कर्णबहादुर मगर, अध्यक्ष, तीनपाटन गाउँपालिका, सिन्धुली, तथा क्षेत्रीय सभापति नेपाली कांग्रेस
सधैं जनताको काममा दत्तचित्त भएर लाग्ने कर्णबहादुर मगर तीनपाटन गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्कल गाउँपालिकामा जन्मिएका उनी मिलनसार युवा नेता स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भयो । नेविसंघबाट राजनीतिमा हात हालेका मगर तरुण दलहुँदै अहिले नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि क्षत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनै मगरसँग स्थानीय सरकारका समसायिक विषयमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
० दोस्रो कार्यकालको एकवर्ष बितिरहँदा विकासका नयाँ योजनाहरु के के ल्याउँदै हुनुहुन्छ ?
तीनपाटन गाउँपालिका अध्यक्षमा मेरो यो दोस्रो कार्यकाल भएकाले पहिलो कार्यकालमा थाती रहेका कामहरु सम्पन्न गर्नुपर्ने थियो । ती थाती रहेका कामहरु सम्पन्न गर्नुपर्ने भएकाले म धेरै नयाँ कामतिर लागेको छुइन । पहिलो कार्यकालमा आफूले बनाएका योजना जुन सम्पन्न गर्न बाँकी थिए । त्यसैलाई परिपूर्ति गर्ने भनेर लागिपरेको छु । त्यसमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण पहिलो कार्यकालमा सुरु भएको थियो । त्यसलाई गत माघ महिनामा सम्पन्न गरेर हामीहरु आफ्नै गाउँपालिका भवनमा सरिसको अवस्था छ । त्यसैगरी आवासका भवनहरु केही निर्माणाधिन अवस्थामा रहेको छ । त्योसँगै केही स्वास्थ्य चौकी र वडा कार्यालय भवनहरु निर्माण भइरहेका छन् ।
० अहिले स्थानीय सरकारहरुले कृषि उत्पादनलाई जोड दिने भनेका छन्, तपाईंले त्यसको बारेमा के÷कस्तो योजना अगाडि सार्नुभएको छ ?
खासगरी तीनपाटन गाउँपालिका कृषिको लागि ऊर्बर भूमि भएको ठाउँ हो । फेरि यहाँ अन्य उद्योग, धन्दा, व्यापार व्यवसाय र कलकारखाना खोलेर रोजगारी सिर्जना गर्ने अवस्था पनि नभएकाले हामीले कृषि उत्पादनलाई जोड दिएका छौं । त्यसमा अन्नबाली, फलफूल, तरकारी खेती, पशुपालनलाई नै जोड दिनुपर्छ भनेर हामी लागिपरेका छौं । यहाँ हेपो इन्टरनेशनल नेपाल भन्ने कृषि र पशुपालनसम्बन्धी काम गर्ने संस्था छ । त्योसँग गाउँपालिकाले साझेदारी गरेर हामीले यो वर्षदेखि चार वर्षको लागि भनेर कार्यक्रम अगाडि बढाइसकेका छौं । त्यस कार्यक्रममार्फत विभिन्न वडा, वस्ती, टोलमा गएर किसान दाजुभाइ, दिदीबहिनीहरुसँग सम्भाव्यता अध्ययन गरी आवश्यकता पहिचान गर्ने काम भइरहेको छ ।
० कृषिजन्य उत्पादनलाई बजारको समस्या छ भनिन्छ त्यसलाई व्यवस्थित गर्न कस्तो योजना ल्याउँदै हुनुहुन्छ ?
यहाँ बजारको भन्दा पनि व्यवस्थापनको समस्या हो । हाम्रो गाउँपालिकाको केन्द्र रहेको चकमके बजारमा तराईको तरकारी विक्रीवितरण हुन्छ । तिनै तरकारीहरु हामीले किनेर खाइरहेका छौं । तर, हाम्रै गाउँपालिकाभित्र उत्पादन भएका फलफूल तरकारीहरु विक्री नभएको भन्ने गुनासोहरु आइरहेका छन् । गाउँमा उत्पादित तरकारी, फलफूल, अन्य खाद्य वस्तुहरु बजारसम्म पु¥याउन व्यवस्थापन हुन सकेको छैन । त्यसकारण गाउँपालिकाले यो वर्षदेखि आफ्नो पालिकाभित्र उत्पादित फलफूल, तरकारीहरु कलेक्सन गरेर बजारसम्म पु¥याउने काम गाउँपालिकाले गर्ने भनेर योजना बनाएका छौं । अहिले विचौलिया भन्ने शब्द धेरै पपुलर छ ।
बिचौलियाले किसान र उपभोक्ताको बीचमा खेल्ने काम गरिराखेका छन् । विचौलियाले गर्दा किसानले लागत मूल्य पनि नपाउने उता उपभोक्ताले महंगो मूल्य तिर्नुपर्ने भइरहेको छ । त्यसकारण ती विचौलियालाई हटाएर कम्तिमा गाउँपालिकाकै सहजीकरणमा फलफूल, तरकारी, पशुजन्य अन्य खाद्यवस्तुहरु दुध, दही, घिउ, अन्नलगायतका उत्पादनहरु गाउँपालिकाले बजार व्यवस्थापन गर्ने भनेर लागिपरेका छौं । त्यसको लागि हेपो इन्टरनेशनल नेपाल र गाउँपालिकाको साझादारीमा त्यो काम सम्पन्न गर्ने भनेर हामीहरु लागिरहेका छौं । त्यो गर्न सकियो भने किसानले उत्पादन गरेका हरेक कृषिजन्य र पशुजन्य खाद्य वस्तुहरु गाउँपालिकाले सहजीकरण गरेर बजार व्यवस्थापन गर्ने हो भने किसानले पनि उचित मूल्य पाउँछन् र उपभोक्ताले पनि महंगो तिर्नुपर्ने वाध्यताबाट छुटकारा पाउँछन् ।
० कृषि क्षेत्रको स्तरउन्नतिको लागि कस्तो कार्ययोजना ल्याउनुभएको छ ?
तीनपाटन गाउँपालिका कृषि क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो । यहाँ सबैखाले हावा पानी पाइन्छ । सिंचाईंको लागि खोलानालाहरु बगिराखेका छन् । त्यसकारण मैले युवाहरुलाई विदेश जानबाट रोक्न अथवा विदेशबाट सीप आर्जन गरेर आएका साथीहरुलाई आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर हामीले कृषि क्षेत्रमा विभिन्न खाले प्याकेज कार्यक्रम ल्याएका छौं । त्यसमा तरकारी खेतीदेखि पशुपालन कार्यक्रमहरुसम्म पर्दछन् । ती कार्यक्रमहरु सम्पन्न गर्नको लागि गाउँपालिकाको स्रोतले मात्रै अनुदान दिन सक्दैनौं । त्यसको लागि कृषि विकास बैंकसँग पनि समन्वय गरेर सस्तो ब्याजदरमा लोन प्रवाह गर्ने योजनामा छौं । किसान, साना व्यवसायीको सस्तो ब्याजदरमा जमानी धितो बसेर लोन प्रवाह गर्न लागिरहेका छौं ।
० अहिले सामुदायिक विद्याथयको गुणस्तर खस्कियो, नागरिकहरुले पत्याउन छाडे भन्ने गुनासो सबैतिर सुनिन्छ, तीनपाटनमा त्यो गुनासो छैन ?
सामुदायिक विद्यालयको गुणस्तरको सन्दर्भमा भन्नुपर्दा एकदमै धेरै गुनासाहरु छन् । यदि साच्चिकै सामुदायिक विद्यालयहरु सुधार्ने र शैक्षिक गुणस्तर दिने हो भने हाम्रो कार्यक्षेत्रबाट मात्रै अथवा स्थानीय सरकारले मात्रै प्रयास गरेर सम्भव छैन । यसमा सुधार ल्याउनको लागि नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । अहिले शिक्षाको नीति नै फितलो छ । त्यसकारण शिक्षा नीतिलाई दरिलो बनाएर देशव्यापी रुपमा लागु गर्नुपर्ने देखिन्छ ।
अन्य ठाउँमा कस्तो छ, तर यहाँ चाहीं सामुदायिक विद्यालय खस्किने मूल कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । राजनीतिक दलगत स्वार्थले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धरासायी बन्दै गएको हो । यस्तालाई न्यूनिकरण गर्न शिक्षामा राजनीतिक हस्ताप हुनुहुँदैन । अर्को भनेको केन्द्रदेखि नै शिक्षामा नीतिगत सुधारमा ब्यापक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । राजनीतिक हस्तक्षेपलाई न्यूनिकरण गरी नीतिगत सुधार नगर्दासम्म शिक्षामा सुधार हुने देखिँदैन । त्यसले केन्द्रदेखि नै नीति बनेर आउनुपर्छ भन्ने मेरो सुझाव छ । हिजो पनि थियो, आज छ र भोलि पनि मेरो सुझाव त्यहींं नै हो ।
० सरकारी शैक्षिक संस्थाप्रति जनआकर्षण बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
हामी जनप्रतिनिधि भनेको सरकारको नीतिनिर्देशन पालन गर्ने पालक मात्रै हौं । यसमा सुधार ल्याउन नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । साच्चिकै शिक्षा क्षेत्रमा सुधार ल्याउने हो भने कुनै पनि शिक्षकहरु राजनीतिमा लगेको हुनुहुँदैन । यदि पार्टीमा लागेका छन् भने उनीहरुलाई सेवाबाट बन्चित गर्नुपर्छ । दोस्रो हरेक शिक्षकले आफ्ना नानी, बाबुहरुलाई आफूले पढाएको विद्यालयमा पढाउनुपर्छ । तेस्रो शिक्षक पेशाका साथीहरुलाई घरपायक कसैलाई राख्नुहुँदैन । अर्को शिक्षकहरुलाई दोस्रो व्यापार गर्न दिनुहुँदैन । यी कुरामा सुधार गरियो भने मात्रै सामुदायिक विद्यालयको स्तरोन्नति हुन्छ । यसो गर्न सकिएन भने सामुदायिक विद्यालय धरासायी भएर जान्छ ।
० स्वास्थ्यको क्षेत्रमा दक्ष जनशक्ति, उपकरण र औषधि अभावको व्यापक गुनासो छ नि यसमा के भन्नुहुन्छ ?
त्यो खालको गुनासोमा शिक्षा क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रमा अलि न्यून छ । पहिला तीनपाटन गाउँपालिकामा आठवटा गाविस थिए । त्यसबेला ८ वटा स्वास्थ्य चौकी भवन थिए । अहिले ११ वटा वडा भए, ती सबै वडाले स्वास्थ्य चौकी भवन बनाएका छन् । अहिले तीनपाटन गाउँपालिकामाभित्रका ठूला–ठूला वडाहरुमा दुई, तीनवटा स्वास्थ्य सेवा केन्द्र खोलेर २१ वटा ठाउँबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्था छ ।
त्यसो गरिरहँदा तपाईंले भनेजस्तै दक्ष जनशक्तिको कुरा गर्नुपर्दा हाम्रोजस्तो आर्थिक अवस्था कम भएको गाउँपालिकामा अहेब, अनमी राखेर काम गर्नुपर्ने वाध्यता छ । आर्थिक अवस्थाका कारण दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन गाह्रो भइरहेको छ । तर, हाम्रो तीनपाटन गाउँपालिकाको केन्द्र रहेको लाम्पानटारमा १५ बेडको अस्पताल नेपाल सरकारले स्वीकृति गरेको छ । त्यसको भवन निर्माणधिन अवस्थामा छ । अन्य स्वास्थ्य चौकीहरुमा आर्थिक अवस्था कम भएका कारण आवश्यक दक्ष जनशक्ति र उपकरण अभाव भने छ । तर, यहाँ शिक्षा क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रमा कम गुनासो छ ।
० तीनपाटन गाउँपालिकाभित्र पुललगायत भौतिक पूर्वाधारको समस्या कस्तो देख्नुहुन्छ ?
भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा यहाँ चँदाह र भालुखोला कटानका कुराहरु छन् । खासगरी यस गाउँपालिकाको वडा नं. १ र ११ न.का धेरै भूभागहरु कटान गरेको छ । यसरी खोलाकटानबाट जमीन जोगाउन खोला नियन्त्रणको लागि प्रदेश र संघीय सरकारसँग हामीले माग गरेका थियौं । अहिले प्रदेश सरकारमार्फत शहरी विकास मन्त्रालयबाट खोला नियन्त्रणदेखि पुल निर्माणलगायत धेरै कामहरु भइरहेका छन् । यो वर्ष पनि संघीय सरकारसमक्ष कुरा पुगिसकेकाले कटान संरक्षणको लागि सहयोग हुने आशा गरेका छौं । त्यसकारण जमिन कटान रोक्न र पुन निर्माणलगायतका काम समग्र रुपले अगाडि बढेको छ ।
० धापचौकी–गडाम्रेहुँदै माथिल्लो भेकबाट जाने बाटोमा गाउँपालिकाले ध्यान दिएन भन्ने गुनासो छ नि ?
खासमा भन्ने हो भने तीनपाटन गाउँपालिकाभित्रको मूख्य सडक नै व्यवस्थित भइनसकेको अवस्था छ । त्योसँगै गाउँपालिकाबाट अन्य वडा–वडासम्म जोड्ने र अन्य पालिकाहरुसँग जोड्न सडक विस्तार गर्दैछौं । हाम्रो आन्तरिक आयस्रोत छैन । अनि संघीय र प्रदेश सरकारले पठाएको बजेटमा हामीहरु आस्रित हुनुप¥यो । किन भने हाम्रो गाउँपालिकाको आन्तरिक आयस्रोत छैन ।
संघीय सरकारबाट आएको पैसाले कार्यालय प्रशासन चलाउनुपर्ने, विकास निर्माणका काम गर्नुपर्ने, विभिन्न निकायका कर्मचारीलाई तलब खुवाउनुपर्ने भएकाले भनेजस्तो काम गर्न सकिएको छैन । त्यसकारण आन्तरिक आयस्रोत नभएका गाउँपालिका, नगरपालिकाहरुमा केन्द्रीय सरकारले ठूलो आकारको बजोट तर्जुमा गर्नुपर्छ भनेर हामीले माग राखेका छौं । त्यसैगरी एउटा वडाबाट–अर्को वडा र एउटा पालिकाबाट अर्को पालिकासँग जोडिने सडक सञ्जाल हुनुपर्छ भनेर हामीले संघीय र प्रदेश सरकारसँग माग राखेका छौं । जहाँसम्म मलाई लाग्छ त्यो कार्यान्वयन हुन्छ ।
० गाउँपालिकाभित्रका सडकहरु पिच गर्ने योजना पनि बनाउनुभएको छ ?
भित्री सडक पिच गर्न हाम्रो बजेट सम्भव नहोला । तर त्यसलाई व्यवस्थित गर्ने, दीर्घकालीन बनाउने । कम्तिमा ग्राबेलसम्म गर्न सकियो भने बाह्रै महिना गाडी चल्न सक्छ । यसरी सबै ठाउँमा गाडी जाने व्यवस्था भयो भने किसानहरुलाई पनि आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज हुन्छ । यो गाउँपालिका घुमाउरो खोला भएकाले धेरै ठाउँमा वर्षायाममा गाडी जान गाह्रो थियो । ती ठाउँहरुमा बाह्रै महिना सहज गाडी जाने बनाउन हामीहरु लागिपरेका छौं । त्यसैले अहिले बाटो पिच गर्नेभन्दा पनि कम्तिमा बाह्रै महिना गाडी जाने बनाउन प्रयास भइरहेको छ ।
० चुनावका बेला जनतालाई दिएको आश्वासन अनुसार सन्तुष्ट पार्नुभएको छ त ?
सन्तुष्टि, असन्तुष्टिका कुरा चाहीं उहाँहरुसँगै लिनुपर्ने हुन्छ । तर, मैले गाउँ, टोल, वडामा उपलब्ध शाधन, स्रोतको आधारमा आफैं उपस्थित भएर परामर्श गरेर काम गर्ने गरेको छु । जहाँसम्म मलाई विश्वास छ, हिजो मैले चुनावका बेलामा बोलेका कुराहरु सकेसम्म पुरा गरेको जस्तनो लाग्छ । मैले गाउँ, टोल, वडाहरुमा गएर बुझ्दा मैले बोलेका कुराहरु धेरै पुरा भएको पाएको छु । तीनपाटन गाउँपालिका भूगोलको हिसाबले धेरै भू–भागहरु दूर्गम पनि छन् । ती विकटताले गर्दा कतै कमीकमजोरीहरु भएका होलान् । त्यति हुँदाहुँदै पनि ती ठाउँका जनताहरु पनि धेरै हदसम्म मेरो कामबाट सन्तुष्ट हुनुहुन्छ ।
० त्यसोभए तपाईंको कामले त्यहाँका जनता सन्तुष्ट छन् ?
त्यो मैले महसुस गर्ने कुरा हो । फेरि मनै सर्वैसर्वा भन्ने चाहीं होइन । जहाँ यदाकदा साथीहरुको कुरा सन्दा र अन्य पार्टीका साथीहरुसँग बसेर भलाकुसारी गर्दा, चिया गफ गर्दा र फरक पार्टीका साथीहरु अफिसमा आएर कुरा गर्दा पनि उहाँहरु असन्तुष्ट भएको मैले पाएको छैन ।
० अहिले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार एकमदै बढ्यो, जनप्रतिनिधिहरु आफै योजना बनाउने आफै ठेक्का लिने गर्दछन् भन्ने गुनासो छ नि यसलाई कसरी अनुगमन गर्नुभएको छ ?
केन्द्रको कुरा त हामीलाई थाहा भएन । स्थानीय जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा लिप्त भए भनेर मिडियामा आएका कुराले म पनि धेरै दुःखी छु । यति हुँदाहुँदै पनि मैले तीनपाटन गाउँपालिकामा कसरी भ्रष्टाचाररहित सुशासन कायम गर्छ सकिन्छ भनेर वडा अध्यक्षहरुसँग छलफल गरेर तपाईंहरु निष्पक्ष ढंगले काम गर्नुहोस् भनेको छु । जसरी तपाईंले जनप्रतिनिधिहरुले आफै ठेकेदार भएर अनियमितता गर्ने काम हुन्छ भन्नुभयो । तीनपाटन गाउँपालिकाभित्र कुनै पनि वडाअध्यक्ष तथा जनप्रतिनिधिहरुले त्यस्तो काम गरेको मैले पाएको छुइन ।
० शान्तिसुरक्षाको दृष्टिकोणले तीनपाटनलाई कसरी लिनुभएको छ ?
शान्तिसुरक्षाको दृष्टिकोणले पहिलाको भन्दा केही सुधारिएको अवस्था हो । तर, बेरोजगारको समस्याले गर्दा चाहीं केही उच्छृंखल काम गर्ने, विभिन्न अवैध कामहरु गर्ने, अवैध धन्दामा संलग्न हुने, हुलहुज्जत गर्ने, होहल्ला गर्ने जस्ता केही अराजक गतिविधिहरु भएको पाइन्छ । त्यसलाई व्यवस्थापन गर्ने कामहरु भइराखेका छन् । तर, युवाहरुलाई केही न केही रोजगारीको सिर्जना गर्न सकिएन भने शान्तिसुरक्षामा खलल आउने काम त्यहीबाट सुरु हुन्छ भन्ने लाग्छ । समग्रमा हेर्दा शान्तिसुरक्षालाई लिएर अत्तालिइहाल्नुपर्ने अवस्था भने छैन ।
० आगामी बजेट कुन क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउँदै हुनुहुन्छ ?
आगामी बजेट हामीले आगामी असर १० गते ल्याउँदै छौं । त्यसको लागि विभिन्न समिक्षा बैठकहरु बसिरहेका छौं । यी समग्र विषयमा छलफल गरिरहँदा यदि तीनपाटन गाउँपालिकालाई समृद्ध बनाउनको लागि हामीले आगामी बजेट कृषि उत्पादन र पशुपालनलाई प्राथमिकतामा राखेर ल्याउन लागिरहेका छौं ।
कृषिलाई व्यवसायिकरण कसरी गर्ने, युवाहरुलाई त्यसमा कसरी समाहित गर्ने भन्ने विषयमा हाम्रो छलफल भइरहेको छ । आगामी असार १० गते आउने नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने छौं । आगामी वर्षमा सबैलाई नसकेपनि कम्तिमा २ प्रतिशत युवाहरुलाई रोजगारीको सिर्जना गर्ने र गलत क्रियाकलामा लाग्नबाट जोगाउने काम गर्नेछौं । त्यसको लागि कृषि उत्पादन र युवा लक्षित नीति तथा कार्यक्रम बनाउँदै छौं ।
० अन्त्यमा तीनपाटनवासीलाई के भन्न चाहनुहुन्छ ?
तामाकोशी सन्देशमार्फत के भन्न चाहन्छु भने कम्तिमा तपार्इंहरुले आफूलाई परेका समस्याको बारेमा हामीलाई सम्पर्क गर्नुहोस् । तीनपाटन गाउँपालिका ठूलो ऊर्बर भूभाग भएको ठाउँ हो । यहाँ धेरै किसान दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । कृषि क्षेत्रमा आफूलाई परेका समस्याबारेमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ । त्यसको लागि कृषि उत्पादन, पशुपालनलगायत जति पनि हामीले गर्नुपर्ने कामहरु छन् । त्यसको लागि हामीसँग तपार्इंहरु जतिबेला सम्पर्क गर्न सक्नुहुन्छ ।
तपाईंहरुको लागि गाउँपालिका सधैं खुल्ला छ । तीनपाटनवासीले आफूलाई परेका समस्या हामीसँग खुलस्त भन्न सक्नुहुन्छ । तपाईंहरुले राखेका कुराको हामीले यो वडा, त्यो वडा, यो गाउँ, त्यो गाउँ, यो समुदाय, ऊ समुदाय नभनिकन न्यायोचित ढंगले सेवा प्रवाह गर्ने जमर्को हामीहरु गर्ने छौं । यस गाउँपालिकाका सम्पूर्ण वर्ग, क्षेत्र, समुदायको काम समान रुपले गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।(तामाकोशीसन्देशबाट)