एसईई नतिजा प्रकाशितसँगै कलेजहरुले विद्यार्थी कब्जा गर्दै

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको एसईईको नतिजा गत असार २२ गते सार्वनिक गरेको छ । भर्खरै सार्वजनिक गरिएको एसईईको नतिजामा पहिलाको भन्दा केही सुधार भएको देखिन्छ । एसईईको नतिजा सार्वजनिक भएसँगै सामुदायिकदेखि निजी रुपमा सञ्चालित कलेजहरुले कक्षा ११ मा विद्यार्थी तान्नको लागि विभिन्न आकर्षक योजनासहित विज्ञापन गर्ने होडवाजी चल्न थालेको छ ।

तर, ती कलेजहरुले देशको भौगोलिक अवस्था र अहिलेका विद्यार्थीको चाहना अनुसार रोजगारयुक्त सीपमुलक पढाइ भने दिन सकेका छैनन् । नेपालमा जतिसुकै महंगा कलेज खोलिए तापनि खाली रटन्ताम शिक्षा प्रणालीमा विद्यार्थीलाई अलमल्याउने र अभिभावकबाट महंगो शुल्क असुल्ने काम मात्रै कलेजहरुले गर्दै आएका छन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा महंगा–महंगा कलेज खोलेर अभिभावक र विद्यार्थीलाई लोभ्याएपनि ती कलेजमा अध्ययन गरेका विद्यार्थीहरु न त लोकसेवा पास गरेर देशको सेवा गरेका छन् न त विदेशमा अध्ययन गरेर हासिल गरेको सीप र क्षमता आफ्नो देशमा खर्चिएका छन् ।

मुलुकमा संघीयता लागु भएसँगै सातवटै प्रदेशमा विश्वविद्यालय सञ्चालन गर्ने भनेर सरकार लागिपरेको छ । कतिपय प्रदेश सरकारले विश्वविद्यालय खोलिपनि सकेका छन् । त्यसरी खोलिएका विश्वविद्यालयहरुमा आवश्यक जनशक्ति, शैक्षिक सामग्री र भौतिक संरचना गुणस्तरयुक्त नभएको गुनासो पनि त्यत्तिकै आउने गरेको छ । कतिपय विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्तिको नाममा अर्बौं उठाउँदा पनि लक्षित वर्ग र समुदायले अवसर पाएका छैनन् । यदि समुदायले अवसर पाइहाले तापनि वर्गले भने पाउन सकेका छैनन् । जाति र समुदायको नाममा पहुँचवालाले अवसर पाउने गरेका छन् ।

पछिल्लो समय सरकारले लक्षित वर्ग, समुदायलाई निजी कलेजहरुले पनि अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नियम ल्याएको छ । त्यसरी सरकारले ल्याएको योजना जाति र समुदायको नाममा राजनीतिक पहुँचवाला व्यक्तिले नै उपयोग गर्दै आएका छन् । अहिले काठमाडौंलगायत देशका विभिन्न शहरहरुमा निजी रुपमा खोलिएका कलेजहरुले व्यवस्थापन चिटिक्क बनाएर विद्यार्थी र अभिभावकलाई विभिन्न प्रलोभन देखाइ महंगो शुल्क असुल्दै आएका छन् ।

तर, त्यस्ता महंगा कलेजहरुमा पढाइ भने सामुदायिक कलेजकोभन्दा कमजोर रहेको देखिन्छ । यसरी खोलिएका महंगा कलेजहरुले खेलकुद, मनोरन्जनात्मक र अतिरिक्त क्रियाकलापदेखि देश, विदेश भ्रमण गराउने नाममा चर्को शुल्क अशुल्दै आएका छन् । जति चर्को असुले पनि आफूलाई ठूला भनेर चिनाउने कलेजहरुले विद्यार्थीहरुलाई कुनै अलौकिक शिक्षा र सीप प्रदान गरेको पाइँदैन । नेपालमा जतिसुकै महंगा कलेज भएतापनि उच्च शिक्षाको अध्ययनको लागि विद्यार्थीहरु विदेश जान वाध्य छन् ।

यसले के देखाउँछ भने नेपालमा खोलिएका महंगा कलेजहरु खाली अभिभावकको गोजी रित्याउने र विदेश जाने जनशक्ति उत्पादन गर्ने बाहेक अन्य काम गरेको देखिँदैन । यसरी महंगो शुल्क असुल्ने कलेजहरुमा ग्लोबल, गोल्डेगेट, युनिग्लोब, काठमाण्डू मोडेल, पेन्टागन, सेन्टजेभियर्स, लिभरपुल, भीएस निकेतन, एभरेष्ट, एट्लान्टिक इन्टरनेशनल, क्वेस्ट इन्टरनेशनल, ट्रिनिटी, मेघालगायत छन् । यी कलेजहरुले खाली व्यवस्थापन चिरिच्याट्ट बनाउने र चर्को शुल्क असुल्ने तर पढाइ भने सामुदायिक कलेजको जत्तिको पनि नभएको अधिकांश अभिभावकहरुको गुनासो छ ।

यीलगायत देशभर निजी रुपमा सञ्चालित शैक्षिक माफियाहरुले सञ्चालन गरेको कलेजहरुले परीक्षाको बेला रेन्टर कब्जा गर्ने गर्ने र प्रश्नपत्र अघिल्लै दिन आउट गराइ विद्यार्थीलाई पास गराउने काम गर्दै आएका छन् । यसरी निजी रुपमा सञ्चालित कलेजहरुले आफूखुसी विद्यार्थी र अभिभावकहरुलाई ठगी गरिरहँदा सम्बन्धित निकाय भने कानमा तल हालेर चुपचाप बसेको अवस्था छ (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *