‘चोरलाई चौतारो साधुलाई सुली’ उखान चरितार्थ

राजनीति समाचार

काठमाडौं । अख्तियार,वैदेशिक रोजगार होस वा नेपाल ट्रष्ट जहाँ पुग्यो भ्रष्टहरुको दिल,दिमागमा कम्पन हुने गरी काम गर्दै आएका सहसचिव भिष्म कुमार भुषाललाई गृहबाट लखेटेर मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर मिल्काइएको छ । गरिब किसानमारा मिटरव्याजीका विरुद्ध निर्मम रुपमा काम गरेको पुरस्कारस्वरुप उनलाई त्यता लखेटिएको अहिले गृहकै कर्मचारी वृत्तमा व्यापक चर्चा छ ।

डा भीष्मकुमार भुषाललाई गृहबाट प्रदेशतिर लखेटिँदा शक्तिका पूजारी र अनेकन फण्डामा मुछिएका झलकराम अधिकारीलाई गृहमा भित्राइएको छैन् रातारात अध्यागमनको डिजी बनाउने काम तमाम पारिएको छ । गृह स्रोतका अनुसार आइतबारै उनको सरुवा अध्यागमनमा फिट गराइएको छ । उनलाई अध्यागमनमा फिट गराउनकै लागि ६ महिना अवधिमात्र अध्यागमनमा कमाण्ड सम्हालेका ऋृषिराम तिवारीलाई गण्डकी प्रदेशतिर लखेटिएको छ ।

जबकी अध्यागमन मानव बेचबिखनका लागि कडा रुपमा काम गर्नुपर्ने ठाउँ हो । जागिरे जीवनमा जहाँ जहाँ रहन्छन्,त्यही विवादमा मुछिएका छन् अधिकारी । प्रचण्डका गाउँले अधिकारी यस अघि राजश्व अनुसन्धान विभागका डिजी थिए । आरजु राणा फष्ट लेडी हुँदा मोटो रकम भेटी चढाएर उनी त्यहाँ पुगे पनि सुपारी काण्ड लागेर त्यहाँबाट तानिएका उनलाई अहिले अध्यागमनको डिजी बनाएर पठाइएको हो ।

जागिरे जीवनभर मालदार अड्डा मात्र चहारेका उनी अध्यागमन शाखा अधिकृत, सेज हुँदै केही समय श्रीमतीसहित अमेरिका बसे । त्यताबाट स्वदेश फर्किएपछि ठूला करदाता कार्यालयका हाकिम,आन्तरिक राजश्वको डिडिजी हुँदै अधिकांश अर्थ मन्त्रालय अन्तरगतका मालदार अड्डामा बसे । जतिखेर अर्थ मन्त्रालयका सचिवमा राजन खनाल र शिशिर ढुङ्गनाहरु थिए ।

झलकको बदमासी जानेरै महिना दिनसम्म सरुवाको चिठी नै रोकेर राखिदिएका थिए । सहसचिव हुँदा सहकारी विभागमा थिए । त्यहाँ रहँदा पनि अनेकन फण्डा र काण्डमा मुछिए । अहिले उनैलाई अध्यागनममा लगेर फिट गरिएको छ । यस्तै सिरहाको प्रमुख जिल्ला अधिकारी हुँदा असुली आतंक मच्चाएका लालबाबु कवारी मधेश प्रदेशतिरै सरुवा मिलाउन सफल भएका छन् ।

यता अदालतमा भ्रष्टाचार मुद्धा चलिरहेको अर्का अधिकृतलाई पुरस्कारस्वरुप त्रिविवि अध्यागनमा फिट गराइएको छ । अस्ति आइतबारै ती अधिकृत सरुवाको पत्र बोकेर अध्यागमनमा हाजिर हुन पुगिसकेका छन् । उनी हुन्,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका साखै भाई कुमार । गृहका इमान्दार दर्जनौं अधिकृतहरुलाई पन्छाएर गृह बाहिरका क्याडर कुमारलाई त्रिवि अध्यागमनमा लगिएको हो त्यो पनि दाजु गोपाल पोखरेलकै सेटिङमा ।

कुमार पोखरेल बैदेशिक रोजगार रहँदा अकुत आर्जनमा डामिएर साढे तीन बर्ष निलम्बनमा परेका थिए । विशेष अदालतका न्यायधीशहरुसँग सेटिङ मिलाएर सफाई पाएका उनीविरुद्ध अहिले पनि सर्वाेच्चमा मुद्धा विचराधिन छ । विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वाेच्चमा दायर गरेको मुद्धा विचराधिन छ । विशेषले सुन पानीले छर्किएपछि कुमार लोकसेवा आयोगमा पुगे । आयोगको दरखास्त व्यवस्थापन शाखामा २ बर्ष बढी समय बिताएका उनी लोकसेवाबाट गृहमा एक दिन पनि हाजिर नगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पुगेका हुन् ।

गृहले हालै बनाएको कार्यविधिमा गृह क्याडरभन्दा बाहिरबाट आएका कुनै पनि कर्मचारीलाई सिधै अध्यागमनमा पठाँउन मिल्दैन तर आफैंले बनाएको कार्यविधिलाई कुल्चदै गृहले पोखरेललाई त्रिवि अध्यागमन कार्यालयमा खटाएको हो । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष पोखरेलको ठाडो दबाबमा भाइ कुमारलाई त्यता पठाइएको गृह स्रोतले जनाएको छ ।

यो बिषयमा बुझ्नका लागि गृहका कप्रका कर्मचारी कृष्ण शर्मालाई पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । सो स्रोतका अनुसार अघिल्लो लटमा त्यहाँबाट सरुवा भएका १३ जना अधिकृत फेरि त्रिवि अध्यागनमै फर्किन सफल भएका छन । जसमध्ये केही ०७६ सालमा त्यही हुँदा अनियमितताको काण्ड लागेका कर्मचारीहरु समेत छन् । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *