नक्कली मदिराका कारण नेपालीको ज्यान खतरामा

राजनीति समाचार

काठमाडांै । तत्कालीन सरकारले विलासिताका सामान नेपालमा भित्र्याउन निरुत्साहित गरेपनि त्यसले प्राथमिकता पाइरहेको छ । यसको उदाहरण विदेशबाट लुकीछिपी भित्र्याइने विभिन्न ब्राण्डका महंगा मदिराहरु बजारमा छ्यापछ्यापी छन् । यसरी भित्र्याइएका विदेशी मदिराको स्टिकर र होलोग्रामको नक्कल गरी विभिन्न ब्राण्डका नक्ली मदिराहरु बजारमा बेचविखन गर्दै आएको समाचार तामाकोशी सन्देशले धेरै पहिलादेखि सम्प्रेषण गर्दै आएको थियो ।

तामाकोशी सन्देशले यसरी समाचार सम्प्रेषण गरे तापनि सम्बन्धित निकायले त्यसप्रति खासै ध्यान दिएको थिएन । अहिले पनि नेपालमा उत्पादित विभिन्न ब्राण्डका मदिरा कम्पनीहरुले विदेशी रक्सीको डिजाइन अनुसार नक्कल गरेर मदिरा विक्रीवितरण गर्न थालेका थिए । त्यसको विभिन्न सञ्चारमाध्यमहरु आकर्षक विज्ञापन प्रकाशित, प्रसारित गरेर नेपालीहरुलाई ठग्ने काम गरिरहेका थिए । त्यस्ता विज्ञापन प्रायःजसो ठूला दैनिक पत्रपत्रिकाहरुमा पहिलो पृष्ठ र अन्तिम पृष्ठमा प्रकाशित गरेर जनतामाझ भ्रम फैलाउने काम गरेका थिए ।

नेपाल सरकारले धुम्रपान र मदिराजन्य पदार्थको विज्ञापन सञ्चारमाध्यमले गर्न नपाउने भनेर प्रतिबन्द लगाए तापनि मदिरा उद्योगहरुले ठूला–ठूला दैनिक र म्यागेजिन पत्रपत्रिकामा पाना भरिभरिका विज्ञापन छपाउँदै आएका छन् । यसरी सरकारले प्रतिबन्द लगाएका धम्रपान र मदिराजन्य पदार्थको विज्ञापन सञ्चारमाध्यमहरुमा छ्यापछ्यापती आउँदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन । यतिखेर बजारमा उक्त विज्ञापनको आडमा मदिराजन्य पदार्थहरुको विक्रीवितरणले ठाउँ पाएको छ ।

यसरी विभिन्न खुद्रादेखि होलसेल रक्सी पसलहरुमा नक्कली रक्सीहरु विक्रीवितरण भइरहँदा पनि राज्यका उच्च निकायहरु मुकदर्शक भएर बसेका छन् । ती रक्सी पसलेहरुले अधिकांश नेपालीहरुलाई महंगो मूल्य लिने र नक्कली ब्राण्डका रक्सिहरु विक्रीवितरण गर्दै आएका छन् । खासगरी सबैभन्दा बढी विक्री हुने रक्सीमा सिजन अनुसार जाडोमा विभिन्न रम, गोल्डेनवक, सुस्लान भोड्का, खुकुरी रम, बुयुडाइमन, जिन, ८८४८, एन्टीक्वीटी, सिग्नेचर, रोयलस्टेग, जस्ता विभिन्न ब्रान्डका मदिरा यतिखेर पार्टी प्यालेस, भोजभतेर, पिकनिक, होटेल, रेष्टुरेन्ट जस्ता ठाउँमा बढी मात्रामा विक्रीवितरण हुने गरेको छ ।

यो सँगै बढी डान्सबारमा प्रयोग गरिन्छ र महंगो मूल्य राखी बिक्री वितरण गरिन्छ । साथै, होटेल व्यवसायीहरुले चर्को मूल्य लिएर बेच्ने गरेका छन् । ती होटेल, रेष्टुरेन्टहरुले जब मानिस मदिराले मात्तिँदै जान्छन् अनि बिल बढाउन थाल्छन् । त्यसमा पनि नक्कलीमाथि झन् नक्कली थपिदिन्छन् र यति खानुभयो, उति खानुभयो, फलानाले मगाउनुभयो, ढिस्कानाले मगाउनुभयो भन्दै बिल बढाएर तेस्र्याउने गर्दछन् । यसरी सधैं आउने ग्राहकहरुलाई ठगी गर्ने व्यापारीहरुलाई राज्यका कुनै निकायले ध्यान दिने गरेको पाइँदैन ।

त्यति हुँदाहुँदै पनि गत माघ १५ गते नेपाल प्रहरीले सक्कली होलोग्राम र स्टिकर लगाएर नक्कली मदिरा बिक्रीवितरण गर्नेहरुलाई रंगेहात समातेको थियो । यति मात्रै नभएर काठमाडौं उपत्यकादेखि देशका विभिन्न भागमा विक्रीवितरणमा राखिएका मदिराहरु अधिकांश नक्कली भएको पाइएको छ । त्यसले उपभोक्ताको जीवनमा कति ठूलो असर गर्ने हो भन्नेतिर कुनै पनि निकायले ध्यान दिएको पाइँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *