सिंहदरबारभित्र जात्रैजात्रा

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरु अहिले सदनदेखि सडकसम्म नीति तथा कार्यक्रमको विरोध गरिरहँदा सिंहदरबारभित्र भने अहिले ट्राफिक जाम बढेको छ । यसरी सिंहदारभित्र ट्राफिक जाम भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, सिंहदरबारभित्र मोटरसाकिल र गाडी पार्किङले ठाउँ भरिँदा ट्राफिक प्रहरी सिठ्ठी फुक्दैमा हैरान हुने गरेको पाइन्छ ।

वास्तवमा भन्ने हो भने नेपाल सरकारका जनप्रतिनिधि र कर्मचारीहरुको गाडी मात्र पार्किङ गर्ने स्थल हो सिंहदरबारभित्र । त्यो पनि सम्बन्धित मन्त्रालयको वरिपरि मात्रै । तर, अहिले सिंहदरबारभित्र गाडी र मोटरसाइकिल राख्नेहरुको भीड त्यत्तिकै बढेर गएको छ । नेपाल सरकारले प्रयोग गर्ने पार्किङमा प्राइभेट गाडी र मोटरसाइकिलले भरिभराउ छन् । काठमाडौंको सिंहदरबार गाउँगाउँमा पुग्यो भन्ने नारा दिइए तापनि अहिले सिंह दरबारभित्र छिर्नको लागि पास माग्नेहरुको घुइचो त्यत्तिकै छ ।

अफिस समयमा सिंहदरबारभित्र कुनै ठाउँको हाटबजार जस्तै भिडभाड देखिन्छ । तर, नेपाल सरकारले यस्तो विषयमा भने ध्यान दिएको पाइँदैन । अनावश्यक भीडभाड बढेपछि सुरक्षामा खटिएका प्रहरीहरुलाई बिनाकाम हैरान हुने गरेको छ । त्योसँगै कतिपय सेवाग्राहीले काम लिनबाट बञ्चित हुनुपरेको छ । अहिले दशदलीय गठबन्धन सरकार भएका कारण पनि पार्टीका कार्यकर्तादेखि मन्त्रीहरुका आफन्तले अनावश्यक भीड बढेको हो । कतिपय राजनीतिक दलका कार्यकर्ताहरु बिनाकाम पास मगाएर खाजा, भात खानेको लागि पनि गाडी, मोटरसाकिल लिएर सिंहदरबार छिर्ने गर्दछन् ।

यो त एउटा उदाहरण मात्रै हो । अहिले नेपाल सरकारका कर्मचारीहरुलाई दिँदै आएको सवारी साधन र इन्धन सुविधा कुन तहको कर्मचारीले पाउने हो भन्ने मापदण्ड समेत छैन । जुनसुकै तहका कर्मचारीले पनि सवारी साधन र इन्धनको सुविधा लिएकै छन् । त्यसकारणले पनि राज्यको सम्पत्ति दुरुपयोग हुँदै आएको छ । त्यति मात्रै होइन मन्त्रीका आफन्तहरुले समेत सरकारी गाडी र इन्धनको दुरुपयोग गर्ने गरेका छन् । त्यस्तै कर्मचारी वर्गहरुले पनि आफ्नो हैसियत अनुसार नातागोता र आसेपासेलाई अनावश्यक रुपमा सरकारी गाडी र इन्धन दिइने गरेका छन् । त्योसँगै तेलको कुपन लिनेहरुको ताँति पनि त्यत्तिकै हुने गरेको छ ।

यसरी तेलको कुपन लिनेमा म पत्रकार हौं भनी दावी गर्नेहरु पनि पर्दछन् । त्यसरी आफूलाई पत्रकार दावी गर्नेहरुको काम सिंहदरबार ओरिपरि घुम्ने र कुपनको व्यवस्था गर्नुप¥यो भन्ने यताको कुरा उता, उताको कुरा यता गरेर विवाद सिर्जना गर्ने हो । त्यसैगरी विभिन्न पार्टीका संघ, संगठनहरु, विद्यार्थी संगठनका नेता, उच्च तहका कर्मचारीका आफन्त, नेता र मन्त्रीका आफन्त, प्रध्यापक, वकिल, उच्च तहका प्रहरीलगायतले सरकारी गाडी र इन्धनको दुरुपयोग गर्दै आएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *