कमरेड ! ‘तपाईहरु सक्कली कि नक्कली ?’

राजनीति समाचार

काठमाडौं । पार्टीले समेत जबजको लाइन छाडिसक्यो त्यसको जिम्मा जनवर्गीय संगठनले लिने हो ? यसरी एक पछाडि अर्काे प्रश्न बर्सिए पनि पुण्य ढकाल, भोला पोखरेल र केदार देवकोटाहरु मुख हेराहेर गर्न थाले । कार्यक्रम सञ्चालन गरिरहेका केदार देवकोटा पनि अप्ठ्यारोमा परे ।

प्रंसग हो सोमबार अल्फा बिटामा आयोजित पत्रकार सम्मेलनको । उही नाम,उस्तै लोगो र उही झण्डा राखेर दुई साता अघि मात्र प्रेमल कुमार खनालहरुले यस्तै पत्रकार सम्मेलन गरिसकेका थिए । सातौ राष्ट्रिय महाअधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको भन्दै उसले प्रेमल कुमार खनालको अध्यक्षमा वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा प्रभादेवी बज्राचार्य, रामप्रसाद रिमाल, योगेन्द्र यादव, किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी र शरणकुमार गुरुङ छानिएका छन् ।

महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, सीताकुमारी ओझा, पूर्णबहादुर बुढा, रामकुमार महत र विश्वनारायण मिश्र रहेका छन् । सचिवमा भवानी खड्का, विकास सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव रहेका कमिटि बनाएको घोषणा गरेको थियो । तर दुई साता पछि अर्याल होटलबाट पाँच सय मिटर परको दुरीमा पर्ने अल्फा बिटामा उस्तै पत्रकार सम्मेलन राखियो । साढे १२ बजेबाट शुरु भनिए पनि १ घण्टा ढिलो गरी कार्यक्रम शुरु भयो ।

महासचिवमा टीका लगाएका केदार देवकोटाले कार्यक्रम चलाए । केही प्रकाश गरे,विज्ञप्ती वाचन गरे । अनि शुरु भयो पत्रकारहरुको प्रश्नको बर्षा । भुँइबाट एक जना सञ्चारकर्मीले सोधे ‘अस्ति अर्याल होटलमा पनि यही लोगो,यही झण्डा,यही नाम भएको संस्थाले कार्यक्रम आयोजना गरेको थियो । आज तपाईहरुले उही,नाम,उही लोगो र उही झण्डासहित कार्यक्रम गर्दै हुनुहुन्छ ?

अस्ति अर्याल होटलमा कार्यक्रम गर्नेहरु सक्कली कि तपाइृहरु सक्कली ?’अर्काेले प्रश्न सोझाए अब हामीले खनाल नेतृत्वको पेशागत महासंघ र ढकाल नेतृत्वको पेशागत महासंघ भनेर चिन्ने÷बुझ्ने हो । त्यही थपिए गंगा बराल,उनले एकै सासमा पाँच वटा प्रश्न राखें,तपाईहरुको मूल पार्टी एमालेले त जबज छाडिसक्यो भने तपाईहरुले जबजको भारी बोकेर हिड्ने हो ? अवधि नतोकिएको बारे पनि उनको जिज्ञासा थियो ।

उपलव्धी सुनाउन आयोजित कार्यक्रममा प्रश्नमाथि प्रश्न तेर्सिए पनि हालै टिका लगाएर अध्यक्ष चुनिएका पुण्य ढकाल,भोला पोखरेल उपाध्यक्ष र महासचिव बनेका केदार देवकोटाहरु कालो निलो भए । प्रेमल कुमार खनाल (एकीकृत समाजवादी) निकटका पेशागत महासंघ चलाउनेहरुले भने आफ्नो लोगो,झण्डा र नाम चोरेर कीर्ते गरेको र अहिले त्यही कीर्ते संगठनको नेतृत्व गर्न पुगेको आरोप लगाउँछन,पुण्यहरुको समूहमाथि ।

अस्ति चैत्र २३ र २४ गते ललितपुरमा महासंघको कार्यक्रम राखेर नयाँ नेतृत्व चुनिएको हो । पुण्य ढकाल उपसचिवबाट स्वेच्छिक अवकाश रोजेर पेशागत महासंघको अध्यक्ष बन्न आइपुगेका छन् । कतिपय एमालेकै कर्मचारीहरु चाहिँ पेशामै नरहेको मान्छेले अब कसरी पेशागत संघ चलाउँछन् भन्दै प्रश्न गर्न थालेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *