नेपाल–भारतबीचको सीमाविवाद कहिलेसम्म ?

राजनीति समाचार

नेपालीको राजनीति बारम्बार परिवर्तन भइरहँदा उता छिमेकी मुलुक भारत–नेपालबीचको खुला सिमानाको बारेमा कुनै राजनीतिक दलले आवाज उठाउन सकेका छैनन् । उठाइहाले तापनि त्यो आवाज कागजमै सीमित हुने गरेको छ । नेपाल–भारतबीचको सीमा विवादमा वार्ताद्वारा त्यसको समाधान निकाल्ने भनिए तापनि अहिलेसम्म ठोस निष्कर्ष दुवै देशले निकाल्न सकेका छैनन् । नेपाल–भारतबीच सीमाविवादका बारेमा वार्ता भएको बताइए तापनि अहिलसम्म समाधान हुनसकेको छैन ।

कतिपय नेपालीहरु रोजीरोटीको लागि भारत जाने गर्दै आएका छन् । त्यसरी भारतमा रोजीरोटीका लागि जानेहरु चाडपर्व मनाउन भने नेपाल आउने गर्दछन् । नेपालीहरु भारतबाट नेपाल आउँदा सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मीहरुले चेकिङको नाममा पैसा लुट्ने र विभिन्न दुःख यातना दिने काम लामो समयदेखि गर्दै आएका छन् । यो क्रम नयाँ नभएर परापूर्वकालदेखि चल्दै आएको छ । त्योसँगै कतिपय नेपालीहरुलाई नदीका तुइन काटेर बीचमै अलपत्र पार्ने अथवा बेपत्ता बनाउने काम पनि नगरिएको होइन ।

एउटा असल छिमेकी मुलुकबाट यस्तो गैरजिम्मेवार र अमानवीय कार्य हुनु कति उचित हुन्छ ? यसप्रति दुवै मुलुकका सरकारले ध्यान दिएका छैनन् । त्यसैगरी सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी रहे तापनि त्यसबारेमा यस्ता अमानवीय व्यवहार भारतीय सुरक्षाकर्मीले गर्दा चुइक्क पनि बोल्न सक्ने अवस्था छैन । नेपाल–भारतबीच भएको खुला सीमानाका कारण चोरीनिकासी र विभिन्न आपराधिक गतिविधिहरु पनि त्यत्तिकै हुने गरेका छन् ।

यस्ता आपराधिक गतिविधिमा संलग्नहरु नेपालबाट भारत छिर्ने र भारतबाट नेपाल आउने क्रम पनि त्यत्तिकै छ । त्यसकारणले गर्दा नेपाल सरकार र भारत सरकारबीचको सम्बन्धलाई धमिल्याउने र आपराधिक गतिविधिहरु बढ्ने गरेका छन् । यस्ता गैरकानुनी गतिविधिलाई समयमै दुवै देशले समन्वयकारी भूमिका खेली सिमासुरक्षाको अनुशासित र मर्यादित व्यवस्थापन नगर्ने हो भने भोलिका दिनमा योभन्दा जटिल समस्या ननिम्तेला भन्न सकिन्न । त्यसकारण दुवै छिमेकी मुलुक नेपाल र भारत सरकारले मैत्रीपूर्ण वार्ता गरी सीमासुरक्षा बलियो बनाउनुपर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *