नेपालले नदेखेको मुलुकको पर्यटकीय सम्भावना

पर्यटन बिबिध समाचार

नेपाल प्रकृतिको वरदान हो । प्राकृतिक रुपले नेपालको भौगोलिक विशेषता अथाह छ । तर यो प्राकृतिक स्रोतहरुको उपयोग हुन सकेको छैन । नेपालको प्राकृतिक र भौगोलिक अवस्थालाई हेर्ने हो भने नेपाल विश्वकै सबैभन्दा बढी पर्यटकीय सम्भावना भएको मुलुकहरु मध्ये एक हो । नेपालमा पर्यटकीय चहलपहल त भइरहेको छ, तर अपेक्षित र हुनुपर्ने अवस्थामा छैन । नेपालजस्तै प्राकृतिक र भौगोलिक अवस्था रहेको युरोपेली मुलुक स्वीजरल्याण्ड पर्यटन विकासकै कारण अहिले विश्वको राम्रो अर्थतन्त्र भएको मुलुकमा गनिन्छ ।

रोजगारीले सम्पन्न र खुसी मुलुकको रुपमा चिनिन्छ । पर्यटन क्षेत्र प्रमुख भएको स्वीजरल्याण्डको अर्थतन्त्रलाई पर्यटनले नै धानेको छ । पर्यटनले समृद्ध बनाएको यस मुलुकका अन्य क्षेत्रलाई पनि यसले सहायक भूमिका खेलेको छ । कुनै एक क्षेत्रले मुलुकमा समृद्धिको बाटो खोल्दछ भने अन्य क्षेत्रहरुमा त्यसैअनुरुप सकारात्मक विकास हुँदै जान्छ भन्ने उदाहरण स्वीजरल्याण्डबाटै हेर्न सकिन्छ । त्यहाँ सरकारले पर्यटनमा गरेको लगानी अनुरुप नै आम्दानी गर्दछ । हिमाली क्षेत्रमा रेल र सडक सुविधा पुगेको छ । पर्यटन क्षेत्रलाई त्यही अनुरुप नै अनुगमन र सञ्चालन गरेको छ । पर्यटन क्षेत्रकै कारण रोजगारी सिर्जना भएको छ, होटल व्यवसायहरु चलेका छन् । सरकारले पर्यटनबाटै आम्दानी गरिरहेको छ । पर्यटनकै लागि सरकारले विकास निर्माणमा खर्च गरेको छ ।

एउटा योजनाबद्ध रुपमा आफ्नो मुलुकमा भएको सम्भावनालाई स्वीस सरकारले भरपुर प्रयोग गरेको यसैबाट थाहा हुन्छ । तर हाम्रो नेपालमा जे सम्भावना छ त्यसलाई उपभोग नगर्ने तर जे कुरामा लगानी गरेर त्यति उपयुक्त छैन, त्यसैमा बजेट खर्च गरेर भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको मात्रै देखिन्छ । नेपालमा केही गर्नुपर्छ भन्ने वास्तविक राजनीतिक दल वा व्यक्तित्व अझैसम्म पनि मुलुकले भेटेको छैन । इच्छाशक्ति, चाहना र दृढता हुने हो भने मुलुक समृद्ध बन्न समय लाग्दैन भन्ने कुरा सिंगापुर, दक्षिण कोरिया, इथियोपियाजस्ता पछिल्लो समय विकास भएका मुलुकहरुलाई लिन सकिन्छ ।

नेपालको प्रमुख कमजोरीहरु भनेको राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेथिति, राजनीतिक संस्कारको अभाव, भ्रष्ट कर्मचारीतन्त्र, भ्रष्ट नेताहरु र कार्यकर्ता, सोझा सर्वसाधारण जनता हो । मुलुकको विकास र समृद्धिका लागि भौगोलिक विविधतालाई बाधक मान्नुहुँदैन । भौगोलिक विकटता र विविधतालाई सहजतामा परिणत गर्न सकिन्छ । स्वीजरल्याण्डले आफ्नो विकटतालाई अवसरमा परिणत गर्दै पर्यटकीय विकास गरेको छ । नेपाल पनि पर्यटकीय सम्भावना बोकेको स्वीजरल्याण्ड जत्तिकै राम्रो मुलुक हो । तर गलत राजनीतिक संस्कारले मुलुक ध्वस्त बनेको छ । पर्यटनका लागि भौतिक पूर्वाधार तयार गर्ने प्रयास कहिल्यै गरिएन ।

विश्वकै सबैभन्दा अग्लो हिमाल रहेको सगरमाथासहित विश्वकै अग्ला १४ वटा हिमाल रहेको नेपाल पर्यटनको हिसाबले अपेक्षित हुन नसकेको हो । सडक सञ्जाल नहुनु, पर्यटकलाई गन्तव्यस्थानसम्म पु¥याउन नसकिनु, विकट स्थानहरुमा होटल, खानाको व्यवस्था नहुनु र भएपनि अचाक्ली महंगो हुनेजस्ता विविध कारणले नेपालको पर्यटन फस्टाउन नसकेको हो । मुलुककै सबैभन्दा बढी सम्भावना रहेको पर्यटनका लागि सरकारले न त पर्याप्त बजेट हरेक वर्ष छुट्याउन सक्छ, न त प्राथमिकतामा नै राख्न सक्छ । मुलुकको करिब ८० प्रतिशतभन्दा बढी भूभाग पहाड र हिमालले छोपिएको यस्तो सुन्दर मुलुकलाई कुरुप बनाउने काम गरिएको छ । भए गरेका सडकहरु पनि सुरक्षित देखिँदैनन् । भ्रष्टाचार र घोटाला गरेर सडकको बजेटसमेत कुम्ल्याउने गरिन्छ, जसकारण न त सडक सुरक्षित बन्न सक्छन्, न त यात्रा गर्ने यात्रुहरु ।

पर्यटन बोर्डका अनुसार गत अगस्ट महिनामा नेपालमा ६७ हजार १५३ पर्यटक घुम्न आएका छन् । भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, बंगलादेश, इटाली, अस्ट्रेलियालगायतका मुलुकबाट यसरी पर्यटक भित्रिएका हुन् । विश्वका हरेक देशमा नेपालको सुन्दरता र प्राकृतिक आकर्षणको जानकारी दिन जरुरी छ । मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अनेक कार्यक्रम हुँदै आएपनि पर्यटन विकासका लागि भौतिक पूर्वाधार, सडक सञ्जाल निर्माणलगायतका काम भने हुन सकेका छैनन् । पर्वद्धनका नाममा समेत घोटाला गर्ने, पदाधिकारी घुम्न गएर बजेट सिध्याउने काम नभएको पनि होइन । सरकारले पर्यटन क्षेत्रको विकास गर्दै खर्च गर्न सक्ने मुलुका पर्यटकलाई भित्र्याउन विशेष योजना पनि ल्याउनु पर्दछ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि पर्यटन सबैभन्दा सम्भावना बोकेको क्षेत्र हो ।

तर पर्यटनलाई नै उपेक्षा गर्दै सरकारले प्राथमिकता नै नभएका क्षेत्रमा लगानी गर्ने गरेको पाइन्छ । हुन त स्वार्थ र भ्रष्टाचारकै लागि नेपालमा राजनीतिक दलहरुको धक्कामुक्की हुने गरेको छ, यस्तो अवस्थामा सरकारले लगानी गर्छ र मुलुक समृद्ध बनाउँछ भन्नु मूर्खता पनि हुनसक्छ । तर आफ्नो दायित्व सम्झिएर सरकार र सत्तारुढ दलले यस्ता क्षेत्रको पहिचान गरी काम गर्न अग्रसर हुनुपर्छ भन्ने मात्रै हो ।

पर्यटनको सम्भावनालाई सरकारले प्राथमिकतामा राख्दै दीर्घकालीन योजना बनाएर भौतिक पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्दै जानुपर्छ । भ्रष्टाचार र बेथितिलाई पाखा लगाएर मुलुकको सम्भावनालाई भरपुर उपभोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । हिमाल, पहाड, तराई, पाखापखेरा नेपालका स्रोतहरु हुन् । यसको सदुपयोग हुन जरुरी छ । नेपाल पर्यटनको सम्भावना भएर पनि पछि परेको मुलुक हो । यसको प्रमुख कारण भनेकै भौतिक पूर्वाधार नहुनु हो ।

मुलुकको सबै क्षेत्रलाई उपेक्षित गर्ने र भ्रष्टाचारमा रमाउने प्रवृत्तिकै कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको हो । पर्यटन क्षेत्रमा ठूलो समभावना छ, यसका लागि भौतिक पूर्वाधार निर्माण गर्ने र विश्वभर पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्न जरुरी देखिन्छ । अहिलेको यस्तो अवस्थामा त पर्यटक लालायित हुन्छन् भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने मुलुकले आर्थिक समृद्धि खोज्न अन्त जानै पर्दैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *