sampadakiya

गर्मी सुरु भएसँगै खानेपानीको हाहाकार

राजनीति सम्पादकीय

सम्पादकीय
काठमाडौंबासीको खानेपानीको समस्य अहिलेको होइन । परापूर्व कालदेखि नै खानेपानीको समस्या छ । काठमाडौं उपत्यकामा तीव्र गतिमा बस्तीको विकाससँगसँगै खानेपानीको समस्या सिर्जना हुँदै गएको थियो । अहिले झन् खानेपानीको समस्या विकराल बन्दै गएको छ । गर्मीले धारा सुक्ने र बस्ती धेरे भएका कारण जमिन मुनिको ट्युबेलबाट पानी नआउने अवस्था सिर्जना भएको छ । अर्काेतर्फ, सरकारले घनाबस्तीको रुपमा उपत्यकामा बस्ती विकास भइरहँदा खानेपानीको विकल्प सोच्न सकेन ।

धमाधम बस्ती र घरजग्गा कारोबारका लागि अनुमति दिइरहँदा भोलि खानेपानी, बिजुली, सडकजस्ता समस्याहरु आइपर्न सक्छन् भन्नेतर्फ सरकारले ध्यान दिइएको पाइएको थिएन र छैन पनि । सरकारले दुई दशकभन्दा बढी समय लगाएर काठमाडौं उपत्यकामा पानी खुवाउने भनि सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन आयोजना सम्पन्न गरेको वर्ष दिन नपुग्दै भिषण बाढीका कारण आयोजना नै तहसनहस भयो । दशकौं खर्चेर निर्माण भएर काठमाडौं उपत्यकाबासीले खानेपानी पाएका थिए, तर तहसनहस भयो ।

यो आयोजनाको कमजोरी होइन, यो सरकारको कमजोरी हो । सरकार खानेपानीका लागि विकल्पहीन छ । आयोजना निर्माणमा भ्रष्टाचार गरेर वर्षाैं लगाउने परम्परा नेपालमा सर्वविदितै छ । अर्काेतर्फ, एउटै आयोजनामा निर्भर रहने र नसके हात उठाउने लाचार नेपाल सरकारको नेतृत्वका कारण पनि जनताले राहत पाउन सकेका छैनन् ।

सुख्खा मौसम सुरु भएसँगै काठमाडौंबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । तत्काल मर्मतसम्भार गरेर स्वच्छ र पिउनयोग्य बनाई मेलम्चीको पानी सहज गराउनुपर्नेमा मर्मत सम्भारमा पनि भ्रष्टाचारको गन्ध पाइन्छ । अहिले काठमाडौ, ललितपुर र भक्तपुरका जनताले खानेपानी नपाएको गुनासो गर्न थालेका छन् । खानेपानी मन्त्री यस्ता समस्यामाथि कानमा तेल हालेर बसेका छन् । आफुलाई कताबाट कमिशन आउँछ र कता फाइदा हुन्छ भन्नेतर्फ मात्र सरकारको ध्यान जाने गरेको छ ।

उपत्यका खानेपानी पनि केही थाहा नभएजस्तो गरेर बसेको छ । नेपालमा खानेपानीका लागि विभिन्न आयोजनाहरु खडा गरिएका छन् । तर ती सबै कामविहीन छन् । केवल तलब र भत्ता खाने र जनतालाई खानेपानी उपलब्ध गराउने सम्बन्धमा भने टुलुटुलु हेरेर मात्रै बस्ने गरेका छन् ।

आयोजनाहरु मर्मत र सम्भारको नाममा पाइपदेखि लिएर सबै खरिद गरिने चिजमा कमिशन खाने गरेका छन् । विशेषगरी भक्तपुर र ललितपुरमा खानेपानीको समस्या देखिएको छ । भक्तपुर र ललितपुरका जनताले टंयाकंरको पानी खान बाध्य भएका छन् । पिउन लायक नहुने, फोहर खोलाबाट ल्याइएको पानीको उपभोग गर्न उपत्यकाबासी बाध्य छन् ।

यसैकारण पनि कतिपय उपत्यकाबासी बिरामी पनि पर्ने गरेको गुनासो आउने गरेको छ । खानेपानीका नाममा जबसम्म भ्रष्ट व्यक्तिहरुको लुटतन्त्रको अन्त्य हुँदैन, तबसम्म सर्वसाधारण जनताले सहज रुपमा खानेपानी पाउने विश्वास गर्न सकिँदैन । सरकारले तत्काल खानेपानीजस्तो संवदेनशील विषयलाई ध्यानाकर्षण गर्दै काम अगाडि बढाउनुपर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *