प्रधानमन्त्री भारतबाट फर्किएपछि बने आलोचनाको पात्र

राजनीति समाचार

कार्यान्वयन होला त भारतसँ प्रधानमन्त्रीले गरेका सम्झौता ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत जेठ १७ देखि २० गतेसम्म चारदिने छिमेकी मुलुक भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै अहिले सर्वत्र चर्चाको विषय बनेको छ । अहिले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर प्रतिपक्षी दलले सडक र सदन दुवै ठाउँबाट विभिन्न विषयमा विरोध जनाइरहेको छ । प्रधानमन्त्री प्रचण्डले भने आफ्नो भारत भ्रमणका क्रममा भएका विभिन्न सम्झौताहरुको बारेमा संसद्लाई जानकारी दिइरहेका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर केही कुटनीतिज्ञहरुले भने सकारात्मक रहेको सन्देश पनि दिएका छन् । जब नेपालमा नयाँ सरकार बन्छ अनि प्रधानमन्त्रीहरुले सबैभन्दा पहिला नजिकको छिमेकी मुलुक भारत भ्रमण गर्ने चलन पहिलादेखिकै हो । छिमेकी देश भारत भ्रमणमा गएर फर्किएपछि तत्कालीन प्रधानमन्त्रीदेखि हालका प्रधानमन्त्रीसमेत आलोचना हुने गरेको छ । कतिपय प्रधानमन्त्रीहरुले भारत भ्रमणमा गएर गरेका सन्धिसम्झौताहरुको अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्रीहरुले गर्ने त्यस्ता सन्धिसम्झौताहरु खाली काजगमा मात्रै सिमित हुने गरेको छ । नेपालका प्रधानमन्त्रीहरु छिमेकी मुलुक भारत र चीन भ्रमणमा जाँदा कुटनीतिज्ञ र विश्लेषकहरुसँग छलफल गरी आफ्नो देशको मर्यादा राख्ने गरी जानुपर्नेमा त्यो गरेको पनि पाइँदैन । त्यसरी जाँदा कुनकुन विषयमा छलफल गर्ने, गरिएको छलफल कत्तिको सार्थक हुन्छ, त्यसले आफू र आफ्नो देशको हितमा त्यो काम हुन्छ कि हुँदैन भन्नेसम्मको छलफल गरेको पाइँदैन । नेपालका प्रधानमन्त्रीहरुले आफ्नो देशको हितविपरीत हुने कतिपय सन्धि सम्झौताको बारेमा पनि ध्यान दिने गरेका छैनन् ।

त्यसले गर्दा जब प्रधानमन्त्रीहरुले भारत सरकारसँग आफूखुसी सम्झौता गरेर फर्किन्छन् अनि सडक र सदन तातिन थाल्छ । अहिले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भारतले गर्ने स्वागत सत्कारको बारेमा पनि विभिन्न कोषबाट टिकाटिप्पणी भइरहेको छ । यस्ता विषयमा अहिलेसम्मका नेपालका प्रधानमन्त्रीहरुमा गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीले देशको इज्जत र आफ्नो मर्यादा जोगाएका थिए भने अन्य प्रधानमन्त्रीहरुले जोगाउन सकेका छैनन् । नेपालका प्रधानमन्त्रीहरुलाई भारतले त्यो नजरले हेर्नु भनेको अधिकांश नेताहरु आफ्नो व्यक्तिगत स्वार्थको लागि भारतसँग शिर निहु¥याउने काम गर्दछन् ।

र, नेपालका नेताहरु आफू प्रधानमन्त्री बनेपछि छिमेकी देश भारत र चीनले बोलाओस् कि नबोलाओस् आफै भ्रमण गर्न हतारिइहाल्छन् । त्यसकारणले पनि भारत र चीनले नेपाललाई हेर्ने दृष्टिकोण अन्यको तुलनामा भिन्न देखिन्छ । जे होस् विगतका प्रधानमन्त्रीले भन्दा दशदलीय गठबन्धनका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेपछि केही राम्रा कामको संकेत गरेको पनि देखिन्छ । तर लिपुलेक, कालापानी र लिम्पिया धुरा दिएर बंगलादेशको बाटो खुला गर्ने विषयमा बोल्दा भने विवाद सिर्जना भएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *