उद्योग वाणिज्य महासंघको महाधिवेशन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात !’

राजनीति सम्पादकीय

सम्पादकीय
नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत २८–२९ गते ५७ औं महाधिवेशन गर्दैछ । साना, मझौला, लघुउद्यम तथा ठूला व्यापारीहरुको हकहितका लागि गठित संगठन व्यापारीहरुको हकहितभन्दा पनि व्यक्तिगत फाइदा र राजनीतिक स्वार्थले तहसनहस भएको छ । अधिकाशं व्यापारीको हक हितको लागि भन्दा पनि आफ्नो स्वार्थको मात्र ध्याउन्न हुने गरेको छ । महासंघले ठूला व्यापारी तथा राजस्व छली गर्नेलाई पोस्दै आएको छ । उद्योग वाणिज्य महासंघ साना उद्यमीलाई प्रोत्साहन गर्नेभन्दा पनि ठुला व्यापारी र राजस्व छली गर्नेहरुको क्लब बन्दै आएको छ ।

अहिले अधिकांश व्यापारी पलायन हुने अवस्थामा छन् । बैंकको ब्याजदर बढ्दै गएको अवस्थामा महासंघले व्यापारीको पक्षमा बोल्न सकेको छैन । व्यापारीको हकहितभन्दा पनि आफ्नो स्वार्थका लागि महासंघमा जोडिने र पदाधिकारी बन्ने होडबाजी नै चल्ने गरेको छ ।

साना तथा मझौला खालका व्यापारीको हकहितअनुसार उद्योग वाणिज्य महासंघले काम गर्न सकेको छैन । खाली ठूला उद्योग र मारवाडी व्यापारी समूहको पालनपोषण गर्दै आएको छ । जब महाधिवेशन आउँछ, अनि उद्योग वाणिज्य महासंघमा प्यानल बनाएर निर्वाचनमा जाने गर्दछन् । तर निर्वाचनमा विजय भएपछि अधिकांश व्यापारीको हकभन्दा पनि आफ्नो हितमा लाग्ने र निर्वाचित भएर विभिन्न विश्वका मुलुकहरुमा घुमफिरमा लाग्ने गरेको पाइन्छ ।

महासंघका पदाधिकारीले आफ्नो स्वार्थ पुरा गर्ने र मन्त्री तथा सांसदलाई लिएर विदेश सयरमा जानेबाहेक अन्य केही काम गर्न सकेका छैनन् । वास्तविकतालाई हेर्ने हो महासंघ अस्तित्वविहीन छ । उद्योगीले आफ्नो कालाकर्तुत लुकाउन नेता बन्ने र राजस्व छल्ने काम गर्दै आएका छन् । नेपालमा उद्योग खोलेर जनतालाई रोजीरोटिको ग्यारेन्टी दिनुको सट्टा विदेशी लगानी पोसाउने र आफु पोसिने काम गर्दै आएका छन् ।

उद्योग वाणिज्य महासंघले लघु उद्यम, साना उद्योेग तथा व्यापारीलाई प्रश्रय दिनुको सट्टा ठुला व्यापारी पोस्ने, ठुला व्यापारीले गरेको गल्ती ढाकछोप गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने काम गर्दै आएको छ । महासंघले यस्तो बेथितीलाई अन्त गर्दै मुलुकको समग्र विकास, रोजगारी, लुघ तथा साना उद्योगलाई प्रोत्सान, ठुला उद्योग चलायमान र अर्थतन्त्रको बेथिती सुधार गर्न काम गर्न जरुरी छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *