जलवायु परिवर्तनले विपन्नलाई धेरै पिरोल्छ

समाचार

गर्मीले वढि असर पार्ने विपन्न हुन् अनी जाडोले धेरै कठाँग्रिने पनि उनै हुन् । सम्पनहरुले गर्मिवाट छल्लन वातानुकुलित वनाउने उपकरण राख्न सक्दछन् । अनी जाडोबाट जोगीन पनि उनीहरुले विभिन्न उपाय निकाल्छन् । तर विपन्नलाई जुन अवस्थाले पनि असजिलो नैं पार्ने हो । खास गरी जलवायु परिवर्तनको पहिलो असर विपन्नहरुलाई नैं पार्ने हो ।
अहिले गर्मिको मौसम छ । असार सकिन लागि सक्यो । सुकेका मुहान फुटेका छैनन् । खोला र खोल्सीको पानी सुकि सक्यो । दोलखा जस्तो पहाडी जिल्लामा पनि तराईको गर्मि महसुस भएको छ । स्थानीय वासिन्दाहरुले अघिल्लो वर्ष विर्सेर हो की अहिले जस्तो गर्मि कहिल्यै भएको थिएन भन्ने गर्दछन् । हपहपी गर्मि छ ।
उद्योग कलकारखाना, पेट्रोलियम पदार्थको अत्यधिक उपयोग, जथाभावी भौतिक पूर्वाधारको विकास समेतका कारण वायूमण्डलमा कार्वनडाइअक्साइड लगाएका ग्याँसहरु वढे । यसको कारण सुर्यवाट आएको तातो पृथ्वीलाई चाहिने जती राखेर उतै फिर्ता हुनु पर्दथ्यो, हुन सकेन । अनी पृथ्वी तात्यो, ज्वरो आयो । यसबाट विभिन्न असरहरु देखापरेका छन् । त्यसैलाई जलवायु परिवर्तन भन्ने गरिन्छ । वायुमण्डल विगार्नेमा हामी जस्तो मुलुकको नगण्य भूमिका रहेको छ तर त्यसको असर सवै भन्दा वढि हामीलाई परिरहेको छ । धनी मूलुकले भौतिक विकासमा छलाङ मारिसके । हामीमा विकास हुन धेरै वाँकी छ । धनी मूलुकले प्राकृतिक स्रोतको अत्यधिक दोहन गरें । हामीले प्राकृतिक स्रोतको प्रयोग गर्ने बेलामा जलवायु भन्ने नारा धेरै आयो । वास्ता नगरौं भन्दा पनि जलवायु परिवर्तनको असर सवै भन्दा पहिला असर हाम्रो जस्ता देशका मानिसलाई पर्दो रहेछ ।
जलवायु परिवर्तनवाट सिर्जित सवाललाई सम्वोधन गर्ने दुई बाटा हुने गर्दछन् । एक अनुकुलन र अर्को न्यूनिकरण । हामीले विकास निर्माण तथा कलकारखाना सञ्चालनका काम धेरै नगरेको हुँदा न्यूनिकरणका गतिविधिको खासै अर्थ रहन्न । वन जंगल जोगाउन काममा नेपालले अव्वल उपलव्धी हासिल गरिसकेको छ । वन क्षेत्र ४५ प्रतिशत नाघिसक्यो । त्यसैले हामीले न्यूनीकरणका कामहरु धेरै गर्नै पर्दैन । तर जलवायु परिवर्तनको असर अनुसार आफुलाई अनकुलन गराउनुको विकल्प हामीसँग छैन । अनुकुलनकालागि समुदायले अनेकानेक प्रयास गरिरहेका छन् । यसै विषयमा थप छलफलका लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने दोलखाको एक संस्था हुराडेक नेपालले समुदायसँग छलफल कार्यक्रम राखेको थियो । कालिञ्चोक गाउँपालिका वडा न.ं ३, ४ र ८ का केही छनौट भएका विपन्न वर्ग तथा अशक्तहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको थियो । जलवायु परिवर्तनले पारेको असर, ती असर झेल्दै जीउनकालागि उनीहरुले गरेको कोशीस र थप उपायका वारेमा छलफल गरिएको थियो ।
एक गाग्री पानीको लागि ५,६ घण्टा समय खर्चनु पर्ने दोलखामा कुनै ठाउँ छ भन्ने अनुमान थिएन । तर अचम्म कालिञ्चोक गाउँपालिका वडा नं. ४ को हिलेपानीमा त्यो अवस्था भेटियो । २०७२ सालको विनासकारी भुकम्प पछि डेढ घण्टा हिँडेर लापिलाङमा पानी लिन जानु परेको रहेछ । अनी त्यहाँ पनि पानीकोलागि पालो पर्खन ४ देखि ५ घण्टासम्म खर्च भएको रहेछ । त्यो त पुराना कुरा, अहिले अलि टाढैवाट पाइपवाट खानेपानीको प्रवन्ध भएको रहेछ । त्यो अति सिमित छ । ‘एक घर एक धारा’ त नारामा मात्र भेटिन्छ । ‘दश घर एक पानी आउने धारा’ भैदिए पनि हुन्थ्यो । दुखजिलो रुपमा मान्छेलाई पिउनकोलागि सिमित भनेपनि पानीको प्रवन्ध भएकोछ । त्यसैमा खुसी छन् ।
मान्छेलाई जेनतेन व्यवस्था गरेका छन् तर गाईवस्तुलाई पानी दिन सकिएको छैन रे, अहिले पनि । हिलेपानीका ६७ वर्षिय हेम घिमिरेले व्यवसायिक रुपमा १४ वटा भैंसी पालन गर्नु भएको रहेछ । उहाँको कुरा सुन्दा छक्क मात्र होइन अचम्मै लाग्यो छ ‘यो हिउँद लागे देखि भैंसीलाई पेट भरिने गरी पानी दिन सकेको छैन, भैंसीलाइ नुहाउन त के आफैले पनि नुहाउन पाएको छैन ।’ उहाँसँग ५ वटा भैंसी दुहुना रहेछन् । गोठबाट नैं प्रतिलिटर रु. एक सयमा दुध विक्रि हुँदोरहेछ । सामान्यत नागरिकहरुको क्रय क्षमता वढेछ भन्ने तथ्यले पुष्टि गर्दछ । एक लिटर दुध दैनिक खरिद गरेर ग्रामिण क्षेत्रका परिवारले खाँदा रहेछन् । यो सकरात्मक पक्ष हो । यसले पोषणमा पक्कै टेवा पुगेकै होला ।
जलवायु परिवर्तन असरका विषयमा प्रश्न गर्दा पढि जानेका विज्ञहरुलाई सहजै उत्तर नआउला तर भोगी जानेकालाई भन्न कठिनाई हुने भएन । मुख्य असर ‘पानीको मुहान सुकेको’ भन्ने थियो । जसको कारण पिउन र खेतीपातीमा पनि ठुलो असर देखियो । उनीहरुले मुख धोएको पानी खोलेमा प्रयोग गर्दछन् । पानी फाल्ने भन्ने त कल्पना नैं गर्दैनन् । विगतमा ४,५ वटा पानीको मुहान थियो । सुक्यो । किन सुक्यो भन्ने प्रश्नमा पानी जमिनमा जाने तरिका नैं भएन । भैंसी आहाल भन्ने कुरा नैं हरायो । पहिला भैसी आहालबाट पानी चिसो जमिन तिर जान्थ्यो । उपाय सुझाए, अव भैसी आहाल वनाउने, ससना खाल्डा खन्ने अनी रिचार्ज पोखरी वनाउने ।
रैथाने उपज हरायो । विउ वजारबाट किन्नु पर्दछ । गुणस्तरमा सधैं शंका हुन्छ । कंयौपटक यस्ता विउ उम्रिदैनन्, फल्दैनन् । तरकारी, पशु र मान्छेमा अनेकखाल्का रोगहरु देखापरिहेका छन् । तरकारी उत्पादन भए पनि वजारको सधैं चिन्ता हुन्छ । उपाय उनीहरुसँगै थियो । पशु, बाली र मान्छेको विमा गर्ने, हरेक साता एक दिन हरेक वडामा एक हाट वजारको व्यवस्था गर्ने, स्थानीय सरकारले माटो परिक्षण गरी बाली सिफारिस गरोस्, उत्पादनमा किसान दत्तचित्त भैं काम गर्दछौं तर उचित प्रतिफल सहितको खरिद वा वजारको ज्ञारेन्टी गरिदियोस् । हरेक समस्याको समाधान समुदायसँग छ । उनीहरु भन्दा जान्ने अरु कोही हुन सक्दैनन् तर स्थानीय सरकारले नेतृत्वदायि भूमिका खेलिदियोस् भन्ने चाहाना समुदायको छ । जलवायु परिवर्तनले कमजोर वर्गलाई वढि अप्ठ्यारो पार्दछ । त्यसैले स्थानीय सरकार अभिभावक वन्नु आवश्यक छ । खास गरी समाजमा रहेका विपन्न वर्गकालागि सवै पक्षपाती भै लाग्नु पर्दछ । जलवायु परिवर्तनबाट आएका नकरात्मक असरले सवै भन्दा वढि पिरोल्ने विपन्नलाई हो । त्यस प्रति सवैले चासो दिनु आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *