नक्कली नोटको कारोबार गर्नेलाई प्रहरी र राष्ट्र बैंकको सुनपानी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । गम्भीर अपराध मानिन्छ,नक्कली नोटको कारोवार । यही कारोवारमा संग्लन रहेका दुई सरकारी अधिकृतलाई सुनपानी छर्कन अहिले नेपाल राष्ट्र बैंक,प्रहरीदेखि चलचित्र विकास वोर्ड सम्म लागि परेको छ । महिना दिन अघि भएको नक्कली नोट कारोवार बल्झदा अहिले एउटा निजी बैंकको टाउको नराम्रोसँग दुखेको छ भने यो प्रकरणले सरकारी निकायहरुलाई समेत सास्ती दिएको छ । भए भरको शक्ति लगाएर अहिले सरकारी निकाय दुई जना अधिकृतलाई जोगाउन लागि परेका छन् ।

भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास वोर्डले मानव तस्करीमा मुछिएका एउटा बदनाम कम्पनीलाई ३० लाख दिएर दुबईमा फिल्म फेस्टिबल आयोजना गरे । त्यहाँ भुवन केसीले आफ्ना छोरा अनमोल केसीसँगै लिभिङ टुगेदरमा रहेकी प्रेमीका जिया केसीलाई सँगै लिएर गएका थिए भने कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित दुबई पुगेका थिए । यस्का अलवा अन्य कलाकार र पत्रकार पत्नीसहित पुगे । कार्यक्रम समापन भइसक्यो तर नक्कली नोटको फण्डाले अहिले पनि उनीहरुलाई पिरोलिरहेको छ । सो कार्यक्रममा पुगेका चलचित्र बोर्डका दुई जना कर्मचारी नक्कली नोटसहित दुबई अन्तराष्ट्रिय विमानस्थलमा समातिए ।

त्यो पनि थोरै होइन हजारौं डलर नक्कली नोट सहित । उनीहरुका साथबाट सिटिजन्स बैंकमा साटेको पाँच सय अमेरिकी डलर नक्कली भेटिएको थियो । बोर्डका अध्यक्ष भुवन केसीसहितको टोलीमा बोर्डका कर्मचारी गिरीश शर्मा र हरिसिंह राइखोला समेत सहभागी भएका थिए । यी दुई अधिकृतहरुले कपनमा रहेको सिटिजन्स बैङ्कको शाखामा डलर साटेको जनाएका छन् । चलचित्र विकास वोर्डको कार्यलय गोपीकृष्ण हल नजिकै छ । शर्माले एक हजार डलरको ट्राभल्स कार्ड लिए भने पाँच सय अमेरिकी डलर नगदै लिए ।

उता राइखोलाले आठ सय डलरको ट्राभल्स कार्ड र पाँच सय डलर नगद लिएको जनाइएको छ । उनीहरूले बैङ्कबाट आधिकारिक रूपमा लिएको डलर स्थानीय मुद्रामा साट्न खोज्दा नक्कली देखिएपछि अनुसन्धानको दायरामा परे, प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ ग¥र्यो । तर राहदानीमा बैङ्कले अमेरिकी डलर साटेको छाप लगाए पछि उनीहरू त्यही सँगै गएका नेपालीको रोहबरमा जोगिए ।

उनीहरु उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने हो तर नायक भुवन केसीदेखि बैंक र प्रहरीहरु नै बचाउमा लागेपछि ती नक्कली नोट कारोवारमा जोडिएका दुई अधिकृत पानी माथिको ओभानो हुन सफल भए ।

यो घटनाले नेपालको बैङ्किङ च्यानलमै नक्कली डलर रहेको भन्दै नेपाल राष्ट्र बैङ्कका एक अधिकारीले चिन्ता प्रकट गरेका छन् । उसो त नेपाल नक्कली नोट कारोवारमा लागि सबैभन्दा उपयुक्त गन्तव्य रहेको देखिएको छ । विभिन्न बहानामा नक्कली नोट बनाउँदै बजारमा पु¥याउने ठूलो गिरोह नै सक्रिय रहेको प्रहरीहरु जनाउछन् । पछिल्लो समय काठमाडौं शहर र वीरगञ्ज नाका आसपास कारोबारीहरुले मेसिन नै राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसो त पछिल्लो डेढ बर्षको अवधिमा काठमाडौंबाट मात्र ७ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ । पहिले पहिले नेपालमा भारतीय नक्कली रुपैयाँ बढी मात्रामा भेटिने गरको थियो । तर, अहिले नेपाली नोटको समेत कारोबार बढेको सुरक्षाकर्मीहरु चिन्ता पोख्छन् तर सक्रिय भएर अनुसन्धान अगाडि बढाउनु पर्नेहरु सिटिजन्स बैंक जोडिएको यो प्रकरणमा अनुसन्धान गर्नुभन्दा उल्टै झारे जबाफ दिएर बैंकलाई चोख्याउन लागिपरेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *