संघीय मामिला मन्त्रालयमा सरुवा काण्डले उथलपुथल

राजनीति समाचार

काठमाडौं । हाम्रा कर्मचारीहरु कति जब्बर भए भने खटाएको ठाउँमा सरुवा भएर जान पनि प्रहरी नै लगाउनु पर्ने ! लुम्बिनीबाट प्रहरी लगाएर उठाइएयो एक जना उपसचिवलाई । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका उपसचिव महेश पाण्डेले मन्त्रालयको निर्देशन अवज्ञा गर्दा उनलाई प्रहरी लगाएरै उठाइएको हो ।

लुम्बिनी प्रदेशको यातायात मन्त्रालयमा कार्यरत रहेका पाण्डले सरकारी निर्देशनलाई अटेरी गर्दै उल्टै त्यहाँबाट कार्यालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीमा सरुवाको व्यवस्था मिलाए । सामान्यले चैत्र २३ मा उनलाई महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो ।

सामान्यको खटन पटनलाई अटेरी गर्दै प्रदेशमा बस्दै आएका पाण्डेले महिनौं दिनसम्म रमाना लिई खटाईएको कार्यालयमा नगएको भेटिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । यसरी एक जना अटेरी उपसचिवलाई प्रहरी प्रधान कार्यालयको पत्राचार पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपस्थित भएका छन् । उनै पाण्डेलाई सोमबार सामान्य प्रशासनले जिल्ला समन्वय समिति नवलपरासी पूर्वमा खटाएको छ । उपसचिव पाण्डेझैं अटेरी गर्दै आएका शाखा अधिकृत नवराज कार्की पनि सरुवा गरिएको ठाउँमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोध्यो ।

मोरङको केराबारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ चैत २७ गते कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सरुवा गरेको थियो । स्पष्टीकरण पछि उनी बल्ल कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा हाजिर भएका थिए ।

मोरङकै कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहेका सन्तोष घिमिरे पनि संघीय मामिला मन्त्रालयले स्पष्टीकरण सोधेपछि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भए । उनीझैं अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । तर, रमाना लिन अटेरी गरिरहेका सहसचिव दाहाललाई संघीय मामिला मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले फोन गरी तुरुन्त रमाना बुझ्न सचेत गराउनुपरेको थियो । यस्तै,राष्ट्रिय योजना आयोगका सहसचिव राजेन्द्रकुमार पोखरेललाई पनि रमाना बुझ्नका लागि मौखिक चेतावनी नै दिनुपरेको थियो । योजना आयोगबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएका सहसचिव पौडेल तामाङले मौखिक चेतावनी दिएपछि मात्र सरुवा भएको ठाउँमा हाजिर भएका थिए ।

यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकटका कर्मचारी नेता मोहन घिमिरेले भने आफ्नो सरुवा नै उल्टाएका छन् । अरु कर्मचारीलाई प्रहरी लगाएर उठाउनेदेखि स्पष्टीकरण सोध्ने,कारवाही गर्ने धम्की दिइरहँदा एकीकृत कर्मचारी संगठनका पूर्व संयोजक समेत रहेका मोहन घिमिरेलाई भने मन्त्रालयले कुनै कारवाही गर्न सकेको छैन ।

घिमिरे उपसचिवमा उक्लिए पछि माधव नेपालकै गृह जिल्ला गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो । उपसचिवमा उक्लिएकामध्ये २७ जना नै खटिएका ठाउँमा गए पनि घिमिरे भने गौरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा जान अटेर गरी सिंहदरबारभित्रै बस्दै आएका छन् । उनले त्यहाँ सुभाष कुमार शाहलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

मोहनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्कर नै अमेरिका गएको मौका पारी कर्मचारी प्रशासन हेर्दै आएका कमल भट्टराई निमित्त भएको मौका छोपेर आफ्नो सरुवा नै उल्टाएका हुन । निरिह,शक्ति र सत्तासँग जोडिएका कर्मचारीहरुलाई प्रहरी लगाएर उठाउनेदेखि अनेकन धम्की दिइए पनि सत्ता र शक्तिसँग जोडिएका कर्मचारीका अगाडि अमनलाल मोदीजस्ता क्रान्तिकारी र युवा मन्त्री समेत गरुडको अगाडि साँप बनेको उदाहरण दिन यो बाहेक अरु खोजिरहनुपर्दछ र ! (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *