पाँच महिनाभित्र संघ र प्रदेशमा दुईपटक सरकार परिवर्तन

राजनीति समाचार

प्रतिपक्ष दल एमाले पनि सत्ताको दाउपेचमा
काठमाडौं । केन्द्रीय राजनीति फेरिएसँगै विभिन्न प्रदेश राजनीति फेरिने क्रम करिवकरिव सकिएको छ । तर, ती प्रदेशहरुमा केन्द्रसँगै विकास निर्माणको कामहरु भने हुनसकेका छैनन् । छिटोछरितो र सुस्तदुरुस्त विकास निर्माणको काम हुन्छ भनेर देशमा संघीयताको अवधारणा ल्याइएको थियो । उक्त अवधारणा अनुसार नेपालमा सातवटा प्रदेश गठन गरिएको थियो । त्योसँगै प्रदेश सरकारले गर्ने कामको मापदण्ड पनि छुट्याएको थियो । तर, नेपालका कुनै पनि राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउन नसक्दा एकलौटी सरकार बनाउन सकेका छैनन् ।

तत्कालीन नेकपाले झन्डै दुईतिहाइ बहुमत ल्याएर चलाएको सरकार ४१ महिनाभन्दा बढी टिक्न सकेन । त्योसँगै नेकपा नेतृत्वको सरकार ६ वटा प्रदेशमा सञ्चालित थियो भने नेपाली कांग्रेसको सरकार २ नम्बर प्रदेशमा सञ्चालित थियो । त्यो हुँदा पनि प्रदेश सरकारले कुनै पनि ठोस काम गर्न सकेको थिएन । अहिले त एघारदलीय गठबन्धनको सरकार बनेको छ । त्यसले झन् के काम गर्ला ? अधिकांश प्रदेशहरुमा मिलिजुली सरकार बनने गरेको छ । मिलिजुली सरकारका कारण विकास निर्माणको काम गर्नुको सट्टा राजनीतिक भागबन्डामै सिमित हुने गरेका छन् ।

गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचन भएयता पाँच महिना हाराहारीमा केन्द्र र प्रदेश दुवै ठाउँमा दुईपटक सरकार परिवर्तन भइसकेको छ । अब पाँच वर्षभित्रमा कतिपटक केन्द्र र प्रदेशमा सरकार परिवर्तन हुनेहुन् एकिन छैन । केन्द्रीय सरकारमा अहिले ११ दलको समर्थनमा सरकार बनेको छ भने प्रदेशमा पनि त्यही हालतमा सरकार बनेको छ । यसरी राजनीतिक भागबन्डा मिलीजुली खाने गरी बनेको यो सरकारले देश र जनताको हितमा कसरी काम गर्छ ? त्यो यक्ष प्रश्न दलहरुबीच खडा भएको छ ।

त्यसकारणले गर्दा अहिले विकास निर्माणको कामदेखि सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका कामहरु ठप्प जस्तै भएका छन् । केन्द्रीय सरकारले गत चैत १७ गते मन्त्रिमण्डल विस्तार त गरेको छ तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाएको छैन । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण मन्त्रिमण्डलले अहिलेसम्म पूर्णता पाउन नसकेको हो । अझै पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनको निहुमा मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्ड भन्दै छन्, ‘आगामी वैशाख १० को उपनिर्वाचनपछि मन्त्रिमण्डलले पूर्णता पाउने छ ।’ त्योसँगै प्रदेश सरकारहरु पनि मन्त्रिमण्डल विस्तार गर्ने र राजनीतिक पार्टीको भागबन्डा मिलाउनमै व्यस्त छन् । कहिले कुन प्रदेशको सरकार ढल्छ त कहिले कुन प्रदेश सरकारले विश्वासको मत फिर्ता लिने गरेका छन् । त्यसकारणले गर्दा पनि अधिकांश प्रदेशहरुमा विकास निर्माणका कामहरु अलपत्र परेका छन् भने भष्टचार पनि त्यत्तिकै मौलाएको छ । त्योसँगै केन्द्रीय सरकारमा पनि अहिले विकास निर्माणका काम ठप्प भएको छ भने विभिन्न निकायमा भ्रष्टाचार मौलाएर गएको छ । त्यसप्रति सम्बन्धित निकायले ध्यान दिएको छैन भने उता प्रतिपक्ष दल नेकपा एमालेले पनि सरकारको विरोध गर्ने कामभन्दा व्यथिति, विसंगति र भ्रष्टाचारविरुद्धमा आवाज उठाउन सकेको छैन ।

बरु उल्टै एघारदलीय गठबन्धन सरकार कसरी भत्काउने र आफू सत्तामा पुगेर मिलीजुली खाने दाउ रचिरहेको छ । त्योसँगै एमालेभित्र अहिले इमानदार, देश र जनताप्रति काम गर्ने, पार्टी संगठनलाई बलियो बनाउने, विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने नेता, कार्यकर्ताहरु पार्टीबाट बाहिरिने क्रम पनि जारी छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *