संघीयता विरोधी मत माओवादी केन्द्रमा पनि प्रवेश ग-यो

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर महिनामा संघीयसँगै प्रदेश निर्वाचन एकैसाथ सम्पन्न हुने मिति तय नभएपनि चुनाव हुनेभने निश्चित भएको छ । आमनिर्वाचन र प्रदेश निर्वाचन नजिकिँदै जाँदा एकातिर चुनावी वातावरण तत्न थालेको छ । अर्कोतिर संघीयतामाथि चर्को बहस सुरु भएको छ ।

मुलुकको अर्थतन्त्रले संघीयतालाई धान्न नसक्ने चर्चा एकातिर भइरहेको छ । अर्कोतिर मुलुकको भौगोलिक अवस्थाको कारण संघीयता आवश्यक नभएको तर्क पनि त्यसैगरी उठिराखेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका कतिपय नेताहरुले संघीयताका सम्बन्धमा चर्को बहस गरिराखेका छन् ।

उता माओवादी केन्द्रले भने संघीयतालाई आफ्नो १० वर्षे सशस्त्र विद्रोको महान् उपलब्धी भनेर प्रतिरक्षा गर्ने र संघीयताका विपक्षमा बोल्ने अन्य पार्टीका नेताहरुलाई प्रतिगामीको बिल्ला भिराइदिने गरेको छ ।

तर, संघीयताका सम्बन्धमा यसरी चर्को बहस भइरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले भने मुलुकका लागि प्रदेश सरकार आवश्यक नभएको भन्दै केन्द्री र स्थानीय सरकार मात्र मुलुकका लागि आवश्यक भएको उल्लेख गरेर सार्वजनिक टिप्पणी गरेका छन् ।

नेता देव गुरुङले संघीयताका सम्बन्धमा गरेको यो निप्पणी माओवादी केन्द्रको आधिकारिक विचार हो कि होइन भन्ने प्रष्ट भएको छैन । तथापि अहिलेसम्म आफ्नै कारण र विद्रोहले संघीयता ल्याएको दावी गर्ने माओवादी केन्द्रमा पनि देव गुरुङको यो भनाइले संघीय सम्बन्धी बहस माओवादी केन्द्रमा छिरिसकेको छ ।

प्रदेश चुनावको समेत मुखमा नै माओवादी केन्द्रका वरिष्ठ नेता यसरी प्रदेश सरकारको औचित्य नभएको भन्दै संघीयतामाथि नै औला ठड्याउने गरी आफ्नो मत राख्नुलाई राजनीति क्षेत्रले अर्थपूर्ण रुपमा लिएको छ । अब संघीयता सम्बन्धी बहस माओवादी केन्द्रमा ठूलो रुपमा प्रवेश गर्ने सम्भावना रहेको गुरुङको यो भनाइले संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *