प्रचण्ड सरकार ढाल्न विदेशी चलखेल

Uncategorized

राजनीतिक दलका नेता सबैतिरबाट आलोचित
काठमाडौं । अहिले नेपालका राजनीतिक दलप्रति सबैतिरबाट टिकाटिप्पणी हुन थालेको छ । त्यसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत राष्ट्रिय राजनीतिमा ख्याति कमाएका राजनीतिक दलका नेताहरु यतिखेर सबैतिरबाट आलोचनाका पात्र बन्दै छन् । त्यसमा पनि कतिपय राजनीतिक दलका शीर्ष नेताहरु विदेशीको इसारामा सरकार बनाउने भत्काउने खेलमा लिप्त हुँदै आएका छन् ।

अहिले पनि दशदलीय गठबन्धनबाट नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकार ६ महिना पनि पुरा नहुँदै विदेशीकै इसारामा ढाल्ने भित्री रुपमा खिचडी पाक्दै छ । तर, यो खेल यतिछिटै सफल हुने भने देखिँदैन । कतिपय राजनीतिक दलका नेताहरुले यो विषयमा मनन गरेका होलान् । अहिले सबैभन्दा प्रचण्डको सरकारको विरोध गर्ने प्रतिपक्षी दल नेकपा एमाले ठहरिएको छ । गत जेठको अन्तिम साता केही भारती र चिनियाँ प्रतिनिधिहरु नेपाल आएर केपी ओलीसँग भेटेका थिए ।

त्यसबेला केही भारतीय ‘र’का एजेन्टहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ओलीमार्फत आग्रह गर्दै त्यसमा सहयोग गर्ने वचन दिएको बुझिन्छ । उता जति कांग्रेस सभापति देउवालाई भारतले पत्याउँछ त्यति शेखर कोइरालालाई भारतले विश्वास गरेको पाइँदैन । त्यसकारणले पनि नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकार ढाल्नलाई विभिन्न तुरुपहरु फाल्दै आएको छ ।

एमालेको त्यो तुरुपले तुरुन्तै सफलता भने हासिल गर्ने देखिँदैन । सत्तागठबन्धनभित्रै केही दलका नेताहरुले गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटलाई निहुँ बनाएर प्रचण्डलाई राजीनामा गराउनेसम्मको खेल भित्री रुपमा खेलिँदै छ । त्यो खेल थालेसँगै प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसका केही शीर्ष नेताहरुलाई चेतावनी दिन थालेका छन् ।

किन कि नक्कली भुटानी शहरणार्थी काण्डदेखि पशुपति मन्दिरको जलहरी काण्डसम्मको विषय उठाएर प्रचण्डले पर्दाफास नगर्लान् भन्न सकिँदैन । त्यसको संकेतको रुपमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई नक्कली भुटानी शरणार्थी काण्डमा छानविन हुने भएको छ । त्योसँगै नक्कली भुटानी शरणार्थी काण्डमै मुछिएका हाल फरार रहेका बेचन झा, राजेश शाक्य, रामबहादुर थापाका छोरा प्रतिक थापालगायतका व्यक्तिहरु पक्राउ नपर्नेले पनि यो सरकारको आयु लम्बिने देखिन्छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका फारार व्यक्तिहरुलाई पक्राउ नगर्ने भनेर तीन दलका शीर्ष नेताबीच भित्री सहमति बनेको हुनुपर्छ । यदि त्यसो भएको थिएन भने फरार सुचीमा रहेका व्यक्तिहरु पक्राउ परिसक्ने थिए । किन भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड र एमाले नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्दा उनीहरु किन फरार भइरहेका छन् ? होइन भने सरकारले चाहेको खण्डमा इन्टरपोलबाट भएपनि व्यक्तिहरुलार्ई पहिल्यै पक्राउ गर्न सक्थ्यो ।

अहिले कांग्रेस नेता बालकृष्ण खाँड पक्राउ परेको विषयलाई लिएर शेरबहादुर देउवा र प्रचण्डबीच चिसोपना उत्पन्न भएको देखिन्छ । देउवाले पनि बालकृष्ण खाँडलाई पार्टीबाट निष्काशन गर्न सकेका छैनन् । खाँडलाई जोगाउन पनि देउवा प्रधानमन्त्री बन्ने खोजेको हो कि भन्ने भान हुन्छ । त्यस्तै फरार रहेका दोषीलाई पक्राउ गर्दा ‘लहरो तान्दा पहरो गर्जिने’ डरले उनीहरु पक्राउ पर्नबाट जोगाइएको छ ।

भरसक प्रचण्ड सरकारलाई सजिलैसँग बाइपास गर्न पाए आफूहरु जोगिने मनस्थितिमा नेपाली कांग्रेस र नेकपा एमाले रहेको देखिन्छ । अहिले एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न सुझाव दिइरहँदा कांग्रेसकै शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माबीच कस्तो रियाक्सन आउँछ अनि त्यसलाई टेकेर सरकारको छिनोफाने गर्ने एमालेको रणनीति रहेको छ ।

त्यसकारणले पनि कांग्रेस महामन्त्री गगन थापाले समय परिस्थिति हेरेर फेरबदल हुनसक्छ भन्ने भाषण गर्दै हिँडेका छन् । तर, शेखर कोइराला भने यस विषयमा बोलेका छैनन् । तर, भित्री रुपमा शेखरले देउवालाई सघाउने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *