संघिय गणतन्त्रका मलामीहरु

समाचार

दलका शीर्ष नेताहरु एक पछि अर्को भ्रष्टाचारको काण्डहरुमा मुछिएका छन । नेपाल दण्डहिनता र अराजकताको चरणबाट गुज्रीरहेको हुँदा भ्रष्टाचारी र अपराधी दलका नेताहरु सजिलै र सहजै दण्ड सजाय पाउनबाट बच्ने गरेका छन । यदि कुनै दलका नेताहरुलाई अदालतले प्रमाणको आधारमा सजाय गरीहाले पनि कार्यकारणीको अधिकार प्रयोग गरी आम माफी दिने गरेका छन । आजै मात्र मानवहत्या गर्ने जस्तो जघण्य अपराधमा आजीबन काराबासको सजाय पाएको नेता रेशम चौधरीलाई ढल्नै आँटेको संघिय गणतन्त्र पर्वको उपलक्षमा राष्ट्रपतिवाट बाँकी सजाय माफी पाएर जेलमुक्त भएका छन् । दलका नेताहरुले आफ्ना राजनीतिक स्वार्थहरु पुरा गर्नको लागि सत्ताको दुरुपयोग लगातार यसरी गर्दै आएका छन । सत्ता सम्हालेर बसेका दलका नेताहरुले नियम कानुन नै तोड्दै बदल्दै पटक पटक व्यवस्थापिका संसदको काम देखि लिएर न्यायपालिकाको कामलाई समेत हस्तक्षेप गरी बिथोल्ने गरेका छन । वर्तमान अवस्थामा नेपालको न्यायपालिकालाई पंगु बनाउने काम चरम उत्कर्षमा पुगेको छ । दलका शीर्ष नेताहरुको हित हुने गरी फैसला नगर्ने न्यायाधिशहरुलाई महाअभियोग लगाएर निलम्वनमा राखी न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता प्रभावित तुल्याउने सम्मको दुष्ट्याई गरी दलका शीर्ष नेताहरुले नेपाली जनतालाई केही उदाहरणहरु पेश पहिले नै गरीसकेका छन । यो सबै राजनीतिक चलखेल दलका नेताहरुले राष्ट्रको हितको लागी गरेको नभई आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नको लागी गरेका हुन । भ्रष्टाचारमा लिप्त दलका नेताहरुलाई कसैले औलो ठाडो गर्न नपाईने कसैले हिम्मत गरी औंला देखाई हालेमा उसैलाई गैरकानुनी तरिकाले तहलगाउने प्रवृत्ति दलका नेताहरु भित्र हाबी भएका छन् । दलका नेताहरु भ्रान्ती फैलाउनमा धेरै खप्पिस छन । भ्रान्ती फैलाएकै भरमा तत्कालिन राजतन्त्र र पञ्चायती व्यवस्थालाई बदनाम तुल्याएर नेपाली जनतालाई विद्रोहमा उतारी नेपालको राजकिय सत्ता हत्याउने सफलता प्राप्त गरेका थिए ।
नेपाली जनतालाई आस देखाएको बिषय वस्तुहरु सत्तामा पुगेपछि दलहरुले कुनै पनि पुरा गरेका छैनन् । राजपरिवारलाई स्वीस बैंकमा पैसा राखेको आरोप दलहरुले लगाएकोमा सत्तामा पुगेपछि दलका नेताहरुले अहिले सम्म कार्यबाही चलाएर प्रमाणीत गर्न सकेको छैन । स्वर्गबासी राजा वीरेन्द्रको बंशनै नास हुने गरी भएको हत्या काण्डको आरोप पूर्व राजा ज्ञानेन्द्र माथि दलहरुले लगाएकोमा सोपनि कार्यबाही चलाएर दलका नेताहरुले अहिले सम्म कुनै ठोश प्रमाण भेट्टाएर नेपाली जनतालाई देखाउन सकेको छैन । त्यस्तै नेपाली जनतालाई आफ्नो पक्षमा पार्न दलका शीर्ष नेताहरुले अनेक शंकल्पहरु नेपाली जनता समक्ष गरेका थिए सोपनि आजका दिन सम्म सबै अधुरा नै छन । खासगरी सन् १९५० मा नेपाल भारतको बिच भएको संधि खारेज गर्ने, गोर्खा भर्ती केन्द्र बन्द गर्ने र जसको जोत उसको पोतको शिद्धान्त अनुसार क्रान्तिकारी भूमिसुधार गर्ने जस्ता प्रमुख बिषय वस्तुहरुलाई दलका शीर्ष नेताहरुले भुसुक्कै बिर्सेका छन । दलका नेताहरुले यिनै चिल्लो र चिप्ला कुराहरु गरी फैलाएको भ्रान्तीको पछाडि लागि दलका नेताहरुलाई राजतन्त्र र पञ्चायत व्यवस्थालाई फाल्न नेपाली जनताले सघाएका थिए । यसरी सत्तामा पुगेका दलहरुले सत्तामा पुग्ने बित्तिकै आफैले बिगतमा गरेका सबै शंकल्पहरु भुलेका छन । नेपाल राष्ट्रलाई वैदेशिक रोजागारीको घातक दुष्चक्रमा जाक्ने काम दलका नेताहरुले गर्दै नेपाल राष्ट्र माथि बिदेशी ऋणको भार बढाएर जटिल आर्थिक संकटको भुँमरीमा हालेका छन । दलका शीर्ष नेताहरुले नेपालको बिकास र समृद्धिको लागि हो भन्दै कमिसन खानको लागी फजुल बिकासका परियोजनाहरु बनाउँदै ऋणमा प्राप्त भएको विदेशी लगानीलाई डुबाउने काम गर्दै आएक छन । राजनीतिक निर्णय गरी बनाएका विकास परियोजनाहरुको आर्थिक र वित्तिय बिष्लेशन केही नगरेको हुँदा धेरै प्रतिफल नदिने र लगानीलाई निस्क्रिय बनाउने खालका मात्रै छन । उदाहरणको लागि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई लिन सक्छौ । त्यसैगरी रेल मार्ग, सिंचाई र भ्यूटावरहरु बनाउनका लागि दलका शीर्ष नेताहरुले अहिले सम्म गरेको वित्तिय लगानीहरु सबै फजुल खर्च नै हुन । दलका नेताहरुले अहिले सम्म नेपालमा रोजगारी खुलाउन सकेको छैन । त्यसैले नेपालको युवाशक्ति डरलाग्दो किसिमले वैदेशिक रोजगारीमा गएका छन् । फलस्वरुप नेपालमा पहिले देखि नै कायम रहेको परिवारिक व्यवस्था नराम्रो सित असन्तुलित भइसकेको छ । नेपालको भविष्य भनेको युवाशक्ति नै भएकाले तिनै युवाशक्तिको डरलाग्दो पलायनले नेपाल राष्ट्रको भविष्यलाई नै अन्धकार तुल्याईसकेको छ । दलका नेताहरुले यो कुरा महशुस नगरेका हुन कि वा बुझेर पनि बुझ पचाएको हो भन्ने कुराको चर्चा गरी एउटा निष्कर्ष निकाल्नु नित्यान्त जरुरी भईसकेको छ । पहिले नेपाली जनतालाई भ्रमित तुलाएकै भरमा पञ्चैबाजा बजाएर दलहरुले नेपालमा बिदेशबाट नक्कल गरिएको कुरुप संघिय गणतन्त्रलाई भित्र्याएका थिए भने अब त्यसैको मलामी पनि बन्नु पर्ने दबाब दलहरु माथि बढेको छ । नेपाली जनताले दलहरुको काम कार्याबाही माथि बिश्वास गर्न छाडेका छन् ।
नेपाली जनता दलहरुको नै विकल्पको खोजीमा लागेका छन । सुध्रिन पनि नमान्ने र नेपालको संविधान २०७२ लाई संसोधन गर्न पनि तयार नहुने दलका नेताहरु कै कारण नेपालामा आर्थिक संकट आएको कुराको महशुस नेपाली जनतालाई भईसकेको छ । वित्तिय स्रोत नहेरी बनाएको शासकिय स्वरुपकै कारण नेपाल सरकारको चालु खर्च धान्नै नसक्ने गरी बढेकाले नेपाल राष्ट्र आर्थिक संकटोन्मुख हुन पुगेको हो । एकातिर नेपाल सरकारको चालु खर्च बढेको बढेकै छ भने अर्को तिर राजस्व कर संकलन लगातार घटेको घटेकै छ । चालु खर्च र कर संकलन बिचको खाडल २ खरब ८० अरब पुगेको र अझै यो बढेरै जाने कुरा निश्चित नै छ । यस्तो देख्दा देख्दै पनि दलहरुले शासकिय स्वरुपको सुधार गर्नमा ध्यान दिएको छैन भने आफै पनि सुध्रिने मनसाय देखाएको छैन । दलहरु सुरु देखिनै भ्रष्टाचारी र अपराधी नै हुन तर त्यसको बारेमा अहिले जस्तो सबै कुरा छताछुल्ल भने भएको थिएन । हालै घटेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार काण्डले दलका नेताहरु सबै नाङ्गेझार नै भए । दलका नेताहरुले गरेका भ्रष्टाचार काण्डहरुको विवरण सूचि धेरै लामो नै छ । यथार्थमा दलहरु नेपालको बिकास गरी समृद्ध मुलुक तुल्याएर नेपाली जनतालाई सुखी बनाउने भन्ने लक्ष नै नभएको देखिन्छ । दलका नेताहरु भ्रष्टाचार र अपराधमा लिप्त भएर लागेकाले नेपालबाट कानुनी राज नै समाप्त भएको अनुभूति नेपाली जनतालाई हुन थालेको छ । दण्डहिनता र अराजकताले सीमा नाघी सकेको अवस्था भएता पनि दलका शीर्ष नेताहरुले नै भ्रष्टाचार र अपराध गर्ने भएकाले नेपालमा कानुनी राजनै समाप्त भईसकेको हो की भन्ने महशुस नेपाली जनतालाई हुँदैछ । नेपालको यस्तो हालत बनाउने दलका शीर्ष नेताहरुले नै भ्रान्ती फैलाउँदै नेपाली जनतालाई बिदेशीको प्रभावमा नेपालमा आएको संघिय गणतन्त्रको जन्ती बनाएका थिए । दलका नेताहरुले त्यसलाई गोडमेल गरी फुलाउनु फलाउनुको साटो उल्टै बोटै काटेर खाने अभ्यास गरेका छन । नेपाली जनताको आँखा अब खुलेको छ र दलहरु प्रति पहिलेको जस्तै आँखै चिम्लेर बिश्वास गरीहाल्ने मानसिकतामा छैनन् ।
नेपाली जनताले अहिले र पहिलेको राजनीतिक व्यवस्थाहरु बिचको फरक चाल पाएको हुँदा राजतन्त्र नै ठीक हो भन्ने निष्कर्षमा पुगेका छन । तत्कालिन राजाको अभिनन्दन गर्ने कार्यक्रमहरुमा नेपाली जनताको भिडले नै यो कुराको पुष्टी भएको छ । अनवरत रुपमा भएका भ्रष्टाचार काण्डहरुले गर्दा दलका शीर्ष नेताहरुको नैतीक पतन भएको छ । त्यस्ता नैतीक पतन भईसकेका दलका नेताहरुले नेपालको रक्षा गरी नेपाली जनतालाई सुरक्षित तुल्याउन सक्दैन भन्ने कुरा ऐनामा हेरेको झै छर्लङ्ग नै भईसकेको अवस्था छ । दलका केही शीर्ष नेताहरु अब राम्रो काम गरी देखाउछौ भने पनि त्यस माथि नेपाली जनताले बिश्वास गर्ने परिस्थिति मुलुकमा कायम छैन । संसारले नेपाल राजतन्त्र भएको एक मात्र हिन्दूराष्ट्र हो भनी चिनेका थिए भने अहिले दलका नेताहरुको कूशासनले गर्दा नेपालको एक भ्रष्टाचारी मुलुकको रुपमा पहिचान बन्दै गएको छ ।
संसारका हिन्दूहरुले नेपाललाई भगवान पशुपति नाथको देश र भगवान बुद्धको जन्मभूमि भएकाले पवित्र तीर्थस्थल मानेका छन । संसारका गैरहिन्दूहरुले नेपाललाई सगरमाथा एभरेष्टको देश र वीर गोर्खाली एवं शेर्पाहरुको प्राकृतिक थातथलोको रुपमा चिनेका छन । यस्ता स्थापित नेपालका पहिचानहरु मेटाउन खोज्ने दलका राजनीतिक नेतृत्वले महान र बिशाल नेपाललाई चिन्दै नचिनेको झै नेपाली जनतालाई लागी सकेको छ । दलहरुको हातमा नेपालको सत्ता पुगेपछि बाँदरको हातमा नरिवल भएको झै महशुस नेपाली जनतालाई हुन थालेको छ । नेपालको स्थापित असंलग्न परराष्ट्र नीतिलाई पनि दलका नेताहरुले धोती लगाईसकेको हुँदा नेपालको पहिचान मात्र होईन अस्तित्व नै मेटिन सक्ने डरले नेपाली जनताको मनमा डेराहाली सकेको छ । नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको सुरक्षा माथि नै खतरा उत्पन्न हुने गरी दलका नेताहरुले धावा बोलीसकेको हुँदा अब नेपाली जनताको सामु कुनै तेस्रो विकल्प नरहेको हुनाले दलहरुलाई नै उहाँहरुले ल्याएको संघिय गणतन्त्रको मलामी बनाउनु पर्ने अवास्था आईलागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *