काठमाडौं । ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेजस्तै भएको छ यतिबेला नेपाली पत्रकारिता जगत । हिजो राजनीतिक दललाई सफल बनाउन यिनै पत्रकारहरुले कलम चलाए । जसको कारण उनीहरुको आन्दोलन सफल भयो र जहानीया राणा शासनदेखि एकदलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो । त्यसपछि २०६२÷६३ आन्दोलन छेड्नको लागि पत्रकारहरुले खेलेको भूमिकाको महत्वपूर्ण भूमिका सबै दलहरुले बिर्सिँदै गए । त्यतिबेला सबै दलनिकट पत्रकारहरुको बराबर भूमिका र हैसियत थियो ।
पत्रकारहरुले आ–आफ्नो दलनिकट श्रमजीवी संघ, संगठन निर्माण गरी राजनीतिक दलहरुको पचारप्रसारमा होमिएका थिए । अहिले त्यसरी राजनीतिक बिटमा कलम चलाएर पार्टीलाई निस्वार्थ रुपमा सहयोग गर्ने पत्रकारहरुलाई चटक्कै बिर्सेर चाकडी, चाप्लुुसी गर्ने र अरौटे, भेरौटेलाई काखी च्याप्ने काम सबै दलहरुले गरेका छन् । यस्तो प्रवृत्ति अहिले सबै दलमा हावी भएको छ । तर, पत्रकारिता क्षेत्रमा लामो योगदान गरेका, पार्टीको अवस्थाबारे विश्लेषण गरेर लेख्न र बोल्न सक्ने खुबी भएका अनुभवी, योग्य र सही सल्लाह दिने पत्रकारहरुलाई बाइपास गर्ने चलन पछिल्लो समय हावी भएको छ ।
पार्टी निकट संघ, संगठनमा पनि पार्टीको भन्दा गुटको नेताको गुनगान गाउनेलाई नेतृत्वमा पु¥याइन्छ । तिनीहरुले सिंगो पार्टीको हितमा भन्दो व्यक्तिगत नेताको प्रचार गर्ने प्रवृत्तिले पार्टीहरु तहसनहस हुँदै गएका हुन् । त्यस्तै व्यक्तिलाई संघ, संगठनको नेतृत्व, पत्रकार महासंघको टिकट, राजनीतिक नियुक्ति र पुरस्कार दिइने गरिन्छ । तर, निस्वार्थ रुपमा पार्टीको सिद्धान्तमा अडिक भएर कलम चलाउने, नेताको भन्दा पार्टीको हितमा लाग्ने, चाकडी चाप्लुसी गर्नेको बिरोध गर्ने, राष्ट्र, राष्ट्रियता र जनताको हितमा कलम चलाउने पत्रकारहरुलाई पुरै बाइपास गर्ने चलन अहिले छ ।
यतिबेला त्यसको गतिलो उदाहरण बनेका छन् नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल र नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन एकीकृत समाजवादी प्रेस संगठन । त्यसको पछिल्लो उदाहरण बनेको छ प्रेस सेन्टर नेपाल । उसले गत शनिबार अनामनगरको सिलौटो रेष्टुरेन्टमा साधारण सभा सम्पन्न गरेको थियो ।
त्यसको प्रमुख अथिति थिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ । उक्त साधारणसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि भइरहँदा अन्य अथितिमा भने त्यस्ता दिग्गज पत्रकार नभएर संगठन र पेशामा नदेखिएका र नचिनिएका व्यक्तिहरुलाई आसिन गरिएको थियो । तर, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र प्रदेश सल्लाहकार रहेका व्यक्तिहरुलाई भने दर्शक दीर्घामा राखिएको थियो । त्यसैगरी पत्रकारिता पेशामा ख्याति कमाएका क्रियाशील पत्रकारलाई पनि दर्शक दीर्घामा राखिएको थियो ।
अतिथिमा आसिन ती अपरिचित पत्रकारहरुले भने पत्रकारिता क्षेत्रभन्दा बाहिरका विषयवस्तु ल्याएर पट्यार लाग्दो भाषण गरिरहेका थिए । संगठनभित्र यस्तो विकृति भएपछि दर्शक दीर्घामा रहेका क्रियाशील पत्रकारहरु दिक्दार बनेका थिए । प्रेस सेन्टर नेपालभित्र यस्तो विकृति, विसंगति छाएको छ भने नेपाली कांग्रेस र नेकपा एमाले निकट पत्रकारहरुको संगठनको हालत झन् कस्तो होला ? (तामाकोशीसन्देशबाट)