सरकारकै कारण किसानहरु पेशाबाट पलायन

राजनीति समाचार

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भनेर विश्वले चिन्ने गरे तापनि अहिले आएर नेपाल कृषि क्षेत्रबाट पुरै पलायन हुने अवस्थामा पुगेको छ । नेपालका अधिकांश किसानहरुले खेती र पशुपालनको काम गर्न छाडिसकेका छन् । किसानहरुले खेतीपाती र पशुपालनको काम छाड्दै जानु र सरकारले पनि कृषि क्षेत्रमा प्रर्याप्त लगानी गर्न नसक्नु यसको प्रमुख कारण हो । कृषि उत्पादनमा निर्भर मुलुक यसरी सो क्षेत्रबाट पलायन हुँदै जाँदा अधिकांश नेपालीहरु खाद्यान्नको मारमा पर्ने गरेका छन् ।

खासगरी भन्ने हो भने सरकारले कृषि क्षेत्रलाई दिनुपर्ने अनुदान, मल, बीऊ वीजन, कृषि औजारलगायत सामग्रीहरु समयमा उपलब्ध गराउन नसकेको कारण नै नेपालीहरु कृषि क्षेत्रबाट टाढिन थालेका हुन् । त्योसँगै कृषकले समयमा खेती गर्न सिंचाईंको अभाव त्यत्तिकै झेल्नुपरेको छ भने खेतीको सिजनमा पानी नपर्दा पनि किसानहरुले लगानी र दुःख गरेअनुसारको प्रतिफल नआउने भएकाले पनि उनीहरुले खेती गर्न छाडिसकेका छन् । त्योसँगै कृषकहरुले पशुपालन गर्न समेत छाडिसकेका छन् ।

किन भने पशुहरुको स्वास्थ्य बीमा, ती पशुपन्छीहरु बिरामी हुँदा आवश्यक औषधि उपचार गर्न कठिनाइ हुने र पशुपालनबाट उत्पादन गरिएको दूध, घिउ, दहीले समयमा बजार र उचित मूल्य नपाउने जस्ता कारणले गर्दा पनि कतिपय किसानले खेती र पशुपालन गर्न छाडेका हुन् । यसरी कृषि र पशुपालन पेशाबाट पलायन हुनुपरेपछि किसानहरु बेरोजगार भएर भौतारिन थालेका छन् ।

त्योसँगै कतिपय कृषकहरुले पालेका पशुपन्छीबाट उत्पादित दूध, दही, घिउ, मासु, अन्डाजस्ता खाद्यान्नमा विचौलियाहरुले गाउँगाउँमा पुगेर सस्तो मूल्यमा मोलतोल गरेर पैसा बाँकी राखी ल्याउने र शहर, बजारमा ल्याएर महंगोमा विक्रीवितरण गर्ने तर किसानको पैसा नर्तिने प्रवृत्ति बढेकाले पनि किसानहरु कृषि पेशाबाट पलायन हुने गरेका छन् । तर, राजनीतिक पार्टीका नेताहरु भने जब सत्ताबाट बाहिरिन्छन् अनि भन्छन्, ‘अब हाम्रो सरकार बन्छ त्यसपछि हामी कृषिमा क्रान्ती ल्याउँछौं ।’

तर, सत्तामा पुगेपछि ती कुरा बिर्सिएर खाली विचौलिया, माफिया र कालाबजारियाहरुको चंगुलमा फसेर कमाउ धन्दामा लिप्त हुन्छन् । त्यसरी कमिसनमा लिप्त हुँदा नेपाली कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्नुको साटो विदेशी खाद्यान्न भित्र्याउने र नेता, कर्मचारी र मन्त्रीसम्मलाई विचौलियाले कमिसन दिएर गुमराहमा पार्ने काम गर्दै आएका छन् । अनि ती नेताहरु सडकमा आएर उफ्रिँदै कृषि क्रान्तिका भाषणहरु गर्ने गरेका छन् । त्यसको मार सर्वसाधारण जनतालाई परिरहेको छ । यसरी कृषि उत्पादनबाट दिकदार भएपछि नेपाली युवायुवतीहरु विदेशिन वाध्य हुन्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *