इमान्दार कर्मचारी खेदिँदै, भ्रष्टको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । इमान्दार रेटिने र बेइमानहरु पूजिने,सतिले सरापेको देश न प¥र्यो नेपाल । केही परिणाममुखी काम गरौं भन्ने हुटहुटी भएका कर्मचारी लखेटिने,तरमारा र कामचोर कर्मचारीलाई कसैले चलाउन नसक्ने भए पछि कसरी सुध्रन्छ निजामती प्रशासन ? राजनीतिक पहुँच र पावर भएका कर्मचारीलाई छुन र चलाउन नसक्ने,काम गर्न कर्मचारीमात्र लखेटिरहने भएपछि अरु मन्त्री र भारतीय प्रधानमन्त्री मोदीसँग थर मिल्ने अमनलाल मोदीमा के फरक रह्यो र ?

एउटा थारूको छोरा, गिरिजाप्रसादको छत्रछायाँबाट ‘राजनीतिमा ब्रेक’ पाएका कांग्रेसका हेभिवेट पूर्वअर्थमन्त्री महेश आचार्यलाई पछारे र दोस्रो पटक सांसद हुँदै मन्त्री बनेका अमनलाल मोदी अहिले सामान्य प्रशासन मन्त्री बनेसँगै प्रशासनमा केही सुधार होला भन्ने अपेक्षा गरिएको थियो तर उनले कृष्णहरि पुष्करजस्ता निजामती वृत्तमा बदनाम र कसैले मन नपराउने व्यक्तिलाई सचिवका रुपमा भित्र्याए । पुष्करले सरुवामा मोलमोलाइ गर्न सक्ने खप्पिस खेलाडी कमलप्रसाद भट्टराईलाई कर्मचारी प्रशासनको हर्ताकर्ता बनाएर सामान्यमा लगे । त्यही मिसिए ज्ञाननाथ ढकालदेखि कमानसिंहसम्म ।

यस्ता बदनाम कर्मचारीहरुलाई बोकेर मोदीले प्रशासन सुधार गर्लान भन्नु बेकार रहेको कर्मचारीहरुले सुनाउन थालेका छन् । कर्मचारीहरुले त्यस्तो भन्नुको केही कारण रहेछ । जस्तो हालैमात्र सामान्यले ६१ सहसचिवको सरुवा गरेको थियो । त्यहाँबाट रुद्रमानसिंह तमाङ गृहमा खटाइएका हुन तर खाट्टी माओवादी बनेर उनी सामान्य प्रशासनमै रमाइरहेका छन् उपसचिवको सरुवा हुँदा मोहन घिमिरेलाई माधव नेपालकै गृहजिल्लामा पठाइएको हो, प्रमुख प्रशासकीय अधिकृतको रुपमा । तर कर्मचारी संगठनको बलमा सरुवा धन्दा चलाउँदै अकुत आर्जन गर्दै आएका डन मोहन घिमिरे सिंहदरबारको चार किल्ला तोडेर तल जानु परेन ।

उनी पाए रसुवाको सिडिओ खान्छु,नभए अन्यन्त्र जान्न भन्दै मन्त्रीलाई नै चुनौती दिइरहेका छन् । यस्ता सहसचिव र उपसचिव एक दर्जन बढी रहेको बताइन्छ । एउटा मन्त्रीभन्दा प्यूसो कर्मचारी पावरफुल हुन्छ भने प्रशासन सुधार गर्दछु भन्दै किन गफ खोक्नु मन्त्रीले ? रुद्रसिंह तामाङ काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा एक बर्षमा ४२ पटक विदेश भ्रमण गरेर रेकर्ड नै राखेका थिए ।

राजनीतिक ‘पावर’ र ‘पहुँचवाला’ नजोडिएका कर्मचारीहरुले आफ्नो सरुवा यसरी उल्टाइरहँदा काम मात्र गर्ने,निष्ठा र इमान्दारिता जोडिएका कर्मचारीहरुलाई भलिबल बनाइएको छ । व्यापारीहरुको दबाब र प्रभावमा मन्त्री मोदीले एक जना सहसचिवलाई योजना आयोगतिर हुत्याएको चर्चा अहिले संघीय मामिला तथा सामान्य प्रशासनमा व्याप्त सुन्न पाइन्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक महेश भट्टराईलाई रातारात त्यहाँबाट योजना आयोगतिर हुत्याउनुमा केही ठूला व्यापारीहरुको हात रहेको बताइन थालेको छ । म्याद सकिएको २ हजार कार्टुन बाह्सिंगे बियर बरामद गर्दा उनको सरुवा भएको अहिले कर्मचारी वृत्तमा चर्चा छ ।

उनले विभिन्न स्थानमा विभागले छापा हानी अवैध तथा अखाद्य वस्तुहरू जफत गरेर जरिवाना समेत गर्न लागेपछि व्यापारीहरूको चर्को दबाबका बीच उनको सरुवा गरिएको बताइन्छ । भट्टराईले विभागमा ५ महिना २१ दिन महानिर्देशकको रूपमा काम गरे । फागुन १५ गते विभागबाट रवाना लिएर राष्ट्रिय योजना आयोगमा हाजिर समेत भइसकेका छन् । सुरुमा सरुवाको सूचीमा भट्टराईको नाम थिएन तर उनलाई जसरी पनि सरुवा गर्नुप¥र्यो भन्दै व्यापारीले धर्ना कसे पछि १३ औँ नम्बरमा उनको नाम हालेर राजेन्द्र पौडेलको सरुवा उल्टाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *