नेपाल दूरसंचारले मनायो २०औं वार्षिकोत्सव

राजनीति समाचार

काठमाडौं । गत शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्थापना दिवसको अवसरमा २० औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ ।
स्थापनाको २० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताएका छन्। अध्यक्ष खनालले काठमाडौं उपत्यका लगायतका प्रमुख सहरमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थापनका लागि भूमिगत रुपमा अप्टिकल फाइबर राख्ने काम थालनी भएको जानकारी दिए।

सडक विस्तार र खम्बा सार्ने तथा तार व्यवस्थापन गर्ने क्रममा दूरसञ्चार पूर्वाधारमा असर परेको भन्दै उनले मन्त्रालयको ध्यानआर्कषण समेत गराए। यस्तै उनले सूचना महामार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम निरन्तर अघि बढिरहेको बताएका छन् । प्राधिकरणले अहिले फाइभ जी परीक्षणको दायरा बढाउनेतर्फ समेत ध्यान दिइरहेको अध्यक्ष खनालले बताए । यस्तै उनले भूउपग्रह नीति र इन्टरनेट सेवाका लागि नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने उद्देश्यका लागि ऐन र रणनीतिककामहरुका साथै परामर्श दाता छनोट गरी परामर्शदाताबाट प्रतिवेदन प्राप्त हुने अवस्थामा अहिले प्राधिकरण रहेको बताएका छन् ।

७७ जिल्लाका प्रमुख शहरहरुमा १ करोड भन्दा बढी मानिस फोरजी सेवाबाट लाभान्वित भएको उनले बताए। देशको सम्पूर्ण भूभागमा फोर जी सेवा विस्तारको वातावरण तयार भएको बताएका छन्। साइबर सुरक्षाका विषयमा आम मानिसमा सचेत गराउने क्षेत्रमा समेत प्राधिकरणले निरन्तर काम गर्दै आएको उनले बताएका छन्। साइबर सुरक्षालाई नै लिएर विभिन्न निकायको सुझावमा करिब दुई सय वटा वेबसाइट बन्द गरिएको उनले बताएका छन्। उपभोक्ताहरुबाट मोबाइल सेवाको गुणस्तरीय सेवाको ह्रास आएको भन्दै उनले सेवा प्रदायक, सेवाग्राही या नियामक निकाय को गलत भन्दै प्रश्नसमेत गरेका छन्।

यस्तै उनले फोर जीसेवालाई अझैं दरिलो र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन्। यस्तै उनले दुरसञ्चार सेवामा अवरोध गर्ने जोसुकैलाई पनि कडा कारबाहीको दायरमा ल्याउनु पर्ने बताएका छन्। यस्तै उनले व्यस्त क्षेत्र होटल, एयरपोर्ट जस्ता ठाउँमा इन्टरनेट सेवाको गुणस्तर मापनका लागि पनि काम हुने बताएका छन्।

प्राधिकरण स्थापना पश्चात दूरसञ्चार सेवाको विकासमा ठुलो सफलता हासिल भएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले बताए । नेपालमा हाल भ्वाइस सेवातर्फ फिक्स्ड टेलिफोन सेवा प्रयोगकर्ता २.८० प्रतिशत सिमकार्ड विक्रीको आधारमा मोबाईल सेवाको घनत्व १२६.०२ प्रतिशत र अन्य सेवाको घनत्व ०.०१ प्रतिशत गरी कुल घनत्व १२८.८३ प्रतिशत पुगेको छ ।

त्यसैगरी ब्रोडव्याण्ड सेवा तर्फ फिक्स्ड (वायरलेस र वायर) ब्रोडव्याण्ड प्रयोगकर्ता ३६.१८ प्रतिशत र सिमकार्ड विक्रीको आधारमा मोबाइल ब्रोडव्याण्ड प्रयोगकर्ता ९५.२६ प्रतिशत गरी जम्मा १३९.४५ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि स्थापित ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी ब्रोडब्याण्ड सेवा नपुगेका ७०८ स्थानीय तहमा प्राधिकरणले निःशुल्क ब्रोडव्याण्ड सेवा पुर्याइएको छ ।

त्यसै गरी सेवा नपुगेका ५,९३३ वडा कार्यालय, ५,३१८ सामुदायिक विद्यालय र ४,२४९ स्वास्थ्य संस्था गरी कुल १६,२०८ स्थानमा ब्रोडव्याण्ड सेवा पुर्याइएको प्राधिकरणले जानकारी दिएको छ । प्रतिबद्धता सार्वजनिक गर्दै अध्यक्ष खनालले अझै पनि नेपालका कतिपय ग्रामीण र विकट क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच पुग्न नसकेको भन्दै त्यस्ता क्षेत्रमा समेत सेवाको विस्तार गर्न गर्ने जानकारी दिए । पूर्वाधारहरु निर्माण गर्दै डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अनुसार डिजिटल फाउन्डेसन तयार गर्न प्राधिकरणले विशेष पहल सुरु गरेको छ । दूरसञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारसंगै यसको दुरुपयोगबाट समाजमा घट्ने सामाजिक तथा आर्थिक अपराधहरूको प्रवृति बढ्दै गएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन्। ‘ललितपुर महानगरपालिकामा स्थानीयले पुरातात्विक क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरुले काट्ने भनि चेतावनी दिनुभएको रहेछ।

चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ।’ उनले थपिन्, ‘सडकलाई सुन्दर र व्यवस्थित बनाउन अव्यवस्थित तार हटाइ व्यवस्थित गर्न जरुरी छ। यसको सुरुवात ठूला सहरबाट सुरु गरौं।’ प्राधिकरणलाई आवश्यक कानुन र नियमावली बनाउन मन्त्रालय लागि परेको बताउँदै मन्त्री शर्माले तत्काल गर्न सकिने कामका लागि सरोकारवाला जुट्नपर्ने बताइन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *