झोलामा खोला बोक्नेहरुबाट जततातै ठगीधन्दा

राजनीति समाचार

काठमाडौं । कुनै जमानामा हाइड्रो कम्पनी खोल्नको लागि राजनीतिक दलदेखि ठूला व्यापारिक घरानाका व्यक्तिहरुले नेपालका पानी भएका नभएका खोल्साखोल्सीसमेत दर्ता गरेर राखेका छन् । यीमध्ये केही थोरबहुत पानी भएका खोलाबाट बिजुली उत्पादन पनि गरिसकेका छन् । केहीबाट विद्युत् उत्पादन गरिए पनि ठूलो संख्यामा हाइड्रोपावर दर्ता गरेर झोलामा खोला हालेर ठाउँ ओगट्ने काम भइरहेको छ ।

अहिले जलविद्युत् उत्पादनको नाममा रातारात अर्बपति बन्न आफूले दर्ता गरेको हाइड्रोपावर कम्पनीको सेयर निष्कासन गर्ने होडवाजी नै चल्ने गरेको छ । यतिबेला त्यसको उदाहरण बनेको छ, सिन्धुपल्चोक जिल्लास्थित सिन्धुज्वाला हाइड्रोपावर कम्पनी । उक्त कम्पनीका सञ्चालकहरुले सर्वसाधारणलाई आकर्षक प्रलोभन देखाएर शेयर निश्कासन गरी ५५ करोड रुपैयाँँ झ्वाम पारेका छन् । यसरी विद्युत कम्पनीबाट कुनै आम्दानीबिना शेयर निश्कासन गरेर सर्वसाधारणको पैसा हिनामिना गरेपछि लगानीकर्ताबीचबाटै विद्रोह सुरु हुन थालेको छ ।

सिन्धुज्वाला हाइड्रोपावर कम्पनीले नेस्सम खोलामा बाँध बाँधेर ४३ मेगावाट विद्युत् उत्पादन गर्ने र लगाकर्ताहरुलाई तीन वर्षपछि लगानी गरेको रकमको ब्याजसहित प्रतिफल उलब्ध गराई छोटो समयमै सम्पूर्ण लगानी उठाउने भनिएको थियो । यसरी छोटो समयमै सबै लगानी उठाइसकेपछि सित्तैमा लगानीकर्तालाई विद्युत कम्पनीको शेयर होल्डर बनाइदिने भनेर प्रलोभनमा पारेको थियो । त्यसमा तत्कालीन महालेखा परीक्षकका परीक्षक बद्रीबहादुर कार्की र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, व्यापारी चुनबहादुृर श्रेष्ठलाई देखाइएको थियो ।

यसरी ठूला व्यापारी प्रतिष्ठित व्यक्तिको नाम भजाएर सर्वसाधारणलाई प्रलोभवनमा पारी करोडौंको शेयर विक्री गरिएको थियो । त्यसरी उठाइएको ५५ करोडमध्येबाट १५ करोड रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरी बाँकी ४० करोड रुपैयाँ सञ्चालकहरुले हिनामिना गरेको आरोप सेयरधनी र लगानीकर्ताहरुले लगाएका छन् ।

यसरी शेयरको नाममा उठाइएको रकम कम्पनीमा लगानी नगरी सञ्चालकहरुले हिनामिना गरेपछि अहिले आएर शेयरधनीहरुले रकमको हिसाबकिताब माग गरेका छन् । शेयरधनीहरुले रकमको माग गरेपछि गोविन्द पोखरेलले उक्त रकम आफूले हिनामिना नगरी बद्रीबहादुर कार्की र चुनबहादुर श्रेष्ठले झ्वाम पारेको आरोप छ । कार्की र श्रेष्ठले भने पोखरेलकै डिजाइनमा ४० करोड रुपैयाँ झ्याप पारेको प्रतिआरोप लगाएका छन् । तर, पोखरेलले भने आफू सञ्चालक समितिमै नरहेको जिकिर गरेका छन् ।

किन भने सञ्चालक समितिमा रहनको लागि न्यूनत शेयर रकम ४ करोड ५० लाख हुनुपर्छ । यसमा ४ करोड ५० लाख लगानी हुनेलाई मात्र सञ्चालक समितिमा राख्ने भनिएको थियो । तर, आफ्नो शेयर ७० लाख मात्रै रहेकाले आफू कम्पनीको सञ्चालक समितिमा नरहेको भन्दै पोखरेल जिम्मेवारीबाट बाहिरिन खोजेका छन् । उक्त सिन्धुज्वाला हाइड्रोपावर कम्पनीको कार्यालय काठमाडौंको पेरिस डाँडामा रहेको छ । यस कम्पनीमा व्यापारी चुनबहादुर श्रेष्ठले महेश तामाङ र मनोजकुमार दुलाललाई अगाडि सारेर कम्पनीका अध्यक्ष अर्जुबन्धु रेग्मीलाई कार्यालयबाट खेदाइ अबदेखि यस कार्यालयमा प्रवेशसमेत नगर्नु भनिएको छ ।

उक्त कार्यालयमा प्रवेश गर्नुभयो भने जे पनि हुन सक्छ भन्ने धम्की समेत रेग्मीलाई दिएको समाचार स्रोतले उल्लेख गरेको छ । यो त झोलामा खोला हालेर हिड्नेहरुको एउटा उदाहरण मात्रै हो । अहिले नेपालमा यस्तो हाइड्रो पावर कम्पनी देखाएर सर्वसाधारणको पैसा खानेहरुको बाढी नै आएको छ । यसरी पानीको स्रोत र मापदण्ड नै नभएको खोलाहरुको नाममा विद्युत उत्पादन गर्ने भनेर दर्ता गरिएका थुप्रै कम्पनीहरु अलपत्र अवस्थामा रहेका छन् । यसरी नियमबिपरीत खोलिएका हाइड्रो पावर कम्पनीहरुको नियमन तथा अनुगमन न राज्यले गरेको छ न त सम्बन्धित निकायले नै ध्यान दिएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *