्रले पहिलो प्राथमिकतामा राख्ने गरेको छ । विश्व बजारमा पनि होटल, एयरपोर्ट, ट्राभल कम्पनीहरूमा यहाँका विद्यार्थीले प्रतिष्ठित रोजगारी प्राप्त गर्दै आएका छन् । यसरी हेर्दा यो संस्थाको क्वालिटी दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । हामीले प्रयोगात्मक, गुणस्तरीय, अनुशासित वातावरणमा विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएका छौं । गुणस्तर शिक्षा प्रदान गर्नका लागि हामीले कुनै किसिमको कसर बाँकी नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै आएका छौं ।
० पर्यटन विकासको लागि शैक्षिक कार्यक्रमहरु के कस्ता रहेका छन् ?
कतिपय कलेजहरुमा विद्यार्थीहरुको कमजोरी भनेको उनीहरुको प्राक्टिकल कमजोरी हो । विद्यार्थीहरुलाई प्राक्टिकलमा सहभागी गराउनु पर्छ । अहिले नेपाल अधिराज्यभरि करिब सयभन्दा बढी टुरिजमसँग सम्बन्धित कलेजहरु स्थापना भइसकेका छन् । प्राक्टिकल फिल्डमा सबै विद्यार्थीहरुको सहभागिता हुनुपर्छ, यसलाई धेरै भन्दा धेरै प्राक्टिकलमा लानुपर्यो । जसले गर्दा विद्यार्थीहरुले राम्रोसँग सिक्छन् र भविष्यमा नेपालमा आउने टुरिष्टहरुले दक्ष जनशक्तिबाट सेवा पाउँछन् । पर्यटन क्षेत्र हस्पिटालिटी व्यवसाय पनि हो ।
हामी कुनै न कुनै रुपमा घरमा आएका पाहुनाहरुलाई सत्कार गर्नुपर्ने, आफ्नै घरका मान्यजनहरुलाई पनि सत्कार गर्नुपर्ने संस्कृतिमा हुर्केकाले त झन यो हस्पिटालिटी व्यवसाय भनेको असाध्यै महत्वपूर्ण व्यवसाय हो । त्यसमा पनि जानेर हाइजेनिक मेन्टेन गर्ने गर्यो भने त झनै राम्रो हुन्छ । यसै सिलसिलालाई मध्यनजर गर्दै नाथम २२ किसिमको तालिमहरु संचालन गर्ने योजनामा छ । यसमा हाउसमेड तालिम पनि छ । निजामति सेवाका महिला कर्मचारीहरुलाई लक्षित गरेर यो तालिम राखेको हो । उहाँहरुले घर हेर्नुपर्ने, अफिस जानुपर्ने आदिलाई मध्यनजर गर्दै उहाँहरुको थोरै समयमा कसरी व्यवस्थित रुपले काम गर्ने भन्ने हामी सिकाउँछौं, जुन तालिम हामीले यो वर्ष गरायौं । सबै किसिमका नागरिकहरुलाई हामीले तालिम दिने गर्छाैं, पत्रकारहरुलाई पनि तालिममा सहभागी गराउने योजना बनाएका छौं ।
० नाथमलाई हस्पिटालिटी क्षेत्रको विश्वविद्यालयका रूपमा विकास गर्ने गरी प्रक्रिया अगाडि बढेको थियो । यो प्रक्रिया कहाँ पुगेको छ ?
तत्कालीन समयमा स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको कार्यकालमा नेपालमा पर्यटन विश्वविद्यालय चाहिन्छ । सोहीअनुसार सबै क्षेत्रको सरोकारवाला निकायको सुझावलाई लिएर विधेयकको मस्यौदा तयार भएर मन्त्रालय तहसम्म पुगेको थियो । पछि मन्त्रिपरिषद्मा पुगेर विश्वविद्यालय हेर्ने शिक्षा मन्त्रालय भएकाले गर्दा रायका लागि फिर्ता भयो । त्यसपछि हस्पिटालिटी विश्वविद्यालय बनाउने एजेन्डा अगाडि बढ्न सकेको छैन । यसरी विश्वविद्यालयका रूपमा प्राथमिकता नपाएपछि विश्वविद्यालय स्तरकै काम गर्ने गरी प्रतिष्ठानकै मोडेलमा जाने तय भयो र यसको पनि ऐन तयार भएर मन्त्रालयमा पुगेको अवस्था छ ।
विश्वविद्यालय बनाउनका लागि चाहिने पूर्वाधारको तयारी भने थालिएको छ । कक्षा कोठामा चाहिने आधारभूत सामग्री, फ्याकल्टी डेभलपमेन्टको विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँगको सहकार्य अगाडि बढाएका छौं । यो वर्षदेखि सहकर्मीका लागि प्रत्येक वर्ष एमफिलको ३ लाख र पीएचडीका लागि ५ लाख रुपैयाँ स्कलरसिप प्रदान गर्ने निर्णय गरेका छौं । विश्वविद्यालयका रूपमा विकास गर्ने गरी मास्टर प्लान बनाउन बोर्डबाट स्वीकृत गरेका छौं ।
० पर्यटन क्षेत्रलाई नै आधार बनाएर काम गरिरहेका परिवारका सदस्यको आकर्षण छ कि अन्य वर्ग, क्षेत्र र समुदायको पनि उत्तिकै आकर्षण छ ?
हामीले यसरी वर्ग समुदाय नै छुट्याएर डाटाबेस बनाएका छैनौं, तर चाँडै नेपाली कुजिनको डेटा बेस बनाउँदै छौं । फेमिली बिजनेस गर्ने अभिभावकहरूले आफ्नो बच्चालाई यो क्षेत्रमा पढ्न पठाउनुभएको छ भने पर्यटकीय सम्भावना भएका क्षेत्रका विद्यार्थीहरूको आकर्षण बढिरहेको छ । पर्यटन क्षेत्रलाई नै आधार बनाएर विभिन्न व्यापार व्यवसाय गर्दै आउनुभएका परिवारका सदस्यहरूले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन गरेको देखिन्छ ।