शक्तिको आडमा कर्मचारी नेताको मन्त्रालयमा थमौती

राजनीति समाचार

काठमाडौं । हालैमात्र उपसचिवमा बढूवा भएर माधव नेपालको गृह जिल्ला रौतहटको गौर नगरपालिकामा पदस्थापन गरिएका मोहन घिमिरे सिंहदरबार नछाड्नका लागि लबिङमा छन् । अन्य उपसचिवहरु खटाइएको ठाउँमा हाजिर भइसक्दा समेत घिमिरेलाई दिनदिनै सिंहदरबारतिरै भेटिन्छ । उपसचिवमा बढुवा भएपछि प्रमुख जिल्ला अधिकारी ताकेर बसेका उनी प्रमुख जिल्ला अधिकारी भन्दा निकै तलको मानिने प्रमुख प्रशासकीय अधिकारी बनाएर खटाइएसँगै सो ठाउँमा नजानका लागि माधव नेपालमार्फत प्रयास गरिरहेका छन् । त्यहाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुवाष कुमार ठाकुर कार्यरत छन् ।

एक कार्यकाल एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष चलाएका र एमाले पार्टी फुटेपछि एकीकृत कर्मचारी संगठनका अध्यक्ष खाएका घिमिरे कर्मचारी संगठनको बलमा सिंहदरबार छाड्न नचाहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । अहिले सिंहदरबारका हरेक मन्त्रालयमा सरुवाको खेती नै चलिरहेको छ । प्रचण्ड प्रधानमन्त्री बने यता ११ जना सचिव हेरफेर भइसकेका छन् । कर्मचारीहरुलाई त भकुण्डो नै बनाइएको छ ।

गृहले किस्ता किस्तामा गरी सिडिओसहित ८० भन्दा बढी कर्मचारीको सरुवा गरिसकेको छ भने सामान्य प्रशासनले किस्ता किस्तामा गरी उपसचिव तहका कर्मचारीहरुमात्र ५० हाराहारी कर्मचारी सरुवा गरिसकेको छ । अहिले प्राविधिक कर्मचारीहरुको सरुवा गर्ने समय नभए पनि भौतिक पूर्वाधार मन्त्रालयले एकै पटक २० जना सहसचिवहरुलाई सरुवा गर्न भ्याइसकेको छ । अर्थले मातहतका एक दर्जन सहसचिवलाई चलाइसकेको छ । यस्तो सरुवा हरेक मन्त्रालयमा देख्न पाइन्छ । यसरी सरुवा भएकामध्ये अधिकांश कर्मचारीहरु सिंहदरबार छाडेर तल नजानका लागि लबिङ तिव्र पारिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएइको छ ।

घिमिरे आधिकारिक ट्रेड युनियनको आडमा विगत १५ बर्षदेखि पर्यटन मन्त्रालयको आन्तरिक शाखामा बसेर तर मार्दै आएका थिए । खरिद,विक्रीदेखि कर्मचारी,सरुवा बढूवामा समेत उनको उठ्ती पुट्ती डरलाग्दो थियो । हालैमात्र २८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन हुँदा सिंहदरबार छोडेर स्थानीय तहमा जानुपर्ने भए पछि उनले आफ्नो सरुवा नै उल्टाउन सक्रिय रहेको स्रोतको दावा छ । माधव नेपालको नजिक रहेर काम गरेको नाताले उनी सिंहदरबारतिरै फर्कन जोड गरिरहेका छन् ।

उसो त कुनै समय केपी ओलीका नजिक रहेका र अहिले केपीको बालकोट निवास बन्दजस्तै अबस्थामा पुगेका पुण्य ढकाल उपसचिवमा बढूवा हुने वित्तिकै प्रमुख जिल्ला अधिकारी बनेर खटाइएको थियो । कुनै समयमा वैदेशिक रोजगार विभागमा हुँदा मोजामा पैसा लुकाएर खाने भनेर चिनिएका नवराज जैसी लोकसेवा आयोग हुँदै गृहमा पुगेर कर्मचारी प्रशासनमा बसे र रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी खाए । अहिले फर्किएर अर्काे मालदार मानिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा निर्देशक छन् । उपसचिवमा बढुवा हुनु अघि उनी काँग्रेस निकट कर्मचारी संगठनका सचिव थिए ।

ट्रेड युनियनकै बलमा भोला पोखरेलले सिंहदरबार छोडेर तल जानु परेन । स्थानीय तहमा भएको सरुवा पनि उल्टाएर सिंहदरबारमै हाजिर भए । उनीजस्तै स्थानीय तहमा खटिनुपर्ने भए पछि एमाले निकट कर्मचारी संगठनमा अध्यक्ष हुँदा केदार देवकोटा नक्कली विरामी रिर्पोट बनाएर सिंहदरबार छोड्नु परेन । यसरी एक पछि अर्का कर्मचारीका नेताहरु सिंहदरबारभित्रै बसेर जागिर खाइरहेको स्थितीमा मोहनलाई रौतहटतिर खटाइएपछि उनी सरुवा उल्टाउन लागि परेका छन् । उसो त यसरी सरुवा थमौतीका लागि मन्त्री अमनलाल मोदी र मेवा सचिवका रुपमा आलोचित कृष्णहरि पुष्करकोमा धाउनेको लाइनै लाग्न थालेको छ सिंहदरबारतिर ।

उनीहरु बिहानैदेखि मन्त्री र सचिवको कार्यकक्षमा अड्डा चाकडी गर्न तल्लीन छन् । तर लामो समयसम्म सिंहदरबारमा बसेर राज गर्दै आएका कर्मचारीहरु सरुवा रोक्नका लागि दौडधुपमा लागेका हुन् । उनीहरुले विभागीय मन्त्रीदेखि सचिव र शक्तिकेन्द्रमार्फत भनेर आफ्नो पक्षमा लबिङ गराउन लागेका हुन् ।

उता जसरी गृहले आफैंले बनाएको मापदण्ड कुल्चेर सिडियोहरुको सरुवा गरेको थियो उही ढंगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत कर्मचारीको सरुवा गरेको भन्दै कतिपय जनप्रतिनिधिहरुले आक्रोश पोखेका छन् । त्यसरी आक्रोश पोख्नेमध्यका एक हुन,गजेन्द्र महर्जन । महर्जन,ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यहाँ नयाँ कर्मचारी पठाएपछि मेयर महर्जनले आपत्ति पोखेका छन् ।

सामान्यले आफैंले जारी गरेको परिपत्रको मसी नसुक्दै आफ्नो कर्मचारीलाई विना कारण सरुवा गरेको भन्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रै लेखेर मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराउन नसक्ने उनले तामाकोशी सन्देशलाई सुनाए । संघीय मामिला तथा सामान्य प्रशासनले अवधि नपुगी कुनै पनि कर्मचारीको सरुवा नगर्न परिपत्र गरेको भए पनि १४ महिनामै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालालाई फिर्ता बोलाएर त्यहाँ श्रीधर के.सी.लाई खटाएको थियो ।

श्रीधर शहरीमा कार्यरत थिए । यसरी आफ्ना कर्मचारीलाई अपर्झट मन्त्रालयले फिर्ता बोलाएर नयाँ कर्मचारी खटाएको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्रै लेखेर नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसकिने जनाएका हुन । उनले भने,‘कि त कर्मचारीलाई सरुवा गर्नका लागि उसले केही बदमासी गरेको हुनुपर्यो ।

वा त न्यूनतम समय अवधि (दुई बर्ष)पूरा भएको हुनुपर्यो वा कार्यालयलाई केही नोक्सान गरेको वा काण्डमा फसेको हुनुपर्यो । राम्रो काम गरिरहेको कर्मचारीलाई हठात किन हटाउने ? मैले व्यक्तिको कुरा गरेको होइन,सिष्टमको कुरामात्र गरेको हुँ । त्यसमाथि अहिले नयाँ बजेट निर्माणका लागि तयारी भइरहेको छ ।

अरुलाई सिष्टम सिकाउने मन्त्रालयले आफू चाहिँ सिष्टममा हिड्नु पर्दैन् ? कोही पालिकाकालाई काखा र कसैलाई पाखा गरिएको प्रति’ समेत मेयर महर्जनले असन्तृष्टि पोखेका छन् । जस्तो सूर्य विनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत साढे २ बर्षदेखि एकै व्यक्ति कार्यरत छन् । गोदावरी नगरपालिकामा चाहिँ एक बर्षमै किन कार्यकारी फेरिनुपर्ने ?’(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *