कसको पक्षमा होला सहमति ?
काठमाडौं । नेपालको राष्ट्रपतिमा राजनीति पाटोका कुनै न कुनै कोणमा अडिनुपर्छ । राष्ट्रपति नेपालको, चासो भने भारतको किन हुन्छ ? भारतको राजनीतिमा को अगाडि, को पछाडि हुन्छ नेपालले चासो राखेर भारतको निचोड निस्कँदैन । तर भारत भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न कुनै ठाउँ बाँकी राख्दैन ।
भारतीय शासक पक्षले सीमा क्षेत्रको हस्तक्षेप कहिल्यै रोक्दैन । कालापानी, लिम्पियाधुरा, सुस्ता, मानेभञ्ज्याङको सीमा अतिक्रमण भएका छन् । सत्तामा पुग्न बडो राष्ट्रवादी बन्ने, सत्ता पाएपछि लम्पसारवादमा रमाउने गरेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको अहिलेको दाउ आफु अनुकूलको राष्ट्रपतिको खोजीमा छन् ।
उता भारतले भने कांग्रेसका कृष्ण सिटौला र लोसपाका महन्थ ठाकुरलाई साथ लिने पक्षमा छ । देशका ठुला दल एमाले र नेपाली कांग्रेस बिचमा कुरा मिल्दा ठाकुर र सिटौलामध्ये जो भएपनि भारत सहमत हुनेछ । नाम त एमालेका डोरमणि पौडेल, विष्णु रिजाल, सुभास नेम्वाङ, अष्टलक्ष्मी शाक्यसम्मको नाम छ । ईश्वर पोखरेललाई सेनाले पत्याउँदैन भनिन्छ ।
पोखरेलेको उनको नाम आयो, ल्याइयो । उनी विगतमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्दा तड्पिएको सेनालाई पनि गिजल्याउने काम अध्यक्ष केपी ओलीले गर्ने छैनन् । एमालेका अध्यक्ष ओली राष्ट्रपतिको विषयमा बारम्बार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार धाइरहेका छन् ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेद्वारी दर्ता हुँदैछ । भारतीय हस्तक्षेपले सबैतिर तरंग ल्याएको छ । भारतको रुची महन्थ र सिटौलामध्ये कसलाई हुन्छ यो बेला छर्लंग हुन्छ । कांग्रेसले ढोक्सा थाप्दा एमाले आतंकित छ । एमालेभित्र सामुहिकता छैन भनिँदैछ । ओली एकल ढोक्सा फैलाउन दाउमा छन् । माओवादी अध्यक्ष प्रचण्डले सहमति तोड्ने हुन् कि भन्ने शंका छ । प्रचण्डको रुची कृष्ण सिटौला र महन्थ मध्ये जो भएपनि स्वीकार्य हुन सक्छन् । माओवादीले यो बेला आफु मातहतका प्रतिष्ठानहरुमा भरिभराउ गर्न थालेको छ ।
संचार क्षेत्रको आवाजले राजनीतिमा तरंग पनि ल्याउँछ । अहिले भारतको मात्र होइन, चिनियाँ कार्ड र अमरिकी कार्डका मान्छेहरु पनि लबिङमा छन् । चीन, भारत, अमेरिकी मात्र होइनन्, बेलायतको समेत यो सरकार बनेपछि उच्चस्तरीय टोलीको नेपाल भ्रमण गराएका छन् । चीनले यो सरकार बनेकै भोलिपल्ट कोरोना कहर देखि बन्द रसुवागढी नाका खोल्यो ।
तातोपानी नाका खोल्ने तयारीमा छ । चिनियाँ कम्युनिष्ट कांग्रेसको टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिन आएकै बेला त्यो नाका खुलेको हो । नेपालका वामपन्थी दलहरुलाई एक बनाउन चीनको चासो बढी छ । तर भारतीय पक्ष भने यो देशका वामपन्थी एक हुन नदिने योजनामा लागेको छ ।
कांग्रेसकै नेतृत्वको कारण विभाजित तत्कालीन सत्ता गठबन्धन जुटाउन कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई मात्र विश्वासको मत दिएन, माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्याललाई समेत निर्विरोध गरायो । यस्तो स्थिति प्रदेश तहका कुनै पनि स्थानमा जहाँ माओवादीका उम्मेद्वार छन्, तिनलाई सर्वसम्मत हुने वातावरण बनायो । विगतको गल्ती सच्याउन कांग्रेस त्यो बेला बाध्य भएको थियो, जुनबेला प्रचण्डले विश्वासको मत दिन पुग्यो । भारत अहिले कांग्रेसकै पक्षमा छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा पनि शान्ति प्रक्रियामा सहयात्री भएकाले कृष्ण सिटौला माओवादीको पनि स्वीकृत पात्र बन्न सक्छन् । लोसपाका महन्थ ठाकुर पनि कांग्रेसका निम्ति सहज भारतका विश्वास पात्र नेताका रुपमा परिचित पात्र हुन् । भारतले यी दुई पात्रमध्ये जसलाई अगाडि सार्छ, त्यसमा एमालेका अध्यक्ष ओली नै हुन्न भन्न सक्ने अवस्था छैन ।
ओली देखावटी राष्ट्रवादी भित्रभित्र भारतीय समर्थक विश्वासिला पात्र मानिन्छन् । किनभने विगतमा राष्ट्रघाती महाकाली सन्धी एमालेकै पहलमा भयो । त्यो सन्धीले नेपाललाई केही दिएन । भारतले लिम्पियाधुरा, लिपुलेकजस्ता भुभाग आफ्नो नक्सामा देखायो ।
तर नेपालको कम्युनिष्ट सरकारले संविधानबाटै चुच्चे नक्सा जारी गरेपनि त्यो नक्सा समेटिएको पाठ्यपुस्तक छापेर शिक्षा मन्त्रालयमै डम्पिङ गर्ने काम पनि गरेकै छन् । कम्युनिष्टको राष्ट्रवाद यहाँ उदांगो भएकोले नेकपा एमालेका अध्यक्ष केपी ओलीको घमण्डको अर्थ रहने अवस्था देखिँदैन । किनकी एमालेमा केपीको दास बनेर फाइदा लिने छट्टुहरुको सपनामा धक्का लाग्न सक्छ । (तामाकोशीसन्देशबाट)