सञ्चारमन्त्री रेखा शर्माको आग्रह लागू होला त ?

राजनीति समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिला दिदीबहिनी तथा बालबालिकाहरुलाई मनोरञ्जनयुक्त विज्ञापनको साधन नबनाउँ भनिरहँदा विगत लामो समयदेखि नेपालमा स्वेदेशीदेखि विदेशीको लगानीमा खोलिएका उद्योगधन्दा, कम्पनीहरुमा विज्ञापनको साधनको रुपमा महिला दिदीबहिनी र बालबालिकाहरुलाई उपयोग गरिँदै आएको पाइन्छ ।

पछिल्लो समय त झन् महिला दिदीबहिनीहरुलाई ठुल्ठूला होटेल, रेष्टुरा, बैंक वित्तीय क्षेत्र, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, उत्पादनमूलक सामग्रीलगायतमा ठूला–ठूला होडिङ बोर्डहरु बनाएर महिला दिदीबहिनीहरुको अर्धनग्न तस्विरहरु प्रदर्शन गर्दै विज्ञापन गरेको पाइन्छ । त्योसँगै च्याउसरी खोलिएका स्कुल, कलेजहरुले पनि विद्यार्थी भर्ना तथा आफ्नो संस्थाको प्रचारप्रसार गर्नको लागि पनि ठूलाठूलो होडिङ बोर्ड र टिभीको स्क्रीनमा महिलाको सिन र तस्वीरहरु राखी विज्ञापन गर्ने गर्दछन् । अहिले अधिकांश टेलिफिल्मदेखि ठूलो पर्दामा फिल्ममा समेत महिलाहरुलाई उपयोग गर्ने गरिन्छ ।

त्यस्तै अधिकांश नेपाली सञ्चारमाध्यमहरुमा महिलाहरुलाई विज्ञापनको रुपमा प्रयोग गर्ने गरिन्छ । यसले के देखाउँछ भने महिलाहरु चाहीं मनोरञ्जनका साधन नै हुन् । हुन त कतिपय पुरुषहरु पनि विज्ञानमा नदेखिएका होइनन् । तर, देखिए तापनि कलाकार पुरुषहरुमात्रै त्यस्ता विज्ञापनमा देखिने गरेका छन् । तर, महिलाहरु भने बिना सेलिब्रेटी पनि अनुहार राम्रो बनाएर चाहिने नचाहिने सिनहरु राखेर ती महिला दिदीबहिनीहरुलाई कम्पनी, उत्पादन र उद्योगको प्रसारप्रसारमा प्रयोग गर्ने गरिन्छ ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसो भनीरहँदा ती महिला दिदीबहिनीहरुलाई मनोरञ्जनयुक्त विज्ञापनमा प्रयोग गर्नबाट रोकिएला त ? यस्ता विषयमा पहिलादेखि विभिन्न पार्टीका नेताहरुले पटक–पटक कुरा नउठाएका होइनन् । तर, अवसर पाएपछि ठूला नेताहरुका छोराछोरीहरु नै पैसाको लोभ र आफ्नो सौन्दर्यता प्रदर्शन गरी चर्चा कमाउने नाममा सौन्दर्य प्रतियोगितामा समेत नरमाएका होइनन् ।

ठूला नेताका छोराछोरीले नै सौन्दर्य प्रतियोगितामा भाग लिन होडबाजी र सोर्सफोर्स लगाएर आफू चर्चाको शिखरमा पुग्ने गरेका छन् । देखासेखीका कारणले पनि अन्य महिला दिदीबहिनीहरु विज्ञापनमा प्रयोग हुन मरिमेटेर लाग्ने गरेका छन् । सौन्दर्य प्रतियोगिताको आकर्षणले अहिले बैंक, उद्योग, धन्दा, व्यापार व्यवसायमा अन्य पेशाका महिला दिदीबहिनीहरु पनि लागिपर्ने गरेका छन् । यस्तो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मञ्चमा बोलिरहँदा आगामी दिनहरुमा यो विषयले सार्थकता पाउँला त ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *