काठमाडौं । नेपालमा २०४६ सालयता प्रजातन्त्र पुनस्र्थापना भएपछि राजनीतिक दल र कर्मचारी ब्यूरोक्रेसीबीच एकापसमा मनमुटाव सुरु हुन थाल्यो । त्यसरी राजनीतिक दलका नेता र कर्मचारीबीच मनमुटाव हुनुको कारण पञ्चायती कालका कर्मचारी र बहुदलका नेता मन्त्री भएका कारण त्यो अवस्था सिर्जना हो । यसरी व्यवस्था परिवर्तनसँगै कर्मचारी परिवर्तन हुनुपर्नेमा उनीहरुले नेताले लगाएका काम इमानदारपूर्वक नगरेपछि दलका मन्त्रीहरुले आफ्नो पार्टी निकट कर्मचारीको खोजी गर्न थाले ।
यसरी पार्टी निकट कर्मचारी खोजी हुन थालेपछि कर्मचारी र राजनीतिक दलका मन्त्रीहरुबीच टसल सुरु भयो । यो टसलको तुस अहिले पनि अधिकांश कर्मचारीहरुमा विद्यमान छ । त्यसकारणले पनि राजनीतिक पार्टीका मन्त्रीलेहरुले आफ्नो पार्टीअन्तर्गतका कर्मचारी खोजीखोजी मालदार ठाउँमा सरुवा, बढुवा गरेर लाने गरेका छन् । त्यसमा पनि कर्मचारी मात्रै नभएर सुरक्षा निकायका कर्मचारीहरुलाई समेत पार्टी निकट बनाउन थालियो । यसरी नेताहरु पार्टी निकट कर्मचारी खोज्ने तर कर्मचारीले भने नीतिनियम अनुसार काम गर्ने गर्दछन् । तर, राजनीतिक दलका मन्त्रीहरुले ती कर्मचारीहरुलाई नियम अनुसार हुने नहुने काम पनि गर्न वाध्य पार्ने गर्दै आएका छन् ।
त्यसरी राजनीतिक दलका मन्त्रीहरुले आफ्नो भनेर लगिएका कर्मचारीहरु पनि नीतिनियम अनुसार आफू नफस्ने गरी काम गर्न खोज्छन् । तर, राजनीतिक दलका मन्त्रीहरुले भने ती कर्मचारीहरलाई जबर्जस्ती हुने, नहुने काममा टिप्पणी उठाउन र सही गर्न लगाउने गर्दछन् । त्यसकारणले पनि अहिले अधिकांश कर्मचारी र विभिन्न सिद्धान्त बोकेका राजनीतिक दलका मन्त्रीबीच समन्वयकारी भूमिका हुँदैन । त्यसकारणले पनि अधिकांश विकास निर्माणका कामदेखि सेवाग्राहीको कामसमेत ओझेलमा पर्ने गरेका छन् ।
छ÷छ महिनामा सरकार र मन्त्री परिवर्तन भइरहने र मन्त्री फेरिएपिच्छे कर्मचारीका हाकिम फेरिने परम्पराले पनि विकास निर्माण र सेवाग्राहीको काम नभएको हो । यसरी मन्त्री र कर्मचारीबीचको टसलका कारण अधिकांश क्षेत्रमा विचौलियाले फाइदा उठाउँदै आएका छन् । त्यसमा पनि मन्त्री र कर्मचारी तन्त्रको बीचमा विचौलियाले खेल्ने गरेका हुन् । त्यसले एकातिर राजनीतिक दलका मन्त्रीहरु असफल हुन्छन् भने अर्कातिर कर्मचारी पनि असफल हुने गरेका छन् ।