नक्कली डिमान्ड लेटरले विदेशमा नेपाली कामदार अलपत्र

राजनीति समाचार

काठमाडौं । विगत लामो समयदेखि पटक–पटक राजनीतिक अस्थिरताको कारणले देश अहिले जर्जर अवस्थामा पुग्दा पनि कर्मचारी ब्यूरोभित्र भने भ्रष्टाचार गर्ने र कमिसन कुम्ल्याउने ठाउँमा जान होडवाजी चलिरहेको छ । यसको एउटा गतिलो उदाहरण श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग पर्ने गरेको छ । त्यस्तै ताहचल शाखामा पूर्वस्वीकृति, अन्तिमस्वीकृति, र रिइन्ट्रि शाखाहरु रहेका छन् । त्यसमा पनि विभिन्न देशमा पूर्वस्वीकृति, अन्तिमस्वीकृति, र रिइन्ट्रि लिएर विदेश जाने शाखाहरु रहेका छन् ।

त्यस्तै कतार, साउदी, मलेसिन, दुबइ, बहराइन, कुबेतलगायतका देशहरुमा जाने छुट्टाछुट्टै शाखा छन् । यी शाखा कार्यालयहरुमा अन्यत्रबाट सरुवा भएर जान कर्मचारी न्वारनदेखिको बल निकाले लागिपरेका हुन्छन् । अहिले श्रम तथा रोजगार मन्त्रालयभन्दा पनि बाहिरैबाट सोर्सफोर्स लगाएर ती शाखाहरुमा कर्मचारी जाने गरेका छन् ।

उनीहरु वैदेशिक रोजगारमन्त्रालय अन्तर्गत नगएर बाहिरैबाट जाने गरेका छन् । त्यहाँ जानको लागि विभिन्न मन्त्रीदेखि सचिव, उच्च निकायका कर्मचारी र राजनीतिक पार्टीका नेताहरु रिझाएर जाने गरेका छन् । त्यसकारणले पनि कतिपय मेनपावर कम्पनी र कर्मचारीहरुको मेलेमतोमा वैदेशिक रोजगारीमा जाने युवायुवतीहरु ठगिने गरेका हुन् । यसरी विदेश गएका युवायुवतीहरु खानबस्न र तलब सुविधा राम्रो छ भनेतापनि म्यानपावरले पठाए अनुसार काम नपाएर अलपत्र पर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

अहिले ताहचल शाखामा कार्यरत उपसचिव वशन्त बोहोराको हालीमुहाली चल्ने गरेको छ । बोहोरा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसेर विभिन्न राजनीतिक पार्टीका नेता, मन्त्री र उच्च निकायका कर्मचारीहरुको सोर्सफोर्स लगाएर श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका थिए । सो मन्त्रालयबाट उनी अहिले वैदेशिक रोजगार विभागको ताहचल शाखामा कार्यरत छन् । उनीले तत्कालीन मन्त्री सेख इस्तीस राईलाई चुनाव खर्च उठाइदिने नाममा ताहचल शाखामा सरुवा भएका थिए ।

तर, बोहोराले तत्कालीन मन्त्री राईलाई थाङ्नामा सुताएर आफूले हालीमुहाली गर्दै आएको समाचार स्रोतको दावी छ । यी त एउटा उदाहरणको पात्र मात्रै हुन् । त्यस्तै ताहचल शाखामा कार्यरत कर्मचारीहरुको त हालीमुहाली अझ छुट्टै छ । अधिकांश कर्मचारीहरुले मेनपावर कम्पनीहरुलाई डकुमेन्टहरुमा यो मिलेन, त्यो मिलेन भनेर इमेलमार्फत पठाउने र नमिलेका फाइलहरुलाई मिलाएर पठाउनु भनी आदेश दिने गर्दछन् । यसरी आदेश दिँदा अधिकांश मेनपावर कम्पनीहरुले पैसाको आडमा नक्कली डकुमेन्ट तयार गरेर पठाउने र कमिसन खुवाउने काम गर्दछन् ।

त्योसँगै म्यानपावर कम्पनीहरुले विभिन्न देशबाट कामदारको माग भइ आएको भनेर राष्ट्रिय दैनिक पत्रपत्रिका नक्कली विज्ञापनसमेत छपाउने गर्दछन् । त्यस कार्यमा अधिकांश दूतावासका कर्मचारीको पनि मिलेमतो हुने गर्दछ । त्योसँगै नक्कली छाप, नक्कली लेटरप्याड बनाएर दूतावसको लेटरप्याडमा नक्कली छाप लगाएर कामदारको आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशित गरिन्छ ।

त्यसमा पनि अध्यागमन विभागका कर्मचारी, श्रम डेक्सका कर्मचारी, प्रहरी, म्यानपावर कम्पनीका मालिक र श्रम तथा रोजगार मन्त्रायका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतोमा रातिको समय पारेर नक्कली डकुमेन्टको आधारमा कामदार विदेश पठाउने चलन नयाँ होइन । यस्तो कार्य परापूर्वकालदेखि चल्दै आएको छ । त्यसकारण यसरी पठाइएका अधिकांश नेपाली कामदारहरु विदेशमा अलपत्र पर्ने गरेका छन् । यससँगै विभिन्न देशमा जेलमा समेत पर्ने गरेका छन्, सरकार भने यसप्रति अनभिज्ञ रहेको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *