दधिकोट खानेपानीका कर्मचारीले कहिलेसम्म ढाँट्ने ?

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुमा अहिले जनता ढाँट्ने प्रवृत्ति हावी हुने गरेको छ । त्यसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसमा नेपाल, एकीकृत समाजवादीलगायतका नेताहरुले गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नको लागि जनतासामु अनेक फन्डा ल्याएर ढाँट्ने काम गरेका थिए ।

त्यसको उदाहरणमा अहिले काठमाडौं उपत्यकाको भक्तपुर जिल्ला पर्दछ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका अन्तर्गत पर्ने दधिकोटमा गत मंसिर ४ गते अगाडि संघ, र प्रदेश निर्वाचनमा उम्मेदवारहरुले भोट माग्दा स्थानीय जनतालाई विभिन्न आश्वासन दिएका थिए । नेकपा एमालेका प्रदेश सांसद किरण थापाले त दधिकोटका जनतालाई बाटोघाटोको सुविधा, बिजुटी र टेलिफोनको सुविधा, खानेपानीको सुविधा निर्वाचन अगाडि उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

उता सोही क्षेत्रका नेपाली कांग्रेसका नेता तथा संघीय सांसद दूर्लब थापाले पनि त्यस्तै आश्वासन दिएका थिए । उनीहरुका आश्वासनमा परेर जनताले भोट दिए, उनीहरुले चुनाव पनि जिते । तर, निर्वाचन सम्पन्न भएको ७ महिना बितिसक्दासमेत उनीहरु दधिकोटको समस्या समाधानका लागि फर्केर आएका छैनन् । उनीहरुबाट विकास निर्माणको काम त परै जाओस् ।

अहिले दधिकोटका जनताले खानेपानीको समस्या भोगिरहनुपरेको छ । कतिपय दधिकोटका स्थानीयले पानी खान नपाएको डेढ वर्ष बित्न लाग्नसमेत दधिकोट–४, गाम्चा खानेपानी कार्यालयले पानी उपलब्ध गराउन सकेको छैन । केही व्यक्ति र केही टोलहरुमा दिनको दिन पानी खेरा गइराखेको छ । कतिपय टोलका उपभोक्ताले रित्ता गाग्री र बाल्टिन बोकेर टाढाटाढासमेत खानेपानी खोज्न धाउनुपरेको छ । दधिकोटस्थित खानेपानी कार्यालयको साधारणसभा नभएको पनि अहिले १२ वर्ष भइसकेको छ ।

त्यो विषयमा तामाकोशी सन्देशले २०७९ साल मंसिर ४ गते समाचार प्रकाशित गर्दा खानेपानीका अध्यक्ष अनिल श्रेष्ठले जथाभावी लेख्ने हो भनेर तामाकोशी संवाददातालाई धम्क्याएका थिए । त्यतिबेलादेखिको खानेपानी समस्या अहिलेसम्म हल हुन सकेको छैन । यस विषयमा तामाकोशी संवाददाताले पटक–पटक फोन गर्दा उनको फोनसमेत उठेन । खानेपानीका कर्मचारी बद्री न्यौपाने भने त्यहाँका कार्यालय प्रमुख रहेका छन् ।

तर, उनले चुनावका बेला नेताले जनतालाई ढाँटे भैmं ‘तपाईंको घरमा भोलि पक्का पानी आउँछ, आज मेसिन बिग्रिएको छ’ भनेका थिए । खानेपानीको पाइप काटिएकाले मर्मत हुँदै छ । म फिल्डमै छु, तपाईंहरुको समस्या बुझेको छु भन्दै उपभोक्तालाई ढाँट्दै आएका छन् । विगतदेखि चल्दै आएको धारालाई सशरी विकास आयोजनाले पाइप बिछ्याउने नाममा जथाभावी खनिदिएपछि स्थानीयहरु खानेपानीको मारमा परेका छन् ।

यहीं खानेपानीको विषयलाई लिएर बारम्बार उपभोक्ताहरु खानेपानी कार्यालयमा धाउने र बिन्तिपत्र चढाउने काम गर्दा पनि उनीहरुको सुनुवाई हुँदैन । कतिपय खानेपानी वितरकहरुले भन्ने गरेका छन्, ‘कहाँबाट एउटा पत्रकार आए छ, खानेपानीको समाचार लेख्न भ्याइहाले छ’ भनेर केही उपभोक्तसँग गुनासो पोख्न भ्यासकेका छन् । तर, खानेपानीका कर्मचारीहरु भने एउटा कानले सुन्ने र अर्को कानले उडाउने काम गर्दै आएका छन् । उपभोक्तालाई पानी नदिएपनि खानेपानी कार्यालयले भने शुल्क उठाइरहेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *