काठमाडौं । त्यसै भनिएको रहेन छ, ‘यो देश सतिले सरापे’को भनेर । अहिले त्यस्तै उदाहरणहरु राजनीतिक पार्टीभित्र देखिन थालेको छ । कतिपय राजनीतिक दलका नेता पनि स्वच्छ छवि र इमानदारीपूर्वक जनताको पक्षमा काम गर्न लागिपरेका छन् । त्योसँगै सरकारी र गैरसरकारी संघ संस्थाका कर्मचारीहरु पनि राष्ट्र, राष्ट्रियता र सर्वसाधारणको काम इमानदारीपूर्वक गर्नुपर्छ भनेर लागिपर्ने गरेका छन् । तर, त्यसरी इमानदारीपूर्वक काम गर्ने नेता, कर्मचारी र सुरक्षा निकाय जस्ता संस्थाका व्यक्तिहरुले भने उनीहरुकै खुट्टा तान्ने र देशको विकास हुन नदिने परिपार्टी चल्दै आएको छ ।
त्यसको दरिलो उदाहरण बनेका छन् नेपालका अधिकांश राजनीतिक पार्टीका शीर्षक नेताहरु । कतिपय राजनीतिक पार्टीका नेताहरुले देश र जनताप्रति बफादार भइ काम गरे तापनि पार्र्टीभित्रैकै नेताहरुले तिनीहरुको खुट्टा तान्ने काम गर्दछन् । त्योसँगै पार्टीमा इमानदारीपूर्वक लागेर संगठन विस्तार गरी जनतामाझ भिजेर देशको विकास गर्न खोज्ने व्यक्तिलाई पार्टीले सकेसम्म टिकट नै दिँदैन यदि दिइहाले पनि पार्टीभित्रकै अर्को गुटले हराउने खेल खेल्द छ । यस्तो खेलमा पार्टीभित्रैबाट अन्तरघात गरेर आफ्नै पार्टीलाई कमजोर बनाउने काम नेपालका सबै राजनीतिक दलमा हुँदै आएको छ । त्यसकै उदाहरण गत मंसिर ४ मा सम्पन्न संघ र प्रदेश निर्वाचनलाई लिन सकिन्छ ।
यदि राजनीतिक पार्टीभित्र यस्तो खेल हुँदैन थियो भने पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएका पाँचवटा दलहरुले किन बहुमत ल्याउन सकेनन् । त्यसकै परिणाम स्वरुप अहिले राजनीतिक पार्टीभित्र सरकार बनाउन पनि एक दर्जन हाराहारी दलहरुको सहयोग लिनुपरेको छ । ती दलहरुको सहयोगमा बनेको सरकार पनि कहिलेसम्म टिक्ने र कुन अवस्थासम्म चल्ने हो निश्चित छैन ।
त्यस्तै उता झन्डै दुईतिहाई बहुमतमा बनेको नेकपाको तत्कालीन सरकार भागबन्डाकै कारण विघटन हुन विवश भयोे । त्यो सरकारले मरितरी ४१ महिना सरकार चलाए तापनि व्यक्तिगत इगो साँधेर गुट हावी हुँदा न त देशले निकास पायो न जनताले सुख पाए । यसैको परिणाम अहिले नेकपा एमालेभित्र देखिएको छ । एमाले पार्टीभित्र तत्कालीन नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसालजस्ता हस्ती व्यक्तिहरु एमालेबाट पलायन हुन वाध्य भए ।
उनीहरु पार्टीबाट पलायन भएपछि अहिले एमाले पार्टी ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भने जस्तै भएको छ । यदि माथि उल्लेख गरिएका हस्ती र त्यागी नेताहरु एमालेमै भएको भए गत स्थानीय, संघ र प्रदेश निर्वाचनमा एमालेले बहुमत आउने पक्का थियो । एमाले जस्तो कम्युनिस्ट पार्टीभित्र एकले अर्काको खुट्टा तान्ने र व्यक्तिवादी प्रवृत्ति हावी हुँदा पार्टीले यस्तो दूर्गति भोग्नुपरेको छ ।
त्यसैगरी उता आफूलाई प्रजातन्त्रको मसिया ठान्ने नेपाली कांग्रेसभित्रको कथा पनि त्यो भन्दा कम छैन । अहिले व्यक्तिपिच्छे गुट बनाउने र एकले अर्काको तेजोबध गर्ने प्रवृत्ति कांग्रेसभित्र हावी भएको छ । किन कि कांग्रेस पार्टीभित्र पनि इमानदारीपूर्व देश र जनताको पक्षमा काम गर्ने नेताहरुलाई पाखा लगाउने गरिन्छ । जनताको पक्षमा काम गरेर राम्रो छवि बनाएको लोकप्रिये व्यक्तिलाई सकेसम्म पार्टीले टिकट नै नदिने दिएपनि बागी उम्मेदवार खडागरी हराउने प्रवृत्ति छ ।
यस्तो कांग्रेसले पनि यो दूर्गती भोग्नुपरेको छ । पार्टी यस्तो दूर्दसामा पुग्दा पनि कांग्रेसका शीर्ष नेताहरु भने व्यक्तिगत आफाइदाका लागि चाकडी, चाप्लुसी र पैसाको खोलो बगाउनेलाई टिकट दिने गर्दछन् । त्यसरी आफ्नो चुनावी क्षेत्रको परिचय नभएका व्यक्तिलाई केन्द्रले सिधै टिकट दिएर पठाउँदा जति गठबन्धन गरेपनि चुनावमा हार खानु परेको छ । (तामाकोशीसन्देशबाट)