भ्रष्टाचारीलाई सहजीकरण गर्दै बैंकहरु

अर्थ/वाणिज्य समाचार

काठमाडौं । भ्रष्ट कर्मचारीहरुले कुन बैंकमा पैसा राख्छन् होला ? उनीहरुको पैसा कुन बैंकमा सुरक्षित हुन्छ होला ? पछिल्लो एउटा तथ्यले भन्छन् नेपालका कर्मचारीहरुले अकुत आर्जन गरेको रकम लुकाउनका लागि नेपालमै रहेको विदेशी बैंकको सहारा लिँदा रहेछन् । जस्तो नेपालमा अहिले विदेशीको लगानीमा सञ्चालनमा रहेका बैंकहरुमा एभरेष्ट बैंक,हिमालयन बैंक,स्टयाण्डर्ड चार्टड बैंक,एसबीआई बैंक लगायतका रहेका छन् ।

कर्मचारीहरुले यी र यस्तै विदेशी लगानी रहेको बैंकमा आफ्नो रकम जम्मा गर्दा सुरक्षित भएको महसुस गर्दा रहेछन् । यो बिषयको उजागर गरेका छन् शरणार्थी प्रकरणमा अहिले प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डे । उनले अकुत आर्जन गरेर कमाएको पैसा एभरेष्ट बैंक र हिमालयन बैंकमा राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मासिक ७२ हजार हाराहारीमा तलब थाप्ने पाण्डेले पछिल्ला ६ महिनामै आफ्ना बैंक खातामा ८५ लाख रकम जम्मा गरेको भेटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शिक्षा सेवाका सचिव पाण्डेलाई गृहमन्त्री पत्नी मञ्जु खाँणको विशेष रुचीमा भूमि व्यवस्था मन्त्रालयबाट गृहमा तानिएको थियो । भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदा पाण्डे गिरीबन्धु टीको जग्गा प्रकरणमा डामिएका थिए । पछि गृहमा पुगेपछि मन्त्री बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा सघाए । त्यहाँबाट आर्जन भएको रकम एभेरेष्ट बैंक र हिमालयन बैंकको खातामा जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पाण्डेले २०७८ मंसिर २ गतेदेखि २०७८ फागुन ११ गतेसम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गराएको पाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सघाए वापत उनले उक्त रकम एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ र हिमालयन बैंकमा रहेको खाता नम्बर ०२७०४६७२४७००१८ मा जम्मा गराएको उल्लेख छ । सरकारी वकिल कार्यालयमा अभियोग पत्रमा बयान दिँदै उनका सहयोगी धर्मराजले बयान दिएका छन्,‘तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले मलाई विभिन्न मितिमा निजको कार्यकक्षमा बेलाई आफू केही व्यस्त भएकोले तपाईले मेरो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी आउनु भनि पठाउने गर्नु भएकोले मेरो नामबाट सम्बन्धित बैंकहरुमा गई रकम जम्मा गरी दिई उक्त रकम जम्मा गरेको भौचर निजलाई भेटी दिने गरेको थिए ।’

यसरी आर्जित रकमले पाण्डेले भक्तपुरमा ९ रोपनी जग्गामा झण्डै सात करोड लागतमा बंगला ठडाएको भेटिएको छ । पाण्डे भूमि सचिव हुँदा आफूभन्दा जुनियर कर्मचारीहरुलाई प्रशिक्षण दिने क्रममा भनेका थिए असल छोरा भए आफैं कमाएर खान्छ । उस्का लागि धन थुपार्नै पर्दैन,छोरा खराब भए जति कमाएर थुपारिदिए पनि पुग्दैन । सकिहाल्छ, त्यही कारण के का लागि धन कमाउनु,सादगी जिउनुपर्दछ । अरुलाई सादगी जीवन जीउन उपदेश दिने सचिव नै नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएर १ करोड बढी रकम लिएको अभियोग सहित अहिले प्रहरी कष्टडीमा छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *