सहकारीमा बचतकर्ताको एक खर्बभन्दा बढी हिनामिना

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपालका अधिकांश भूभागमा खोलिएका सहकारी संस्थाहरु यतिखेर धमाधम बन्द हुने र सञ्चालकहरु भाग्ने क्रम जारी छ । त्योसँगै कतिपय सहकारीका सञ्चालकहरुले सर्वसधारणले जम्ममा गरेको बचतसमेत हिनामिना गर्ने काम गर्दै आएका छन् । हुन त यसरी गरिने ठगी धन्दाहरु विगत लामो समयदेखि हुँदै आएका थिए । त्यसमध्ये अहिले प्ररस्पर सहकारी, सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी, खुसी सहकारी, कान्तिपुर सेभिङ्ग एण्ड क्रेटिडट को–अपरेटिभ, लसकुस बहुउद्देश्य सहकारी, सन्ध्या सहकारी, ओरिएन्टल सहकारीलगायत ४० वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम एक खर्बभन्दा बढी हिनामिना गरेर भागेका छन् ।

यसरी ४० भन्दा बढी सहकारी संस्थाका बचतकर्ताहरु पीडित भएर आन्दोलनमा उत्रिएका छन् । यसरी सहकारीबाट पीडित हुनेहरु २५ सयदेखि ३० हजारको हाराहारीमा आन्दोलित छन् । अहिले उनीहरु माइतीघर मण्डलामा धर्ना र जुलुस गरिरहेका छन् । त्यो विषयलाई लिएर पीडितहरुले ‘बचतकर्ता पीडित संघ’ नै खडा गरेर आन्दोलनमा होमिएका छन् । पीडितहरुको त्यो आन्दोलनले कस्तो स्वरुप लिन्छ त्यो भने एकिन भइसकेको छैन ।

नेपाल अधिराज्यभरि अहिले ३६ हजार हाराहारीको संख्यामा विभिन्न उद्देश्यसहित खोलिएका सहकारी संस्थाहरु रहेका छन् । त्यसमध्येमा अहिले नेपालभरि तीन हजारको हाराहारीमा केही राम्रा सहकारी संस्थाहरु पनि सञ्चालित छन् । अन्य ३३ हजार हाराहारीमा रहेका सहकारी संस्थाहरुले के गरिरहेका छन् र कुन अवस्थामा सञ्चालित छन् भनेर न त सहकारी विभागले ध्यान दिएको छ न त सम्बन्धित निकायले नै ध्यान दिएको छ । बचतकर्ता भने यस्ताखाले सहकारी संस्थाबाट आजित भइसकेका छन् ।

यी सहकारी संस्थाहरुले पहिला मीठामीठा कुरा गरेर घर, पसलमा गएर बचत संकलन गर्ने अनि ती बचतकर्ताको पैसा हिनामिना गरी भाग्ने चलन पहिलादेखि चल्दै आएको थियो । कतिपय बचतकर्ताहरुले बैंकको भन्दा बढी ब्याज पाउने आशाले पनि प्रतिव्यक्ति १० देखि १५, २० लाखसम्म सहकारीमा जम्मा गर्ने गरेका थिए । २०७६ सालमा कोरोनाका कारण लकडाउन भएपछि यस्ता सहकारीहरु विस्तारविस्तार ओरालोतिर लाग्दै गएका थिए । त्योसँगै अहिले २०८० मा आइपुग्दा अधिकांश सहकारी संस्थाहरु बन्द हुने सञ्चालक बचतकर्ताको पैसा कुम्ल्याएर भाग्ने क्रम बडिरहको छ ।

किन कि यस्ता सहकारी संस्थाहरुलाई राजनीतिक दलहरुको आडसँगै सहकारी ऐन पनि फितलो भएको कारण कारबाही नहुने भइहाले तापनि थोरै सजाय तिरेर छुट्कारा पाउने कारणले गर्दा पनि सञ्चालकहरु भाग्ने गरेका हुन् । सहकारी संस्था सञ्चालन गर्ने सञ्चालकहरुको पहिला नै राज्यले सम्पत्ति विवरण लिएर अनि मात्र अनुमति दिनुपर्ने हो । तर, त्यो नगरी २५ जना स्थानीय व्यक्तिको सिफारिसँग नागरिकताको फोटोकपीको आधारमा सहकारी संस्था दर्ता गर्न पाउने भएपछि जो पायो त्यसैले सहकारी संस्था दर्ता गरेका थिए ।

त्यसरी सहकारी दर्ता गरेसँगै सर्वसधारणदेखि व्यापारी घरानाका व्यक्तिहरुलाई बढी ब्याज दिने भोल देखाएर पैसा जम्मा गर्न आकर्षित गर्ने गर्दै आएका थिए । सो पैसाबाट सञ्चालक समितिका पदाधिकारीहरुले घर, गाडी, जग्गा किन्नेदेखि छोराछोरीलाई विदेश पठाउने, महंगा कलेजमा पढाउने गर्दै आएका थिए । त्योसँगै आफूले खोलेको सहकारी संस्थामा आफन्तलाई जागिर खुवाएर मोटो रकम चलब दिने, साधारणसभामा भोजभतेर गर्ने, अनुगमनको नाममा देश दौडाहा गर्ने, भ्रमण भत्ताको नाममा पैसा खाने÷खुवाउने, विभिन्न महंगा होटेल, रेष्टुरेन्ट, डान्सवारमा गएर रमाउने गर्दै आएका थिए । सहकारी सञ्चालकहरुको यस्ता प्रवृत्तिले गर्दा अहिले बचतकर्ताको उठीवास लाग्न थालेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *