विकास निरन्तर चलिरहने प्रकृया हो । टुङ्गिने विषय होइन । जती भए पनि चित्त नवुझ्ने वा नसकिने कुरा नैं “विकास” हो । संयूक्त राष्ट्र संघले दिगो विकास भन्ने गरेको छ । सामाजिक, आर्थिक र वातावरणीय तिनवटै पक्षको सन्तुलित अवस्थालाई दिगो विकास मान्ने गरिएको छ । नेपालको सन्दर्भमा भौतिक, सामाजिक, आर्थिक, प्राकृतिक र मानविय पक्षहरु भन्ने गरिन्छ । यी ५ पक्षमा सन्तुलित प्रगती नैं विकास हो । विगतका तुलनामा यी ५ वटै पक्षहरु सकारात्मक परिवर्तन वा उपलव्धीहरु भएका छन् ।
हामी साना हुँदा मोटर चढ्न पाउनु विकास थियो । सडक खन्ने क्रममा प्रयोग हुने ट्याक्टर पछि पछि दौडने हामी नैं हो । खरका छानो भएका घर हुन्थ्ये । कोठा भनेको के हो थाहा हुँदैनथ्यो । अलि हैसियत हुनेको ढुँङ्गा वा झिंगटी वा टायलको छानो हुन्थ्यो । अहिले यस्ता छाना भएका घर देख्न मुस्कील पर्न थालिसक्यो । खर र फल्याकको छानो भनेको त के हो पछिल्ला पुस्ताका धेरैलाई पत्तो नैं छैन । घर घरमा सडकै नचले पनि डोजर दौडाएकै छौं । प्राय हरेक घरमा कम्तीमा मोटरसाइकल हुन थाली सकें ।
टिभी नभएको घर पाउन मुस्कील छ । कोठा नैं पिच्छे टिभी सेट भित्तामा टाँसीने भैसके । २०४६ साल तिर टिभी हेर्न २ किलोमिटर टाढा जाने गर्दथ्यौं । हाम्रो घर नजिकको टिभी भनेको फूलवारी शंकर थापा (दाई)को थियो । त्यो पनि श्यामश्वेत अनी पछाडीको भाग ठुलो भएको थियो । घरको छानोमा ठड्याएका एन्टेना घुमाएर “आयो, आयो, आएन, गयो” भन्ने गरिन्थ्यो । रामकोट देखिका मान्छे साँझमा टर्च वा राँको वालेर टिभी हेर्न लागेको हिजो जसतो लाग्छ । आज त्यस्ता टिभी पातला र चिटिक्क परेर हरेक कोठमा छिरि सके । हात हातमा मोवाइल छ । त्यसवाट विश्वका कुरा थाहा पाउन सकिन्छ । भौतिक विकास यहि हैन र ?
हामी सानो हुँदा औपचारिक शिक्षा पाउनु विकास थियो । म भन्दा ५ वर्ष जेठी दिदीले पढ्न पाएन । पहिला एसएलसी पास भएका मान्छे विरलै पाइन्थ्ये । अहिले नपढेका मान्छे खोजे पनि पाइन्न । हामी सानो हुँदा विद्यालय जान ३,४ घण्टा हिड्नु सामान्य कुरा थियो । अहिले टोल टोलमा भैसके । छोराछोरीको शिक्षा कैं लागी शहर वजारमा कोठा भाडा लिइ वस्ने चलन पनि वढि सक्यो । शिक्षकले कालोपाटीमा लेख्दा चकको सानो टुक्रा भुईमा खसेको टिप्न हामी दौडादौड गर्दथ्यौं ।
त्यो वेलाको “चक डस्टर” भन्ने कुरा यूट्यूवमा खोज्दा मात्र पाइन्छ होला । यो के विकास हैन र ? यो नैं हो नी मानविय विकास । मेरो जेठो दाजु नेपालगँजमा जागीर गर्नुहुन्थ्यो । उहाँले लेखेको पत्र ३ महिनामा हाता पर्दथ्यो । कहिलेकांही सम्वन्धीत मान्छे भन्दा पत्र पछि आइपुग्थ्यो । अहिले विश्वको कुनै कुनावाट अनुहार हेरेर दैनिक कुरा गर्न सक्छौं । के यो विकास होइन र ?
विद्यालयमा १ वजे छुट्टी हुन्थ्यो । त्यो “टिफिन ट्याइम” भनेको खेल्ने समय भन्ने वुझाइ थियो अहिले पनि मेरो दिमाखले त्यही वुझ्दछ । अहिले सवै विधार्थिहरुले दिउँसो खाजा खाने गरेका छन् । विधार्थीहरुका लागि सरकारले समेत खाजाको प्रवन्ध गरेको छ । वर्षको २ पटक नयाँ लुगा लगाउन पनि मुस्कील पर्दथ्यो । अहिले मैलो र अलिकती फाटेको लुगा पनि लगाइन्न । साना देखी ठुलासम्मका गोजीमा २,४ सय नहुने कुरै छैन । मोवाइलवाटै पैसा साटासाट तथा खर्च गर्न मिलि हाल्छ । के यो विकास होइन र ?
विहान वेलुका खान पनि धौ धौ थियो । अहिले त्यसतो अवस्था त्यती धेरैको पाइन्न । पहिला साहुको चर्को व्याजको विकल्प थिएन अहिले गाउँ टोलमा सहकारी गठन भएका छन् । २,४ हजार लिन दिन सहज भएको छ । म सानो हुँदा हाम्रो घरमा महिनाको ५ हजार प्रवेश गर्न मुस्किल पर्दथ्यो होला तर हाम्रा आमा बुबाका छोरा छोरी सवैको मासिक कारोवार जोड्ने हो भने ५ लाख भन्दा वढि हुन्छ होला । के यो आर्थिक विकास हैन र ?
प्रायः धेरैले जग्गा जमिन जोडेका छन् । प्राकृतिक स्रोतका कुरा गर्दा पहिला भन्दा अहिले वन क्षेत्र नैं ५ प्रतिशत वढेको छ । प्रायः धेरै घरमा विजुली वलेको छ । पानीलाई सम्पतीमा रुपान्तरण गरिएको छ । यो के विकास होइन र ?
पहिला जातभातको ठुलो खाडल थियो । हामीलाई अरुको घरमा गएर खाना खाने अनुमती थिएन अहिले हाम्रो घरमा कसैको आगमन रोकिन्न । मलाई जस्को घरमा पनि खाना वन्देज छैन । यस्ता भेदभाव विस्तारै कम हुँदैछ । सवै धर्म आस्था राख्ने प्रति सद्भाव रहेको छ । आदीवासी जनजाती, महिला दलित, विपन्नहरुको सशक्तिकरणका लागि समावेशी अवधारणा लागु भएको छ के यो सामाजिक विकास होइन र ? तथापी अपेक्षाकृत हुन सकेको छैन होला ।
विकास भनेको त्यही नैं हो तर यसैमा चित्त वुझाएर पुग्यो भन्ने कदापी हैन । विर्सन नहुने कुरा पूर्ण सन्तुष्टी कहिल्यै हुँदैन त्यसै गरी पूर्ण विकास पनि संभव छैन । तर त्यो असंभव वाटो तर्फ सधै लागि रहनु पर्दछ । तर साना साना कुरामा पनि सन्तुष्टी लिन सक्नु पर्दछ । विहान शौचालय जाँदा एकै चोटी पेट सफा भैं खलास भएमा त्यो पनि खुसीको विषय हो । त्यसैले विकास र सन्तुष्टी सापेक्ष रुपमा हेर्न सान्दर्भिक हुन्छ । अघिल्लो भन्दा पछिल्लो झन राम्रो हुनु पर्दछ । विहानको भन्दा वेलुकाको खानाबाट मिठो र सन्तुष्टी आवस अनी अर्को दिनको त्यो भन्दा पनि राम्रो होस् । प्रगती र विकास पनि त्यस्तै हो । निरन्तर उपलव्धी भैरहोस तर टुङ्गिदैन भन्ने वुझौं ।
त्यसैले अझ धेरै गर्नु छ तर विकास भएको छैन भनेर भन्नु पनि हुँदैन । साना साना उपलव्धीलाई पनि स्वीकार गरौं । त्यसले गर्दा अझ प्रगतीको लागि उत्प्रेरणा जगाउन सक्छ । विकास भनेको निरन्तर चलिरहने प्रगतीको पथ हो भनेर विर्सनु हुँदैन । यस सन्दर्भमा एक कथा धेरै पहिला देखि चलिआएको छ ।
परापूर्वकालमा एक जना सिद्ध तपस्वी बाबा रहेछन् । उनीले तन्त्रमन्त्रवाट भुतलाई कव्जामा लिने कोशिस गरेछन् । बाबाको नियन्त्रणमा आउनु अघि त्यो भुतले मवाट के काम लिन चाहानुहुन्छ भन्ने प्रश्न गरेछ । तव बाबाले मेरो काम गर्नु पर्छ भनेछन् । भुतले पुनः भनेछ म तपाईले अहएको काम गर्छु तर ःमलाई तपाईले दिएको काम सकिनासाथ अर्को काम दिनु पर्छ नत्र म तपाईलाई नैं खाईदिन्छु भन्ने शर्त राखेछ । बाबाले पनि खुुसी ुहँदै काम कति हुन्छन् हुन्छन्, जती पनि काम लगाउन सकिहाल्छु नी भन्ने सोचेर शर्त मञ्जुर गरेछन् ।
बाबाले भुतलाई एक पछि अर्को काम गर्ने आदेश दिन थाले ।
भुतले पनि एक पछि अर्को काम अविलम्व सकि पुनः काम माग्न थाल्यो । खेत खन्ने, पानी लाउने, रोपाई गर्ने, दाउरा चिर्ने लगायतका विभिन्न कामहरु एकै निमेषमा सिध्याउन थाल्यो । बाबाका गर्नु पर्ने कामहरु सवै सकिए । काम दिन नसके बावालाई वाँकी नराख्ने शर्त छ । अव बाबालाई डर लाग्न थाल्यो । आत्तिन थालीसकेका थिए के काम दिने भनेर ! जस्तो सुकै असजिलो र समय लाग्ने काम दिए पनि एक्कै क्षणमा समाप्त गरी दिने गर्दथ्यो । पछिल्लो काम सिध्याएर बाबाकोमा काम माग्न आईहाल्थ्यो ।
बावाको दिमाखमा के काम दिने भन्ने कुरा नैं आएन उनले देखेजती काम अराइसकेका थिए । बाबाले सोच वीचार गरेर एउटा वाँस काटेर ल्याउने आदेश दिए । तुरुन्तै वाँस लिएर आयो । अव आंगनको विचमा गाड भने । त्यो काम पनि तुरुन्तै ग¥यो । त्यसपछि बाबाले आदेश दिए वाँसको माथि चढ भने चढ्यो, अनी ओर्ली भने ओर्लियो ।
पुनः चढ ओर्ली भनी काम दिए । बाबाले यो काम अराउनु मतलव आफू वच्नको लागि मात्र थियो । भुतलाई गजवको काम दिन सकें भन्ने सोच्दै आरामले वसेका मात्र के थिए । भुत दु्रत गतीले तल माथि गर्दा वाँस नैं भाँचीयो । फेरि भुत आयो मलाई काम चाहियो भन्दै । वुढा अव साँच्चिकै आँत्तिन पुगे । अनी भनेछन् वावु तँलाई मैले धेरै दुःख दिएँ भैगो अव आफ्नै घर जा म तँलाई नियन्त्रणमा राख्दिन भनेछन् । भुतले हाम्रो शर्त वमोजिम काम गरौं भनेछ ।
बाबा झनैं आत्तिन थाले अनी फकाउन थाले भैगो मसँग काम त धेरै छ तर अरुलाई सित्तैमा कति काम लगाउनु, तँलाई म फुक्का गरी दिन्छु वरु अलि अलि पारिश्रमिक लिएर जा भने । भुत मान्दै मान्दैन शर्त वमोजिम काम गरौं मात्र भन्छ । बाबाको होस हवास् नैं उड्यो । अत्याँस परेका वेलामा बाबाको दिमाख झ्वाट्ट चलेछ अनी भनेछन् “त्यसो भए अव तिमीले विकास गर” । तव भुतले आँत्तिदै भनेछ मलाई अव तपाईले मारे पनि मार्नुस् तर म यो चाहिं सक्दिन । विकास गरेर कहिल्यै सकिदैन जती गरे पनि विकासे सन्तुष्टि हुँदैन भनी आफ्नो वाटो तताएछ । बाबाले पनि ज्यान जोगाउन सकेकोमा खुसी नैं भए ।
त्यसैले विकास भनेको कहिल्यै सम्पन्न हुने विषय होइन । यो निरन्तर चलिरहने प्रकृया हो । कथाको भुतले त नसकेको विषय हामी मानिसले पूर्ण विकास गर्न सक्ने कुरै भएन । तर निरन्तर लागि रहनु पर्दछ ।(तामाकोशीसन्देशबाट)