आइजीपी धिरजलाई अख्तियारमा मुद्दा, दीपक भट्ट मिलाउन व्यस्त

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र अहिले यतिखेर भाडभैलो हुन थालेको छ । अहिलेका आइजीपी धिरजप्रताप सिंहको जागिर चैतमा सकिँदै छ । अहिले एआइजीमा रहेका व्यक्तिहरु पनि उमेरहदको कारण चैतभित्रै विदा हुँदैछन् । भावी आइजीपीको लागि अहिलेदेखि नै आइजीपी हुने दौडमा डीआइजीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । सरकारले कुन डीआईजीलाई आइजीपी बनाउने हो एकिन छैन । तर, यतिखेर आइजीपी धिरजप्रताप सिंहलाई भ्रष्टाचार मुद्दाले पिरोल्न थालेको छ ।

गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनको लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दा डे«स र जुत्तामा लाखौं भ्रष्टाचार गरेको आरोप लागेपछि आइजीपी धिरज प्रताप सिंह अख्तियारको जालमा फस्दैछन् । अहिले आइजीपी धिरजप्रताप सिंहले अख्तियार प्रमुख प्रेमकुमार राइलाई हप्तामा एकचोटी जसरी पनि भेट्ने र चाकडी गर्ने गर्दै आएका छन् । यस्तै गरी उता अख्तियारमा परेको आइजीपीको मुद्दा मिलाउन दीपक भट्ट लागिपरेका छन् । अहिले दीपक भट्टको अख्तियारमा हालीमुहाली चलिरहेको बताइन्छ ।

यतिखेर गृहमन्त्री पनि नभएको मौका छोपी आफूले गरेको विकृति, विसंगति र भ्रष्टाचारलाई ढाकछोप गर्न आइजीपी धिरजप्रताप सिंह लागिपरेका छन् । प्रहरीभित्रका यस्ता भ्रष्टाचार र अनियमितताका घटनाहरु नौला होइनन् । विगतका आइजीपीहरु ठूलठूला भ्रष्टाचारका मुद्दामा मुछिँदै आएका थिए । र, हालका आइजीपी धिरज प्रताप सिंह भ्रष्टाचार काण्डमा मुछिनबाट अछुतो रहेनन् । तर, तत्कालीन सरकारले धिरजप्रताप सिंहलाई आइजीपी बनाएको थियो । धिरजले प्रहरी संगठनभित्र राम्रो छवि बनाउन सकेका छैनन् ।

यतिखेर उनी म्यादी प्रहरीको ड्रेस र जुत्तामा भ्रष्टाचार गरेको ठूलो मुद्दामा मुछिँदै छन् । आइजीपी घर जाने बेलामा उनीलाई भ्रष्टाचारको मुद्दा लाग्ने भएको छ । आइजीपी धिरजले आफ्नो मुद्दा अख्तियारले तामेलीमा राख्दाखेरी प्रहरी संगठनभित्रै विरोध भएको थियो । सो भ्रष्टाचारको मुद्दा बाहिर ल्याउनुपर्छ भनेर प्रहरीकै उच्च निकायका अधिकारीहरु लागिपरेका थिए । यस्तै भावी आइजीपीको लागि केही डीआइजीदेखि एआईजीसम्मले राजनीतिक दलका नेतादेखि विभिन्न शक्तिकेन्द्रहरु धाउन थालेका छन् ।

नेपाल प्रहरीभित्र जब आइजीपीको उमेरहदको कारण अवकास हुने बेला हुन्छ अनि प्रहरीहरुबीच एकले अर्काको विरोध गरेर खुट्टा तान्ने र बदनाम गराउने काम सुरु हुन्छ । प्रहरी संगठनभित्रकै कमीकमजोरीको कारण राजनीतिक दलहरुले पनि खेल्ने गरेका छन् । त्यहीं कमजोरीका कारणले पैसाको ठूलो चलेखेल पनि हुने गरेको पाइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *