अग्निप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, उर्लाबारी नगरपालिका
अग्निप्रसाद अधिकारी, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । ०५२ सालबाट सरकारी सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँले स्थानीय तहमा आफ्नो कपाल सेता बनाइसक्नु भएको छ । इलाम नगरपालिका, धनकुटा नगरपालिका, खाँदबारी नगरपालिका, काभ्रे जिल्ला विकास समिति, बर्दिबास नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चागुँनारायण नगरपालिका हुँदै हाल उर्लाबारी नगरपालिकाकामा कार्यकारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उर्लाबारी नगरपालिकाकामा स्थानीय तहको विकास निर्माण, नगरभित्र सम्भावना क्षेत्र लगायत विविध, हालसम्म भएको कामको के कस्ता चुनौतीको विषयमा केन्द्रित भएर प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?
हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई धेरै प्राथमितामा राखेका छौँ । माध्यमिक तहसम्मको शिक्षा सर्वसुलभ र निःशुल्क हुनुपर्छ भन्ने नेपाल सरकारको योजना छ । यहाँको शिक्षाका सन्दर्भमा यसभन्दा अघिको शिक्षा समितिले पनि एउटा प्रतिवेदन बुझाएको छ । त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी छौँ । नागरिकको पहिलो रोजाइँ सरकारी विद्यालय हुने गरी पाँच वर्षसम्म त्यो ठाउँमा पु¥याउने हाम्रो योजना छ । जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर घरघरमा, टोलटोलमा नै प्राथमिक स्वास्थ्य उपचार प्राप्त हुने ढङ्गले हामी व्यवस्थापन गर्दैछौं । सबै वडामा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य केन्द्र बनाउने भनेका छौँ त्यसमा हामीसँग कति दरबन्दी छ, अन्य संस्थासँग पनि हातेमालो गर्दै काम गर्ने कुरामा हामी सचेत छौँ ।
० नगरपालिकामा भइरहेका सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाहीका गुनासा पनि सुन्ने गरिएको छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि के तयारी गर्नुभएको छ ?
हामी फ्रन्ट डेस्कबाटै पहिलो फाइल आइसकेपछि काम सबै सम्पन्न गरेर यति बजे फलानो ढोकाबाट लिनोस् भन्ने खालकोसम्म पु¥याउने गरी कामलाई व्यवस्थापन गर्दैछौं । कर्मचारीको व्यवस्था पनि त्यही रुपमा गर्नेछौँ । जुनजुन महाशाखाबाट काम हुनुपर्ने हो त्यहाँबाट हुने गरी फाइल अघि बढेपछि कोठा कोठा चाहर्नु नपर्ने गरी व्यवस्थापन गर्दैछौं ।
० सेवाग्राहीलाई सहज सेवा प्रवाहको लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
कुनै पनि संगठनमा कामको प्रकृतिअनुसार संगठन संरचना बनाइएको हुन्छ । कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारी दिइएको हुन्छ । अधिकार दिइएको हुन्छ । सोहीअनुरुप आ–आफ्नो ठाउँमा काम गर्ने हो । नेतृत्वले उनीहरूको कामको निगरानी गर्ने हो । निगरानी भयो भने सेवा प्रवाह प्रभावकारी हुन्छ । संगठनअनुसार, कामअनुसार फरक–फरक प्रकारले काम गर्नुपर्छ । आफूलाई दिएको जिम्मेवारी सही रुपमा जनताको सेवामा समर्पित गर्ने, सेवाग्राहीको समस्या सरल र सहज रुपमा सम्बोधन गर्ने, हुन नसक्ने कुरा यो कारणले हुँदैन भनेर भन्ने । तपाईंको काम हुँदैन मात्र भन्दा सेवाग्राहीमा निराशा आउँछ । मेरो काम सधैं नहुने किन ? भन्ने कुरामा विवाद उत्पन्न हुन सक्छ ।
त्यसैले यो–यो प्रक्रिया पूरा गर्नु तपाईंको काम हुन्छ भन्नुपर्छ । ‘हामी तपाईंहरूकै काम गर्न बसेका हौं । तपाईंहरूले लिएर आएको काम हामीले गर्नैपर्छ । हामीले दिएको सेवाबाट तपाईंले सन्तुष्टि प्राप्त गर्नुपर्छ । र तपाईंले पनि यो प्रक्रिया पूरा गर्नुपर्छ’ भन्ने ढंगले सेवाग्राहीलाई सम्झाउनुपर्छ । यसो हुँदा काम नहुने मान्छे फर्किएर जान्छन् हुने प्रक्रिया पु¥याएर आउँछन् । काम पारदर्शी र विधि–विधानअनुसार ग¥यो भने सेवा ग्राहीले मेरो काम भइरहेको नभएर यो कारणले भएको छैन भन्ने कुरा सेवाग्राहीले बुझ्नुहुन्छ । हामी कर्मचारीले सबैलाई एकै किसिमको जवाफ दिँदा जनमानसमा त्यसले गलत अर्थ राख्छ । त्यसकारण सबै सेवाग्राही नयाँ हुन् उनीहरू पहिलोपटक सेवा लिन आएका हुन् भन्ने बुझेर झर्को नमानी हामीले प्रक्रियाबारे बतायौं भने सेवाग्राहीको काम प्रभावकारी हुन्छ ।
० यो आर्थिक बर्षमा के कस्ता योजनाहरु प्राथमिकतामा राख्नु भएको छ ?
पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हाम्रो विशेष ध्यान दिएर कार्यक्रम बनाउँदैछौं ।
० नगरपालिकाले संघ र प्रदेश सरकारसँग के कसरी सहकार्य गरिरहेको छ ?
हामी सङ्घ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । हिजोको केन्द्रको बजेटमा के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेस र कोअपरेशन गरेर अघि बढ्छौँ । हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । सबै नागरिक कुनै न कुनै आर्थिक उपार्जनमा लागेका हुन्, स्वरोजगारमा रहुन् वा रोजगारी प्राप्त गरुन् भन्ने हो । हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई नगरमा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ । बेरोजगारलाई नगरपालिकाले आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । उर्लावारीमा पनि धेरै रोजगार दाता हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।
० गरिबी निवारण सम्बन्धी कस्ता खालका कार्यक्रम छन् ?
दलित, गरिब, असहायहरूलाई प्राथमिकतामा राखेर स्वरोजगारमूलक तालिमहरु प्रदान गरिरहेका छौं । हामीले नगर प्रोफाइल नै बनाएर गरिबी निवारणका लागि विशेष जोड दिइरहेका छौं । विपन्न परिवारलाई खाद्य सुरक्षा अन्तर्गत राहत सहयोग तथा सीप, क्षमता र सामान्य पुँजीको अभावमा जीविकोपार्जन गर्न कठिन भएका व्यक्ति वा समूहलाई उद्यमशीलतामा अग्रसर गराउने काम नगरपालिकाले गरिरहेको अवस्था छ । त्यस्तै, कृषकहरुलाई मध्यनजर गरी कोल्ड स्टोर स्थापना गर्ने, कृषि बजार स्थापना गरी उत्पादित कृषि उपज कृषकले सहज रुपमा बिक्री वितरण गर्न सक्ने वातारण सिर्जना गर्ने, खाद्यान्न बाली धानको बिउ उत्पादन भण्डारण प्याकेजिङ कार्यलाई प्राथमिकता दिने, प्रत्येक वडामा स्थान विशेष पकेट क्षेत्र छनौट गरी बाली उत्पादनमा आवश्यक सहयोग बिस्तार गर्ने योजना रहेको छ ।
० तपाईं प्रशासकीय अधिकृत भएर आएपछि भएका महत्वपूर्ण कामहरु के के हुन् ?
नदी नियन्त्रण, शैक्षिक सुधारका कार्यक्रम, सीप विकास तालिम कार्यक्रम, कृषि उत्पादन बढाउन सिंचाइ, थ्रेसर, पावर टिलर, मिनी टिलर आदि व्यवस्था गरेका छौं । धेरै जनअपेक्षाका कामहरु भइरहेका छन् र यो प्रक्रिया निरन्तर रुपमा हुँदै जानेछ । कृषिमा दीर्घकालीन महत्वका योजना अन्तर्गत किसानलाई सहयोगका काम भइरहेका छन् । सिचाई कार्यका लागि कृषकहरुलाई ३ सय २७ वटा मोटर÷बोरिङ वितरण, उन्नत जातको खाद्यान्न, बिउ वितरण पहिलेभन्दा करिब १५–२५ प्रतिशत बढी उत्पादनमा सहयोग, कृषिमा यान्त्रिकीकरण र व्यावसायिकरण गर्नका लागि कृषि औजार उपकरण कृषकको माग अनुसार वितरण गरिएको छ ।
सीपमूलक र ब्यवहारिक तालिम सञ्चालन गरी ब्यवसायिक खेतीतर्फ उन्मुख गराउने, सामुदायिक खेतीलाई प्राथमिकतामा राखी कृषकको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन रहेको छ । उन्नत जातको तरकारी खाद्यान्न सूर्यमुखी फलफूलको बिरुवा, लहरे तरकारी बालीको लागि मोहनी पासोलगायत वितरण गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निर्माण र निकासको काम भइरहेका छन् ।
० समृद्ध नगरपालिका बनाउन के–केस्ता योजना रहेका छन् ?
उर्लाबारी नगरपालिकालाई समृद्ध क्षेत्र बनाउँदै यहाँका जनतालाई सुखी बनाउने उद्देश्यअनुरूप हामीले खासगरी विकास निर्माण, कृषि र पर्यटनलाई जोड दिइरहेको अवस्था छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा मूल रूपमा केन्द्रित गरेर विकास गर्दै लैजाने योजना बनाएका छौं । लक्षित वर्गलाई आयमूलक, रोजगारमूलक, सीपमूलक र उद्यमशीलतासँग जोडेर अघि लैजाने छौं ।
० यस नगरपालिकाको मुख्य पहिचान के हो ?
हामी उर्लाबारीलाई पर्यटनको गन्तव्य शहरको रुपमा विकसित गर्ने योजनामा छौं । किनकी त्यो सम्भावना उर्लाबारीमा छ । नगरमा भएका जैविक विविधताले भरिपूर्ण बेतिनी सिमसार क्षेत्र छ जहाँ विभिन्न प्रजातिका बनस्पति, वन्यजन्तु, चराचुरुङ्गी छन् । त्यसलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ । त्यस्तै, मदन भण्डारी संग्रहालय, मञ्जुल संग्रहालय, विभिन्न धार्मिक प्रतिष्ठान, अन्य सिमसार भएकोले पनि अध्ययन र अवलोकनका लागि पर्यटक आउने बलियो सम्भावना छ ।
० सिंहदरबार अब गाउँगाउँ पुग्यो भन्ने महसुस तपाईंका नगरवासीले कत्तिको गरेका छन् ?
सिंहदरबार अब गाउँगाउँ पुग्यो भन्नुभन्दा पनि अहिले सिंहदरबारका सिंहहरू गाउँगाउँमा पुगे भन्न थालिएको छ । हाम्रो नगरपालिकामा सिंहदरबारको सिंह गाउँगाउँ नपुगेर जनताको सिंह गाउँगाउँ पुगेको छ । अहिले ज्येष्ठ नागरिक विशेषगरी ७० वर्ष पार गरेकाहरूका लागि प्रत्येक तीन महिनामा घरघरमै स्वास्थ्य सेवा दिन हामीले स्वास्थ्यकर्मीहरू खटाइरहेका छौँ । ६ महिना पार गरेका गर्भवती महिलाहरूका लागि घरघरमै स्वास्थ्य जाँचका लागि नगरपालिकाबाट स्वास्थ्यकर्मीहरू खटाएका छौँ । अपांगता भएकाहरूलाई स्वास्थ्यकर्मीसँगै औषधी पनि निःशुल्क उपलब्ध गराइरहेका छौँ । सामाजिक सुरक्षा भत्ता पनि घरघरमै वितरण गरेका छौँ । त्यस कारण यहाँका नागरिकले सरकार भएको महसुस गरेका छन् ।
० यस उर्लाबारी नगरपालिका भित्र पनि चुनौती होलान ती के के हुन् ?
भरपर्दो आम्दानीको स्रोत छैन । मावा, बक्राहा, तेली, सुनझोडा, सोल्टी, मिक्लुक, नुनसरीलगायतका खोलाले वर्षेनि ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ । सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतमा पनि चुनौती कायमै छन् । सुकुम्बासी व्यवस्थापन पनि समस्या छ । हाल सुकुम्बासी आयोगमार्फत तथ्यांक संकलनको काम भएको छ । यसबाट सुकुम्बासी समस्या समाधान हुनेमा आशाबादी पनि छौं ।
० सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
अहिलेसम्म आएका सबै सेवाग्राहीले म प्रमुख भएको अथवा मैले नेतृत्व गरेको संस्थामा कुनै गुनासो गरेको मलाई थाहा छैन । त्यसकारण मैले उहाँहरूको समस्या राम्रोसँग समाधान गरेको छु भन्ने लाग्छ । असफल भएजस्तो लाग्दैन ।
० कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
कतिपय मान्छेलाई व्यवहारिक पाटोमा काम पर्दा यो भइदिए हुन्थ्यो भन्ने हुन्छ । तर कर्मचारीहरूले आफ्नो विधि–विधान प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ । विधि–विधान सेवा–प्रवाहलाई व्यवस्थित गर्न र सेवा प्रवाह गर्नेले आफ्नो अनुकूल व्याख्या नगरोस् भन्नका लागि हो । कतिपय अवस्थामा ती विधि–विधानलाई पछ्याउँदा सेवाग्राहीको माग पूरा नहुँदा अलिकति दबाब आएजस्तो हुन जान्छ । प्रक्रिया नपु¥याउँदा यस्तो गर्नू भनेर अह्राउनुपर्छ । प्रक्रिया नपुग्दा पुगेन भन्दा दबाब दिएको जस्तो अवस्था हुन्छ । त्यस्तो ठूलो दबाब आएको अनुभव छैन ।
० स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व छ भनिन्छ नि ?
यहाँचाहिँ राम्रो समन्वय छ । बजेट पनि उहाँहरूसँग बसेर बनाएको हो । कार्यान्वयन हुन सक्ने बजेट बनाइएको छ । स्वाभाविक रूपमा जनप्रतिनिधिहरू जनताबाट चुनिएर आएकाले प्रक्रियाभन्दा पनि कतिपय अवस्थामा परिणाम चाहिन्छ भनेर काम गर्न खोज्नुहुन्छ । तर, हामी त कानुनी प्रक्रिया पालना गर्न बसेको हो । कहिलेकाहीं कानुनी प्रक्रियाले गर्दा पनि छिटो काम हुन नसक्ला । कुनै–कुनै विषयमा सानोतिनो द्वन्द्व हुनु सामान्य हो । तर, मिलेर काम गर्नुको विकल्प छैन ।(तामाकोशीसन्देशबाट)