प्रचन्ड सरकार धरापमा पर्ने सम्भावना

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालमा राजनीतिक दलहरुबीच एकापसमा समझदारी नहुँदा विकासका काम अलपत्र हुँदै छ भने राजनीतिक दलभित्र पनि अस्थिरता छाउँदै छ । यतिखेर नेकपा एमाले र नेपाली कांग्रेसबीच ठूलो द्वन्द्व चर्किएको छ । भोलि हुने राष्ट्रपतिको चुनावलाई लिएर राजनीतिक दलका नेता र सांसदहरुबीच चर्काचर्की सुरु हुन थालेको छ ।

किन कि सातदलीय गठबन्धन र दुई स्वतन्त्रले समर्थन गरेर बनेको प्रचण्ड नेतृत्वको सरकारलाई बिफल बनाउन नेपाली कांग्रेसका नेता गगन थापा र पूर्वबहादुर खड्काले राष्ट्रपतिको निर्वाचनलाई डिजाइन बनाएर प्रचण्डलाई विश्वासको मत दिएका थिए । त्यहीं विश्वासको मतका आधारमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन सहमत भएपछि सातदलीय गठबन्धन भत्किएको थियो । र, त्यसकै आधारमा प्रचण्ड अहिले पनि प्रधानमन्त्री रहिरहेका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले नयाँ समिकरण बनेको ३० दिनभित्र अर्को विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेसम्म त्यो विश्वासको मत लिने बारेमा प्रचण्डले कुनै पहलकदमी गरेको देखिँदैन । तर, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पनि नेपाली कांग्रेसकै बन्ने सम्भावना देखिन्छ । त्यसकारण पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नआउन सक्छ । किन कि नेपालको राजनीतिक दलहरुले चाहेर हुँदैन । त्यसको लागि छिमेकी राष्ट्र भारतलगायत अन्य देशहरुले पनि चासो राख्ने गरेका छन् ।

अहिले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनले द्वन्द्वकालमा १७ हजार मानिसले ज्यान गुमाएकोमध्ये ५ हजारको जिम्मा आफूले लिने छु भनेर टुँडिखेलको एक आमसभामा अभिव्यक्ति दिएका थिए । त्यसको आधारमा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

सो द्वन्द्वकालको घटनालाई लिएर माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्ने सम्भावना देखिन्छ । त्यसले गर्दा पनि भोलिको राष्ट्रपति निर्वाचनमा कसले वाजी मार्ने हो एकिन छैन । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता भएपछि सर्वोच्च अदालतलाई धम्की समेत दिएको चर्चा चल्न थालेको छ । त्यसकारण पनि प्रचण्ड सरकारको आयु छोटिने सम्भावना देखिँदैछ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *